राष्ट्रिय निर्वाचन महाअभियान घोषणा तथा उद्घाटन सभा (संक्षिप्त शब्द चित्र)

0
2802

राष्ट्रिय जनमुक्ति पार्टीले आसन्न निर्वाचन (प्रदेश र प्रतिनिधि सभा – आगामी मंसिर १० र २१ गते) लाई मध्येनजर गरी यही कात्तिक ११ गते इलामको माङ्सेबुङ्गमा ‘राष्ट्रिय निर्वाचन महाअभियान घोषणा तथा उद्घाटन सभा’ सम्पन्न गरेको छ । कार्यक्रम स्थल भौगोलिक रुपले केही असहज मानिएता पनि टाढाटाढाबाट सो घोषणा सभामा सहभागीहरुको प्रतिनिधित्व रहेको थियो । विशेष गरी प्रदेश नं. १ र २ बाट जनसहभागिता बाक्लो रुपमा भएको थियो ।कार्यक्रम सम्बन्धमा पार्टीले निर्णय लिएपछि कार्यक्रमको तयारीका लागि पार्टी सचिव पदम जवेगु प्रारम्भमा त्यस क्षेत्रमा खटीनु भएको थियो । तिहारको ठीक अगाडि र त्यस लगत्तै पार्टी उपाध्यक्ष/प्रदेश नं.१ ब्यूरोका इन्चार्ज/कार्यक्रम आयोजक समितिका संयोजक चन्द्र खापुङहाङ्ग र संघीय परिषद सदस्य पीर्थी बहादुर बेघा लगायतका साथीहरु साथै माङ्सेबुङ्गमा कृयाशिल पार्टी नेता तथा कार्यकर्ताहरु यस कार्यक्रम भव्य रुपमा सम्पन्न गर्नका लागि व्यवस्थापकीय जिम्मेवारी सहित निरन्तर कृयाशिल रहनु भयो ।

कार्यक्रमलाई भव्य बनाउन बाहिरी सजावट :
घोषणा सभालाई सबैको आकर्षणको केन्द्र बनाउनका लागि झापाको दमकदेखि माङ्सेबुङ्ग सम्मको बाटोमा बीचबीचमा तुल ब्यानर र पार्टी झण्डाहरु टाँगिएको थियो । सो क्षेत्रको भालुटार पूर्वपट्टी पाहुना र सहभागीहरुको स्वाथतार्थ मूल प्रवेश द्वार निर्माण गरिएको थियो । कार्यक्रम स्थललाई पार्टी झण्डा र पार्टीको चुनाव चिन्ह ‘घर’ अङ्कित झण्डाले झकीझकाउ पारिएको थियो ।

टाढाका सहभागीहरुलाई खानाको व्यवस्था :
टाढाबाट माङ्स्बुङ्ग पुग्नेहरु सबैलाई आयोजक समितिले खाना र बस्नको राम्रो व्यवस्था गरेको थियो । कात्तिक १० गते बेलुकादेखि १२ गते बिहान सम्म सो ब्यवस्था कायम राखिएको थियो । माङ्सेबुङगबासी स्थानीय पार्टी कार्यकर्ता र शुभचिन्तकहरुले खानाको ब्यवस्थापनमा निकै मेहनत गर्नु भएको थियो ।

टाढाबाट जाने कतिपय सहभागीहरुका लागि केही गाह्रो भयो :
त्यसै पनि पहाडी क्षेत्र यातायातका कारणबाट पनि केही असजिलो हुन्छ । उत्साहका साथ टाढाबाट माङ्सेबुङ्ग घोषणा सभामा सहभागी हुन जानेहरुका लागि भौगोलिक ज्ञानको अभावले केही अप्ठेरो महशुस पनि भयो । गाडी बीच बाटोमा बिग्रिएकोले कतिपय सहभागीहरु कार्यक्रमको अन्तमा पुग्नु भएको थियो भने कतिपय कार्यक्रम स्थलमा पुग्नै सक्नु भएन । यसका लागि आयोजक समितिले महशुस गरेको छ ।

