नेपालको संविधान एकल जातीय छ ।

नेपालको संविधान एकल जातीय छ ।

354
0
SHARE
Rastriya Janamukti Party

– बलदीप राई

सचिव/केन्द्रीय सञ्चार विभाग प्रमुख

राष्ट्रिय जनमुक्ति पार्टी

 

तपाईहरूले खासै आन्दोलन गरेको देखिएन नि ?

आन्दोलन भनेको सडकमा टायर बाल्ने, ढुंगामुडा गर्ने र प्रचण्डले जनतालाई बन्दुक बोकाउन लगाएर अहिले बिल्लिबाठ बनाउने हर्कतजस्तो कुरालाई तपाई आन्दोलन भन्नु हुन्छ भने मेरो भन्नु केही छैन । तर हामी लेखेर, बोेलेर र सम्बाद गरेर पनि जनतामा क्रमशः सचेतना ल्याउने काम गरिरहेका छौं। यो पनि राजनीतिक आन्दोलनको एउटा सभ्य पाटो हो । हो, हामीले यसैलाई अवलम्बन गरिरहेका छौं ।

यो शैलीले तपाईहरू कहिले सत्तामा पुग्ने हो ?

तपाईलाई एउटा कुरा भन्नै पर्ने भो । हिंसात्मक आन्दोलनबाट उपलब्धी छिटो प्राप्त हुन्छ तर त्यो दिर्घजीवी हुनु सक्दैन । लोकतान्त्रिक अभ्यासबाट उपलब्धी थोरै ढिलो प्राप्त हुन्छ तर त्यो उपलब्धी दीर्घजीवी हुन्छ । हामी मुलुकमा आतंक मच्याएर होइन, सम्वाद कायम गरेर परिवर्तन ल्याउन चाहन्छौ । राजनीतिक उपलब्धी रातारात प्राप्त गरिने चिज पनि होइन, त्यसको लागि त्याग, समर्पण र धैर्यता चाहिन्छ । राजनीति भावनामा बग्ने कोरा महत्वकांक्षा पनि होइन । हाम्रो जस्तो हिन्दुजातीय संकीर्णवादको मनोविज्ञानले आक्रन्त बनाएको समाजमा प्रगतिशील परिर्वतन ल्याउन त झनै समय लाग्छ । कस्ताकस्ता क्रान्तिकारी हौ भन्नेहरू पुन प्रतिगमनतिर नै फर्केका छन् । हिजोका माक्र्सवादीहरू अज मनुवादी भएका छन् । यस्ता एकल जातिवादी संकीर्णतालाई ध्वस्त बनाउनु जनतालाई भावआवेगमा उछालेर मात्र हुँदैन, पहिले उनीहरूमा वैचारिक तदारुकता ल्याउनु पर्छ । हामी ऐतिहासिक दायित्व बोकेर हिडेका शक्ति हौं । इतिहासमा त निरन्तरता महत्वपूर्ण कुरा हो, ढिलो चाँडो भन्ने हुन्न ।

मुलुकमा यत्रो परिवर्तन आयो । संघीयता लागू भएको छ । यहाँहरूको लागि त्यस्तो असन्तुष्टी हुनुपर्ने नै के छ र ?

– नश्लीय पाखण्डीहरू आलोपालो सत्तामा जाने काम बाहेक यहाँ केही परिवर्तन भएकै छैन । यो संविधान भनेको झ्यालढोकाबिनाको घर हो । तपाई कल्पना गर्न सक्नु हुन्छ कि झ्यालढोकाबिनाको घर होस् ? कुनै घरमा मानिस बस्न र बाँच्नको लागि झ्यालढोका अनिवार्य शर्त हो । मृतक बस्ने चिहानमा मात्र झ्यालढोका हुँदैन । यो अपुर्ण संविधानको लागि झ्यालढोका भनेको पहिचान सहितको संघीयता, निशर्त धर्म निरपेक्षता, जनतालाई सम्पतिको पनि मालिक र सत्ताको पनि मालिक बनाउने बहुजातीय लोकतान्त्रिक समाजवादी नीति भएको राजनैतिक व्यवस्था हो । अव हामी जनमुक्तिहरूको यो संविधानमा झ्यालढोका लगाउने जिम्मेवारी हो ।

हैन, यो संविधान भनेको उत्कृष्ट छ भनेर भनिएको छ त ?

