पार्टी जीवनका केही व्यवहारिक आयामहरु

0
1656

-टोप अस्लामी (उपमहासचिव–राष्ट्रिय जनमुक्ति पार्टी)

आजको समय सम्म आईपुग्दा राष्ट्रिय जनमुक्ति पार्टी एउटा ऐतिहासिक राजनीतिक पार्टीको रुपमा स्थापित भईसकेको छ । कुनै पनि राजनीतिक संगठनले एउटा लोकतान्त्रिक पद्दतिलाई आत्मसाथ गर्दै जनताकै आडभरोसामा २५ वर्षको लामो यात्रा पार गर्नु आफैमा चूनौतिपूर्ण र संघर्षको धैर्यवान आयाम हो । २५ वर्षको यो लामो अवधीमा विभिन्न आरोह अवरोह व्यहोरेको यो राजनीतिक संगठनभित्र केही दार्शनिक मर्मका व्यवहारिक पक्षलाई केलाउनु जरुरी देखिन्छ । यस सम्बन्धमा केही विचारहरु प्रवाह गर्नु सान्दर्भिक लागेको छ । पार्टी सदस्यहरु (संगठनका सबै नेता, कार्यकर्ता) र जनता बीचको तारतौम्य (औपचारिक अनौपचारिक (मित्रवत— सम्बन्ध) कुनै पनि संगठनको सफल जीवन पद्दति हुन आउँछ । पार्टी संगठनको सफल जीवन पद्दति भन्नाले पार्टी जनजीवनसंग गाँसिएको हुनुप¥यो, जनताले आफ्नो जीवनको कुनै न कुनै हिस्सा त्यस पार्टीमा प्रतिविम्वित भएको पाउनु प¥यो ।

विशेष गरी संगठनलाई गतिशिल बनाउने प्रारम्भिक पक्ष भनेको सो संगठनले अवलम्बन गरेको विचार नै हो । तर सो विचारलाई जनताको जीवन र मनोविज्ञानसंग जोड्न सकिएन भने हामी एकाङ्की र लहडी मात्र बन्न पुग्दछौं । तर त्यसरी जोडिने नाउँमा संगठनका मर्मलाई नै विलय गराउने हदसम्मको पक्षलाई भने हरेक सदस्यले ख्याल गर्नु जरुरी हुन्छ । हाम्रा राजनीतिक सांगठनिक ढङ्गहरु कामयावी नहुदा लामो समयसम्मको  परिणाम विहिनताले कतिपय सदस्यमा नैराश्यता आउनु अस्वभाविक नहोला । संगठन विस्तारको लागि, जनताको मुक्तिको लागि नैराश्यता बाधक पक्ष हो । नैराश्यता आफैमा समस्या त हो तर मूलुक परिवर्तनका दावेदार सदस्य (जनमुक्ति विचारधारालाई आत्मसाथ गरेका हरेक सदस्य) हरुले यसको समाधान खोज्नु पर्दछ । समस्या समाधानमा आपसी समन्वय पनि ज्यादै आवश्यक छ । पार्टीको विचार आफैमा बहुआयामिक हुने हुँदा पार्टी सदस्यले त्यस्तो बहुआयामिकतासंग तादाम्यता राख्न नसक्दा पनि पार्टीको प्रगतिमा बाधा आउन सक्तछ । तसर्थ यस बारेमा केही जानकारी छलफलमा ल्याउन बाञ्छनीय लागेको छ । मलाई लाग्दछ, यो प्रवाह आत्मगत हुने छैन ।

जनताको मनोविज्ञान (Average Psychology)