सांस्कृतिक झाँकी सहितको बिशाल रयाली :
माङ्सेबुङ्गमा कात्तिक ११ को बिहान ९ बजेतिरबाट सहभागीहरुको उपस्थिति शुरु भईसकेको थियो । अली सबेरै उपस्थित सबै जनाले तयारी खाना खान सम्भव भयो । बिहान ११ः३० बजे सहभागीहरुको बिशाल रयाली कार्यक्रम क्षेत्र–माङ्सेबुङ्ग परिक्रमा गर्ने क्रममा अगाडि बढ्यो । हजारौंको संख्यामा रहेको जनमुक्ति रयाली करीब सवा घण्टामा कार्यक्रम स्थलमा एकीकृत भयो । रयालीमा तामाङसेलो साँस्कृतिक समूह, स्थानीय च्याब्रुङ्ग ढोल झयाम्टाको साँस्कृतिक झाँकी पनि सहभागी थियो ।

नेपाली विशिष्टता झल्किने नेतृत्व :
 प्रायः केही आदिवासी जनजातिहरुको मात्र पार्टी भनिदै आएको राष्ट्रिय जनमुक्ति पार्टी संरचना बारेमा सो क्षेत्रमा नेपाली विशिष्टता झल्किने नेतृत्व पङ्क्ति देख्न पाउँदा किराँत खम्बुवान लिम्बुवान क्षेत्रमा यस पार्टी बारे जनता माझ पारिएको व्यापक भ्रमको चीरफार भएको छ । स्थानीय स्तरमा विरोधीहरुले पार्टी बारे जसरी भ्रम छरेपनि वास्तवमा त्यस्तो रहेनछ भन्ने यथार्थ यस कार्यक्रम संगै स्थानीय क्षेत्रका मानिसहरुमा थप प्रष्टता आएको प्रतिकृया छ ।

पार्टी अध्यक्ष प्रमुख पाहुना : ‘राष्ट्रिय निर्वाचन महाअभियान घोषणा तथा उद्घाटन सभा’ मा पार्टी अध्यक्ष के.पी.पालुङ्वाले स्थानीय परम्परा अनुसारको बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नु भयो । उहाँले कार्यक्रममा उद्घाटन मन्तव्य राख्नु भयो । त्यसपछि पार्टीका संस्थापक एवं केन्द्रीय अनुगमन तथा मुल्याङ्कन समितिका संयोजक राम बहादुर तुम्बाहाम्फे, सहअध्यक्ष मानध्वज ब्लोन तामाङ्ग, वरिष्ठ उपाध्यक्ष  यम बहादुर बुढाथोकी, उपाध्यक्षहरु हाजी डा.मोहम्मद हसन, मीना पन्धाक, मोहन धिमाल, राजवंशी चौधरी, बाबुकाजी महर्जन, प्रवास इन्चार्ज कमला थापा लगायतका केन्द्रीय नेताहरुले मन्तव्य राख्नु भएको थियो । स्थानीय धर्मगुरुको तर्फबाट समेत शुभकामना मन्तव्य प्रतिनिधिले पढेर सुनाउनु भएको थियो । कार्यक्रम प्रारम्भसंगै धर्मगुरु फाल्गुणानन्दको तस्वीरमा सबै नेता र पाहुनाहरुले माल्यार्पण गर्नु भएको थियो ।

३८ बुँदे प्रतिबद्धताको सार्वजनिकीकरण :  नेपालको राजनीतिमा फरक विचारधारा तर लोकतान्त्रिक तरिकाले जनतामाझ विगत २७ वर्षदेखि निरन्तर प्रस्तुत गर्दै आएको राष्ट्रिय जनमुक्ति पार्टीको आमूल परिवर्तनकारी ३८ बुँदे प्रतिवद्धता यस ‘राष्ट्रिय निर्वाचन महाअभियान घोषणा तथा उद्घाटन सभा’ मा सार्वजनिक गरिएको छ । सो प्रतिवद्धतालाई पार्टी महासचिवले मर्मको व्याख्या सहित पढेर सुनाउनु भएको थियो भने सो भन्दा अगाडि पार्टी अध्यक्ष केपी पालुङ्वा र महासचिव केशव सूर्यवंशीले हस्ताक्षर गर्नु भएको पार्टीको ३८ बुँदे प्रतिवद्धतालाई मञ्चमा आसिन पार्टी अध्यक्ष लगायतका पदाधिकारीहरुबाट अनावरण गरिएको थियो । आसन्न निर्वाचनको सन्दर्भमा पार्टीले तयार गरेको घोषणा पत्रको मुख्य बुँदाहरुलाई समेटेर तयार गरिएको सो ३८ बुँदा वाचन गर्दा सहभागीहरु निकै उत्साहित हुनु भएको थियो ।