–यो संविधान एकल जातीय छ । एकल हिन्दु जातीयताको टोपी संविधानलाई लगाइदिएका छन् । धर्म निरपेक्षता भनिएर पनि यसको स्पष्टीकरणमा धर्म निरपेक्ष राज्य भनेको सनातन धर्मको रक्षालाई नै धर्म निरपेक्ष राज्य मानिनुपर्ने भनिएको छ । अंग्रेजी साहित्यमा एउटा शब्द छ । त्यो भनेको युफेमिजम । यसको अर्थ हो कुनै पनि अप्रिय तथा नराम्रो लाग्ने कुरालाई घुमाएर नरम शब्द तथा वाक्यमा भन्नु । जस्तो फलाना मरयो भन्नुलाई फलानाको हृदयगति बन्द भयो भन्ने । तर सार त उही मरेकै हो । तर पनि सुन्दा नरम लाग्ने । सिधै नेपाललाई हिन्दुराज्य भन्यो भने लाटोले पनि कुरा बुझ्ने र विरोध गर्ने भो । यसो भनिरहनु भन्दा घुमाएर सनातन धर्मको रक्षा भने । सनातन धर्मको अर्थ जोसुकैको पुरानो धर्म भनेर हुँदैन । यसको आधिकारिक अर्थ छ । नेपाल सरकारको संस्था प्रज्ञाप्रतिष्ठानले प्रकाशन गरेको नेपालको वृहद शब्दकोशमा सनातन धर्मको अर्थ हिन्दु धर्म भनेका छन् । यसरी नेपाललाई सारमा हिन्दु राज्य नै भनिएको हो ।

जातीयतासंग धर्म जोडिएको हुन्छ र ? 

– पख्नुस न भन्दै जाँदैछु त । कुनै पनि जातिको अवयव भनेको उस्को धर्म, संस्कृति, भाषा र सभ्यता हुन्छ । पृथक भाषा, संस्कृति, धर्म र सभ्यताको समष्टि नै कुनै एकजाति हो । हरेक जातिको आफ्नो जातिसंग सम्बन्धित भावनात्मक जातीय प्रतिकहरू हुन्छन् । ती प्रतिकहरूलाई उनीहरूले कानूनी मान्यता दिएर आफ्नो जातीय सवोच्चता कायम गरेको हुन्छन् । जस्तो हिन्दुआर्य जातिको जातीय प्रतिक गाई हो । गाईलाई उनीहरूले पुज्छन् । लक्ष्मी भनेर पुजा गर्दछन् । हिजो हिन्दुका देवता ब्रह्मा ज्यादै सेक्सी रहेछ । उनले आफ्नै छोरी सरस्वतीलाई पेट बोकाएर सन्तान पाएको पछि कथा छ । ब्रह्माले लक्ष्मीलाई पनि नछाड्ने भएको हुँदा लक्ष्मीले आफूलाई गाईको रुपधारण गरेर बचेछिन् । त्यही भएर हिन्दु आर्यले गाईलाई लक्ष्मी भनेका रे । खैर केही छैन । कुराको विन्दुतिर आऔं ।

गाईलाई राष्ट्रिय जनावर बनाइएको छ । यो भनेको हिन्दुजातीय सर्बोच्चता कायम हुनु हो । गाईलाई कसैले खाँदा यो हाम्रो माता हो किन खाईस भनेर भन्न सहज नहुने हुन्छ । राष्ट्रिय जनावर बनाइसके पछि त गाई वध गर्नेलाई सजाय दिन सकिने भयो । राष्ट्रिय जनावरलाई त जो सुकैले पनि सम्मान गर्नुपर्ने भो । कुनै बुद्धिष्टले गाईलाई राष्ट्रिय जनावरको रुपमा गाईप्रति झुक्नु भनेको हिन्दु जातीय बर्चस्व स्वीकार गर्नु हो ।

तर जनताले विभेद भएको महसुस नै गरेका छैनन् त ?

