बकर इदको शुभकामना

"मुक्तिकामीहरुमा थप एकता, भातृत्व र सहिष्णुताको भाव पैदा भईरहोस्"

0
941
राष्ट्रिय जनमुक्ति पार्टीले इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर ईद (इद–उल–जोहा) २०७८ को अवसरमा सम्पूर्ण मुश्लिम समुदायहरुमा सुस्वास्थ्य, दीर्घायु, सुखशान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ ।
केन्द्रीय अध्यक्ष खड्ग प्रसाद (केपी) पालुङवाले आज एक शुभकामना सन्देश दिनु भएको हो । नेपालको सामाजिक विविधता हाम्रा पुर्खाले आर्जेको राष्ट्रिय गौरव र विरासत हो, यही विविधतालाई सम्मानित बनाउन र देशको आमूल परिवर्तन साथै राष्ट्र निर्माणमा सबै नेपालीजनको अपनत्व कायम गराउन राष्ट्रिय जनमुक्ति पार्टीले विगत तीन दशकदेखि निरन्तर संघर्ष गर्दै आईरहेको यथार्थतालाई यस अवसरमा पुनः स्मरण गर्न चाहन्छौं – अध्यक्ष पालुङवाले सन्देशमा भन्नु भएको छ । उहाँले आज नेपाली समाजमा जुन परिस्थितिको निर्माण भएको छ राष्ट्रिय जनमुक्ति पार्टीले समग्र (सामाजिक, राजनीतिक र आर्थिक) मुद्दालाई अग्रभागमा राखेर बृहत्तर छलफलको माध्यमबाट अथक रुपमा लड्दै आएका कारणले भएको हो भन्ने दावी पनि गर्नु भएको छ ।
यस अवसरमा दिईएको सन्देशमा प्राप्त उपलब्धीलाई जोगाउँदै, सुदृढ गर्दै थप उपलब्धीका लागि सम्पूर्ण न्यायप्रेमी नेपालीहरु गोलबन्द हुनु आजको आवश्यक्ता भएकोमा जोड दिईएको छ । बहुजाति, बहुभाषा, बहुधर्म, बहुसंस्कृति रहेको हाम्रो जस्तो देशमा बहुजातीय लोकतन्त्रिक समाजवादको स्थापनाका लागि निरन्तर संघर्ष हुनु पर्नेमा पनि जोड दिएको छ ।
शुभकामना सन्देशकै सन्दर्भमा भनिएको छ – “परिवर्तन र अपनत्वका लागि सम्पूर्ण मुसलमान समुदायहरुमा सधैं प्रेरित र उर्जावान भईरहन उत्साह मिलीरहोस् । मुक्तिकामीहरुमा थप एकता, भातृत्व र सहिष्णुताको भाव पैदा भईरहोस् । हार्दिक मंगलमय शुभकामना ।”