 

किराँत खम्बुवान लिम्बुवानवासी उत्साहित : राष्ट्रिय जनमुक्ति पार्टीको विशाल र अर्थपूर्ण ‘राष्ट्रिय निर्वाचन महाअभियान घोषणा तथा उद्घाटन सभा’ बाट किराँत खम्बुवान लिम्बुवानबासीमा जनमुक्ति विचारधारा र कार्यक्रम सम्बन्धमा निकै नै सकारात्मक सन्देश प्रवाह भएको प्रतिकृया आएको छ । यस भन्दा अगाडि विभिन्न आवरणका परम्परावादी राजनीतिक दलहरुमा लाग्नु राजनीतिक रुपले जानीजानी बाटो बिराएको तर अब जनमुक्ति विचारधारामा नै आवद्ध हुनुको विकल्प नरहेको सम्बन्धमा प्रष्टता आएको सो क्षेत्रका जनताको बुझाई र प्रतिकृया आएको छ ।

कार्यक्रम सञ्चालन पद्दति : 
पार्टी सचिव बलदीप राईले सञ्चालन गर्नु भएको ‘राष्ट्रिय निर्वाचन महाअभियान घोषणा तथा उद्घाटन सभा’ कार्यक्रममा पार्टीका लिम्बुवान अध्यक्ष एबी पन्धाकले स्वागत मन्तब्य राख्नु भयो । कार्यक्रमको बीचबीचमा स्थानीय च्याब्रुङ नाच, धनकुटाको तामाङसेलो नाच देखाईनुका साथै पार्टी गीत–नयाँ नेपाल बनाउन उठ हे–लाई बहुजातीय साँस्कृतिक मोर्चाका केन्द्रीय संयोजक कैलाश थापाले नृत्यमा प्रस्तुत गर्नु भएको थियो । साथै कैलाश थापा स्वयम्ले पार्टी गीत समेत गाउनु भएको थियो । कार्यक्रम पार्टी उपाध्यक्ष/प्रदेश नं.१ ब्यूरोका इन्चार्ज/कार्यक्रम आयोजक समितिका संयोजक चन्द्र खापुङहाङ्गको अध्यक्षतामा सम्पन्न भएको थियो । ‘राष्ट्रिय निर्वाचन महाअभियान घोषणा तथा उद्घाटन सभा’ कार्यक्रम बेलुकी ६ बजे सम्म चलेको थियो ।यस ‘राष्ट्रिय निर्वाचन महाअभियान घोषणा सभा’ लाई देशै भरी विभिन्न चरणमा निरन्तरता दिईनेछ । जस अन्तर्गत यही कात्तिक १४ गतेका दिन रुपन्देहीको बुटवल ट्राफिक चोकमा ५ नं. प्रदेश स्तरीय घोषणा सभा सम्पन्न गरिनेछ ।

(पार्टी उपाध्यक्ष/प्रदेश नं.१ ब्यूरोका इन्चार्ज/कार्यक्रम आयोजक समितिका संयोजक चन्द्र खापुङहाङ्ग र कार्यक्रममा सहभागी भई राजधानी आईपुग्नु भएका पार्टीका वरिष्ठ उपाध्यक्ष यम बहादुर बुढाथोकीसंगबाट जानकारी लिई यो शब्दचित्र केन्द्रीय कार्यालय, धोबीघाट, ललितपुर, काठमाडौंमा तयार गरिएको हो ।
– टोप अस्लामी (उपमहासचिव/उपप्रमुख, जनमुक्ति एकाडेमी)
(फोटो सौजन्य :- पार्टी समबद्ध नेता तथा कार्यकर्ताहरुको फेसबुक वालबाट)