– जनताको चेतना स्तरको कुरा हो । सबै जनता नागरिक भएको हुँदैनन् । नागरिक भएको जनताले राजनीतिको सबै पाटो बुझ्ने हैसियत राख्दछन् । तर अवको जनता नागरिकीकरणको चरणमा छन् । अबको विभेद भनेका प्रत्यक्ष कसैलाई असर गर्ने गरी हुन्न । आफ्नो जातीय मुल्य र मान्यतालाई सांकेतीकरण गरेर त्यसलाई वैधानिक सर्वोच्चता कायम गर्ने र त्यहीअनुरुप जनताको कनुनी आचरण निर्धारण गर्ने हो । जस्तो गाईलाई राष्ट्रिय जनावर बनाइ गाई खानेलाई जेल हाल्ने । नेपालको झण्डामा नै चन्द्रसूर्य अंकित गरिएको छ । यो भनेको हिन्दुआर्यको जातीय वंशको प्रतिक हो । चंन्द्रवंशी र सूर्यवंशी जातीय कुरा हो । नेपालको राष्ट्रिय रंग रातो पनि हिन्दुआर्यको जातीय रंग हो । हिजो पृृथ्वी नारायण शाहले नेपाल एकीकरण अभियान पछि दरबारका पंण्डितहरूले हिन्दुआर्यको जातीय रंग रातो भएको हुँदा राजकीय आदेशमा लगाइने छाप रातो हुनुपर्छ भनेर सल्लाह दिएअनसुार त्यो छाप रातो बनाइएको हो । त्यही भएर त्यसलाई लालमोहर भनियो । यो भन्दा पहिले स्याहामोहर भिनिन्थ्यो । यो भनेको कालो रंग हुन्थ्यो । राष्ट्रिय फूल रातो लागि गुँरास हो । जबकि गुँरास सेतो पनि हुन्छ । उता नेपालको निशानछापमा संस्कृत भाषा लेखिएको छ । जननी जन्म भूमिस्व स्वार्गदपी गरियसी भनेर । यो भनेको संस्कृत भाषाको हैसियतलाई सर्वोच्चता दिइएको हो ।

यसरी धर्मनिरपेक्षतालाई सनातन धर्मसंग जोड्नु, गाईलाई राष्ट्रिय जनावर बनाउनु, रातो रंगलाई राष्ट्रिय रंग बनाउनु, झण्डामा हिन्दु आर्यको जातीय वंश अंकित गर्नु र निसान छापमा संस्कृत भाषा लेखाउनु भनेको जातीय कुरा हो । किनकि यी सबै हिन्दु जातीय पहिचानको प्रतिकात्मक अवयव हुन् । यसलाई सबै संवैधानिक मान्यता दिइएको छ । यो चाहेर पनि हामीले सजिलै हटाउन सक्दैनौ ।

उसो भए त जातीय कुरामा त डरलाग्दो षडयन्त्र पो रहेछ त ?

– हो, यो कुरामा काँग्रेसकम्युनिष्टका नेताहरू एकमत छन् । किनकि नेतृत्व हिन्दु जातीय नश्लीय प्रवृत्ति बोकेकाहरू छन् ।

 

जातिवादले सबै ठाउँ गाँजेको रहेछ । हैन र ?

–एउटा कुरा तपाईलाई भन्छु । त्यो के भने, संसारमा सवै जातिवादी नै हुन्छ । तर कस्तो जातिवादी भन्ने कुराले फरक पार्दछ । नेपालमा काँग्रेस कम्युनिष्ट सवै जातिवादी नै हुन् । जनमुक्ति हामी पनि जातिवादी नै हौं । तर कांग्रेस कम्युनिष्ट एकल जातिवादी हुन् भने हामी बहुलजातिवादी हौ । उनीहरू एक जातीय हुन् भने हामी बहुजातीय हौं । हामी सबैको अस्तित्वलाई स्वीकार गर्छौ भने उनीहरू एक हिन्दुआर्य जातिको मात्र बर्चस्वलाई मात्र कायम गराउन चाहन्छन् । यहाँ जातीयताबाट कोही पनि टाढा रहन नै सक्दैन किनकि जातीयता भनेको सामाजिक पहिचान हो । सामाजिक विविधता भनेको प्राकृतिक कुरा हो । जातीय विविधता हट्न सक्दैन किनकि यो मानव समाजको विकासक्रमको प्राकृतिक परिघटना हो तर जातीय विभेद हट्न सक्छ किनकि यो मानव निर्मित सामाजिक विकार हो ।
कार्ल माक्र्स पनि जातिवादी हुन् । किनकि उनले आफ्नो नाम पछाडि सरनेम माक्र्स शब्द राखे । माक्र्स भनेको जर्मनजाति अन्तरगत एक समुदायको जातीय पहिचान हो । प्रचण्ड जातिवादी हुन किनकि उनले आधिकारिक नाम पुष्पकमलको साथ दाहाल प्रयोग गर्दछ । यो दाहाल शब्द के हो त ? दाहाल भनेको बाहुनको जातीय थर हो । केपीले किन अफूलाई मान्छे नभनेर केपी शर्माओली भनेरै चिनाउँछन् ? कम्युनिष्टहरू त अन्तर्राष्ट्रिय मान्छे होइन र ?
तर यी काँग्रेसकम्युनिष्ट एकल जातिवादी भए । उनीहरू एकलजातिवादको जोडरले सामाजिक सद्भावको महल भत्काउदैछन् । तर हामी बहुजातीय स्क्याफोल्डिङमा समतामुलक नयाँ नेपालको भवन निर्माण गर्न प्रयासरत छौं ।

