संघीय परिषदको बैठक साउन १४ गते देखि १७ गते सम्म

0
1912

क_ बैठकको उद्घाटन सत्र ः एक शब्दचित्र

राष्ट्रिय जनमुक्ति पार्टीको पाँचौ राष्ट्रिय महाधिवेशनले निर्वाचित गरेको संघीय परिषद (केन्द्रीय समिति) को प्रथम बैठक मिति २०७३ साउन १४ गतेका दिन धोबीघाट, ललितपुरमा प्रारम्भ भयो । बैठकमा पार्टीका संस्थापक अध्यक्ष एवं पार्टी संरक्षक एम.एस.थापा हुनुहुन्थ्यो । उहाँले बैठकको उद्घाटन गर्नु भयो ।

उद्घाटन मन्तव्य राख्दै प्रमुख अतिथि एवं पार्टी संरक्षक एम.एस.थापाले नवनिर्वाचित पार्टी पदाधिकारी र सदस्यहरुलाई बधाई र शुभकामना व्यक्त गर्नु भएको थियो । उहाँले राष्ट्र निर्माण अभियानमा होमिएका पार्टी नेताहरुले सांगठनिक, राजनीतिक मार्गदर्शनलाई आत्मसाथ गर्दै जानु पर्ने बताउनु भयो । पार्टीलाई आर्थिक रुपमा संकट भएता पनि व्यवस्थित गर्न सकेको अवस्थामा त्यो समस्या पार्टी पङ्क्तिबाटै सहज रुपमा हल हुन सक्ने उहाँको भनाई थियो । प्रमुख अतिथिको आसनबाट उद्घाटन मन्तव्य राख्दै पार्टी संरक्षक एम.एस.थापाले भन्नु भयो – पार्टी बैठकले गरेका निर्णयहरु र कार्यान्वयनका जिम्मेवारीहरु पार्टी नेताहरुले बहन गर्नु अहम् दायित्व हो ।

उहाँले पाँचौ राष्ट्रिय महाधिवेशनको संघारमा पार्टीलाई संकट पार्नेहरु पार्टी इतिहासमा कलंक भएको बताउनु भयो । यस घट्नाले पार्टीलाई थप शुद्धीकरण गर्न मद्दत गरेको बताउँदै नेतृत्व तहले परिपक्वता कायम गर्दै अगाडि बढ्न सुझाव दिनु भयो ।

बैठकमा अर्का अतिथि एवं पार्टीका वरिष्ठ नेता देव कुमार बुद्धिष्ट तामाङ्ग (डि.के.बुद्धिष्ट तामाङ्ग) ले नवनिर्वाचित संघीय परिषदले राष्ट्र निर्माणमा पार्टीलाई अग्र पङ्क्तिमा उभ्याउने विश्वास गर्नु भयो । पाँचौ राष्ट्रिय महाधिवेशनले पार्टीमा सबैलाई उचित सम्मान गरेको प्रति वरिष्ठ नेता डि.के.बुद्धिष्ट तामाङ्गले प्रशंसा व्यक्त गर्दै नवनिर्वाचित संघीय परिषदलाई धन्यवाद एवं बधाई दिनु भयो ।

बैठकको उद्घाटन सत्रमा पार्टीको आधिकारिक वेभसाईट -www.janamukti.org) प्रमुख अतिथि एवं पार्टी संरक्षक एम.एस.थापाले लग अन गरी उद्घाटन गर्नु भयो । पार्टीका सहअध्यक्ष मानध्वज ब्लोनले बैठकमा स्वागत मन्तव्य राख्नु भयो । बैठकको उद्घाटन सत्र उपमहासचिव टोप अस्लामीले सञ्चालन गर्नु भएको थियो । अध्यक्ष केपी पालुङ्वाको अध्यक्षतामा प्रारम्भ भएको बैठकमा महासचिव केशव सूर्यवंशीले प्रथम बैठक सम्बन्धी संक्षिप्त भनाई राख्नु भएको थियो ।

बैठकको बन्द सत्र बेलुकी ६ बजे प्रारम्भ भयो । सो सत्र सञ्चालनका लागि उपमहासचिव रामु परियारलाई जिम्मेवारी दिईयो । बैठक भोली बिहान ८ बजे प्रारम्भ हुने गरी पार्टी अध्यक्षबाट स्थगन भयो । उद्घाटन बैठक धोबीघाट ललितपुरमा सम्पन्न भयो ।