 

तपाईको पार्टीको मुद्दा जातीय समस्या मात्रै हो भन्न मिल्छ ?

ए बाबा राष्ट्रिय जनमुक्ति पार्टी भनेको त भोलीको वैकल्पिक पार्टी हो । यसको मुद्दा बहुआयामिक छ । यो पार्टीले जनताको जनजीविकाको समस्याहरूको लागि झन प्राथमिकताका साथ लागिपरेको छ । यो पार्टीको मार्ग निर्देशक सिद्धान्त भनेकै बहुजातीय लोकतान्त्रिक समाजवाद हो । यसले जनताको राजनीतिक अधिकार र आर्थिक अधिकारको पाटोलाई सरल ढंगमा सम्बोधन गर्दछ ।

 

यो बहुजातीय लोकतान्त्रिक समाजवाद भनेको चै के हो ?

अहिले सम्माको लोकतन्त्र एकल जातिवादी भएको छ । यो लोकतन्त्र एकजाति विशेषको सत्ता गमनको भ¥याङ भएको छ । यसो भएको हुँदा सबै जाति समुदायलाई नीतिनिर्माणको तहमा पु¥याउने संयन्त्र नै बहुजातीय लोकतन्त्र हो । लोकतन्त्र भनेको जनताको शासकत्वसंग जोडिएको कुरा हो । यो जनताको राजनीतिक अधिकार हो ।
जनतालाई राजनैतिक अधिकार तथा जातीयमुक्ति मात्र प्रदान गरेर हुदैन । जनतालाई आर्थिक अधिकार पनि दिनु पर्दछ । जनताको आर्थिक पाटोलाई सम्बोधन गर्ने नीति भनेको समाजवाद हो । समाजवाद भनेको जनताको आर्थिक व्यवस्थापनको कुरा हो ।

यसरी जनतालाई राजनीतिक अधिकार पनि दिने र आर्थिक अधिकार पनि दिने सिद्धान्त भनेको बहुजातीय लोकतान्त्रिक समाजवाद हो । यो बहुजातीय लोकतन्त्र र समाजवादका संश्लेषण हो ।

 

काग्रेस–कम्युनिष्ट पार्टी भन्दा यो पार्टी केमा फरक छ ?

काग्रेस कम्युनिष्टले जे बुझेका छन् त्यो हामीले पनि बुझेका छौं । तर काँग्रेस कम्युनिष्टले त्यो बुझेका छैनन् जो हामीले बुझेका छौ । उनीहरूसंग जे छ त्यो हामीसंग पनि छ । तर उनीहरूसंग त्यो छैन जो हामीसंग छ । हामी कुरै नबुझि जनमुक्ति भएका होइनौं । हामीसंग विचार सिद्धान्त छ । देश निर्माण गर्ने खाका छ । काग्रेस कम्युनिष्टले जनतालाई रोटीमात्र दिन चाहन्छ तर हामी रोटीसंगै अधिकार र पहिचान दिन चाहन्छौ । उनीहरूले अरु सवै चिज दिन चाहन्छन् तर अधिकार दिन चाहन्न् । उनीहरू र हामी बीचमा तात्विक भिन्नता छ । प्रतिष्ठा र समृद्धिको आलोकमा हामी जनतालाई मुक्ति दिन चाहन्छौ ।

 

तपाईहरू जातीय मुक्ति भन्नुहुन्छ । कम्युनिष्टले पनि मुक्ति भन्छन् । तपाईरूको मुक्ति चै के हो ?

मुक्ति भनेको उत्पीडकको पिछलग्गु हुनु होइन, उसको समकक्षी बन्नु हो । आज मुक्तिकामीहरू काँग्रेसकम्युनिष्टमा लागेर पिछलग्गु भएका छन्, उनीहरूले शासकहरूसंग समकक्षी हैसियत बनाउने बाटो भुलिरहेका छन् । जबसम्म उनीहरू ओली-दाहाल-कोइरालाहरूको समकक्षी हैसियत निर्माण गर्दैनन् तबसम्म उनीहरू दास र कमाराहरू नै हुन् ।
कम्युनिष्टले वर्गीयमुक्ति भन्छन् । यो भनेको जनतालाई रोटी मात्र दिने कुरा हो । तर हामी जनतालाई अधिकार पनि दिने भन्छौ । हाम्रो मुक्ति भनेको जनताको राजनीतिक भूमिका स्थापित गर्ने अवस्था हो ।

 

यो कुरा त वर्गीयमुक्तिले तया गर्ने होइन र ?

वर्गीयमुक्ति भनेको जनताको आर्थिक पाटोसंग मात्र जोडिएको मुद्दा हो । यसले जनताको राजनीतिक अधिकार स्थापित गर्ने भन्ने कुरा गर्दैन । हामी पनि जनताको आर्थिक समृद्धि नै चाहने हौं । तर त्यो अवस्थामा पुग्न जनताको राजनैतिक अधिकार–पहिचान पहिले स्थापित हुनुपर्छ भन्ने हो । जनता भनेको विविध जातिहरूको समष्टि हो । जाति भनेको जनताको एकाई हो । जाति नै जनता हो । तसर्थ जातीयमुक्ति भनेको जनताको राजनैतिक अधिकार हो । जनतालाई राजनैतिक अधिकार दिनु भनेको जनताको अन्तस्करणलाई प्रशन्न बनाउनु हो । जनतालाई प्रशन्न बनाउनु भनेको मुलुकमा स्थायीशान्ति कायम गर्नु हो । मुलुकमा स्थायीशान्ति कायम गर्नु भनेको पुँजी र प्रविधिको परिचालित हुने वातावरण निर्माण गर्नु हो । पुँजी र प्रविधिको परिचालन भनेको आर्थिक विकास हो । हो, यही आर्थिक विकास नै वर्गीयमुक्तिको सार हो । वर्गीयमुक्तिको चरणमा आउन पहिले जातीय मुक्तिको चरण पार गर्नुपर्दछ ।

 

उसो भए यहाँका आदिवासी जनजाति, मधेसी र दलितहरूको राजनैतिक अवस्थाको बारेमा तपाईको धारण के छ ?

उनीहरूको राजनैतिक अवस्था दयनीय छ । राज्यको नीति निर्माणको तहमा पहुँच छैन । त्यही भएर उनीहरू अधिकार र पहिचानको मुद्दामा सास्ती खेपिरहेका छन् ।

 

अनि सत्ताधारी दलहरूमा जनजातिहरू लागि परेका छैनन् र ?

कांग्रेस–कम्युनिष्टमा रहेका जनजातिहरू प्रदर्शनमा राखिएका चिडियाघरका जनावरहरू हुन् । यहाँभन्दा बढि उनीहरूको हैसियत नै छैन् । जसरी संसारमा यस्तात्यस्ता पनि जनावरहरू हुन्छ है भनेर मानिसलाई जानकारी दिन विभिन्न स्थानविशेष ठाउँमा पाइने जनावरलाई असहज र अप्राकृतिक रूपमा चिडियाघरमा कोचेर राखिएका हुन्छन्, त्यसरी नै सबैलाई समेटेको भान पार्न जनजातिहरूलाई कांग्रेस–कम्युनिष्टले आफ्ना पार्टीमा राखेका छन् । ती पार्टीमा जनजाति, दलित र मधेसीहरू बन्धक जस्तै हुन् । बुझेर पनि उनीहरूले आफ्नो कुरा उठाउन सक्दैनन् । बझ्नेहरू पनि सानो स्वार्थको कारण अल्झिएका छन् ।

 

उसो भए पृथ्वीसुब्बा गुरुङ र शेरधन राईजस्ता मुख्यमन्त्रीहरू पनि चिडियाघर कै भनेर मान्नुपर्ने हामीले ?