ख) दोश्रो दिनदेखिको बैठक चक्रपथ, काठमाडौंमा ः

दोश्रो दिनको बैठक बिहान ९ बजेबाट प्रारम्भ भयो । केन्द्रीय कोषाध्यक्ष निवास चक्रपथ, काठमाडौंमा शुरु गरिएको सो बैठकमा समसामयिक राजनीतिक घट्नाबारे पार्टी महासचिव केशव सूर्यवंशीले सचिवालयको तर्फबाट प्रस्ताव पेश गर्नु भयो । सो प्रस्ताव उपर उपमहासचिव रामु परियारले छलफल चलाउनु भएको थियो । बैठकमा संघीय परिषद सदस्यहरुले आ–आफ्नो धारणा पेश गर्नु भएको थियो ।

पार्टी सचिवालयबाट प्रस्तुत प्रस्ताव उपर सोही दिन नै संघीय परिषद सदस्यहरुको समूहगत छलफल भयो र समूहगत नेतृत्वबाट समूहका निष्कर्षहरु बैठकमा प्रस्तुत गर्ने काम भयो । जसमा समूह (क) को तर्फबाट संघीय परिषद सदस्य लोक आङ्ला, समूह (ख) को तर्फबाट संघीय परिषद सदस्य विष्णु थाम्देन, समूह ग) को तर्फबाट संघीय परिषद सदस्य होमलाल पुन, समूह (घ) को तर्फबाट संघीय परिषद सदस्य चेत बहादुर आले, समूह (ङ) को तर्फबाट संघीय परिषद सदस्य लुम बहादुर खाम्चा, समूह (च) को तर्फबाट संघीय परिषद सदस्य धनकेशर (डि.के.) सूर्यवंशी र समूह (छ) को तर्फबाट संघीय परिषद सदस्य भैरव थापाले आ–आफ्नो समूहका निष्कर्ष बैठकमा प्रस्तुत गर्नु भयो ।

संघीय परिषदको पहिलो बैठक भएको हुँदा यस बैठकमा राजनीतिक, साँगठनिक, आर्थिक, सामाजिक लगायतका बहुआयामिक विषयहरुमा व्यापक छलफल भयो । तेश्रो दिन संघीय परिषदमा र पार्टीको स्थायी केन्द्रीय संरचना संघीय महासभामा मनोनित गरिने सदस्यहरु सम्बन्धमा निर्णय लिने काम सम्पन्न भयो । बैठकमा शून्य आवरमा विभिन्न राजनैतिक दलहरु त्यागी राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै सदस्यता पत्र र खादा प्रदान पनि गरिएको थियो ।

चार दिन सम्म चलेको उक्त बैठकमा सचिवालयको तर्फबा सचिवहरु पदम जवेगु र बलदीप राईले सदस्यहरुले राखेका बिचारहरुको टिपोट गर्नु भएको थियो । उपमहासचिव टोप अस्लामीले उक्त टिपोटहरुलाई संश्लेषण गरी निर्णयार्थ बैठकमा पेश गर्नु भएको थियो । बैठकको बीचबीचमा पार्टी अध्यक्ष केपी पालुङ्वा, महासचिव केशव सूर्यवंशी, वरिष्ठ नेता डि.के.बुद्धिष्ट तामाङ्ग, पार्टी संस्थापक एवं अनुगमन तथा मूल्याङ्कन समितिका प्रमुख राम बहादुर तुम्बाहाम्फे, वरिष्ठ उपाध्यक्ष यम बहादुर बुढाथोकी लगायतका पदाधिकारीहरुले पनि बैठकमा सहजीकरण गर्नु भएको थियो । पार्टीलाई चुस्त दुरुस्त रुपमा कृयाशिल गराउनका लागि पदाधिकारी तथा सदस्यहरुबाट विभिन्न जिम्मेवारीहरु स्वतःस्फूर्त लिने काम पनि सम्पन्न भएको छ । बैठकमा उठेका विषयहरुको निष्कर्ष मिति २०७३ साउन १७ गते बिहान १० बजे उपमहासचिव टोप अस्लामीले निर्णयार्थ प्रस्तुत गरीसकेपछि अध्यक्ष केपी पालुङवाले बैठकको समापन गर्नु भयो । बैठकको समापन पछि पाँचौ राष्ट्रिय महाधिवेशनमा निर्वाचितहरुलाई प्रमाण पत्र बाँड्ने साथै बैठकले गरेका निर्णयहरु बारे अन्तरकृया समेत राखिएको थियो । सोही दिन नै दिनको १२ः३० बजे रिपोटर्स क्लवमा गई पार्टीको समसामयिक धारणा पत्रकारहरु माझ सार्वजनिक गरिएको थियो ।