अवस्य । उनीहरूले त जागीर खाएका हुन् । ओलीले उठ र बस भन्दा त्यही गर्नुपर्ने हुन्छ । उनीहरू पार्टीमा निर्णायक हैसियत राख्ने पात्र नै होइनन् । यी दुवै पात्र व्यक्तिगत रूपले पहिचान सहितको संघीयता चाहने नै हुन् । तर यिनीहरूको संस्थागत निर्णय आफ्नो हुदैनन् । ओली र दाहालहरूको हुन्छ ।

कुरा त गम्भीर उठाउनु भायो त । के ती पार्टीबाट माथि जाने सबै अर्थहिन नै हुन त ?

तपाईलाई एउटा कुरा भन्छु । दिमागमा घुसाएर राख्नु होला । यो एकल नश्लीय यथास्थितिवादी राज्यसंरचना अन्तरगत जोसुकै जुनै पद र तहमा रहेता पनि त्यही नश्लीय सत्ताको पृष्ठपोषणको पक्षमा काम गरिदिनुपर्ने हुन्छ । उदाहरणको लागि, शेरबहादुर तामाङ अहिले कानुनमन्त्री हुन् । उनकै बाउ तथा दाजुभाई तामाङहरूले गाईको मासु खाए उनीहरूलाई जेल हाल्नुपर्ने हुन्छ । मेरो आफ्नो बाउ तथा दाजुभाइ भन्न पाउँदैन । गाई खाँदा जेल जानुपर्ने कानुन उनले खारेज गर्न सक्दैन । उता रामबहादुर थापा गृहमन्त्री छ । उनकै वंशले पहिचान चाहियो भनेर सडमा आए आफ्नैलाई गोली ठोक्नुपर्ने हुन्छ । यो एकल नश्लिय संरचनामा जनजाति प्रधानमन्त्री नै भए पनि केही गर्न सक्दैन । यिनीहरूले पाउने भत्ता मात्र  उनीहरूको आफ्नो हुन्छ तर उनीहरूले गर्ने सेवा अरूकै लागि हुन्छ ।

नेपालका मुलधारका भनिएको राजनीति सबै मिथ्या रहेछ । यहाँकै दृष्टिबाट भन्ने हो भने ठूला दलले जनतालाई आँखोमा पट्टी बाधेका रहेछन् । अब तपाईको राजनीति चाहिँ कस्तो हो त ?

हामी सहअस्तित्वलाई स्वीकारछौं । हामी कसैलाई पछि पार्न चाहन्नौ र कसैको पछि हिड्न पनि चाहन्नौ । हामीसंगै हातेमालो गरेर सहकार्य र सदभावका साथ अगाडि बढ्न चाहन्छौं । यही नै मेरो पार्टीको राजनीतिक दर्शन हो ।

तर तपाईको पार्टीलाई जनताले बुझ्न अझै नभ्याएका हुन् भन्न मैले मिल्छ ?

मिल्छ, किन नमिल्नु । जनता गरिब छन् । यो गरिबी मनोविज्ञान चाडै बिक्छन् । यसको लाभ छट्टु दलहरूले उठाएका छन् । तर जति हामी सचेत छौं ती सबै जनमुक्ति नै हौ । जति जनतामा चेतना आउँछ, उति नै हामी संगठित भएर अगाडि बढने हो । हामी बुझेकाले हात उठाइदिने कुरा पनि भएन । चुप लागेर बस्ने कुरा पनि भएन । जनमुक्ति पार्टीजस्तो विचार र सिद्धान्त भएको दलको विकल्प छैनन् र भविष्यमा हुदैन पनि । हामी यहीँबाट जागृत भएर अगाडि बढ्ने हो । आगामी पल हाम्रै हो ।

(नोट : नयाँ अनलाईन (nayaonline.com) मा प्रकाशित सामाग्रीलाई सामान्य सम्पादन सहित साभार गरिएको )