मानिसै पिच्छेका सोंचहरुका कारण अर्थात निहित असुरक्षा महशुस गर्ने, निहित पूर्वाग्रही भावनाबाट ग्रसित भईरहने, निहित अपहेलना गर्ने व्यहोर र प्रवृत्तिका कारणबाट, अबुझी स्वभावका कारणबाट एउटा चीज विशेषमाथि जुन खालको सोंचको वहाब लहैलहैमा बहकिन्छ वा एक खालको हल्ला बन्छ वा अनावश्यक दवाब बन्छ यसले आम मानिसमा एउटा मनोविज्ञानको निर्माण गर्न पुग्दछ । यसले समाजमा, विशेष गरी परिवर्तनका मुद्दामा जनलहर ल्याउने वा त्यस सम्बन्धमा जनताको मुकदर्शकपना स्थापित गर्ने भन्ने सन्दर्भलाई प्रभावित पारीरहेको हुन्छ । क्षणभरमै बदलिन सक्ने समग्र मानिसका सोंच र त्यस अनुसारका तत्कालिन अभिव्यक्ति र व्यवहारको जुन हद देखिन्छ यस खालको चरित्र विशेष (मनोविज्ञान) लाई हामीले “एभरेज साईकोलोजी” भनेर मान्न सकिन्छ । खासगरी आफु वा आफ्नो संघसंस्थाको ठोस सोंचको विपरीत बाहिरिया गफहरुमा लहडिने वा अविलम्ब बाहिरियाहरु अथवा आफुभन्दा कथित शक्तिशाली, प्रभावशाली, नयाँ मानिनेहरुबाट प्रभावित हुने तरल वा स्वार्थपूर्ण वा कमजोर सोंच बोक्ने मानसिकता विद्यमान छ भने त्यहाँनिर यो “एभरेज साईकोलोजी”को निर्माण छिटो छिटो हुन्छ । यस्तो खालको मनोविज्ञानले न त व्यक्ति विशेषलाई, न त समाजलाई नै सही दिशा निर्देश गर्न सक्तछ । अर्थात एउटा व्यक्तिले यस्तो खालको मनोविज्ञानलाई आत्मसाथ गर्दै गर्दा वर्तमानको उपभोक्तावादी समाजमा एउटा सक्षम सदस्यको रुपमा त उभिएला तर ऊ कति दीर्घकालिन हुन सक्तछ भन्ने सन्दर्भ प्रश्नको घेरामा नै हुन्छ । सामूहिक स्वार्थलाई सम्पूर्ण रुपमा तिलाञ्जली दिएर, सामूहिक स्वार्थमा एक रत्ति पनि नजिक नरहेर बन्ने सक्षमताले परिवर्तनकामीलाई सारथी बनाउन सक्तैन, त्यस्ता प्रवृत्तिले युक्त मानिसलाई परिवर्तनकामीले सारथी मान्न पनि गाह्रो हुन्छ । वास्तवमा त्यस्ता प्रवृत्तिले अन्तत्वगत्वा परम्परावादीहरुलाई नै सहयोग पुग्दछ । वा, स्वार्थका कारण बनेको सक्षमताले परिवर्तनका लागि आम विश्वास आर्जन गर्न समर्थ हुँदैन । अर्थात समाजको आमूल परिवर्तन, वैज्ञानिक राज्य व्यवस्थाको निर्माण अभियानमा यो खालका मानसिकताहरु जहिले पनि घातक र अविश्वसनीय हुन्छन् ।

यहाँनिर प्रसंग उजागर गर्न खोजिएको के हो भने राजनीतिको एउटा दर्शन छ, त्यसको उद्देश्य राष्ट्र निर्माणको उद्देश्य छ, अनि त्यो राजनीतिसंग आफुलाई साक्षात्कार मात्र होईन त्यस खालको दर्शनलाई अवलम्बन गरी सांगठनिक जीवनमा होमिईएको छ, सांगठनिक यात्रालाई सहयोग गर्ने बचनबद्दता गरिएको छ (यी सबै कुरा व्यक्ति विशेषलाई उचित लागेर नै निर्णय लिईएको हुन्छ) भने त्यसको उपलब्धता हासिल नहुँदा सम्म सामूहिकतामा प्रतिबद्ध भईरहनु अति नै आवश्यकीय पक्ष हो । त्यति मात्र होईन सम्बन्धित राजनीतिलाई बलियो बनाउनका लागि सही परिणाम आउन सम्भव हुने वा संगठन विशेषलाई उर्जा मिलीरहने आलोचनात्मक टिप्पणी र सुझाव (आम रुपमा होईन, संगठनबाट अलग्गिएर होईन, पद धारण गरेको अवस्थामा मात्र होईन) पनि दिईरहन सक्नु पर्दछ । यसले गर्दा व्यक्ति नेतृत्वको रुपमा स्थापित हुँदै जाने एउटा पक्ष त छदैंछ, त्यस ढङ्गले सबै सदस्यहरुले सामूहिक उद्देश्य प्रति लगाव राखी संगठन परिचालन गरीरहदा परिवर्तनका पक्षधरहरुले आफ्नो राजनीतिक संगठनलाई स्वतः एउटा निर्विकल्प नेतृत्वको रुपमा उभ्याउन सम्भव हुन्छ । एउटा निर्विकल्प राजनीतिक संगठन जब बन्छ त्यो संगठन आफैमा गौरवशाली संगठन हुन्छ । राष्ट्र निर्माणको असली संवाहकका साथसाथै अन्तत्वगत्वा त्यही संगठन नै देशको नेतृत्व पनि हुन्छ ।

त्यसो भए राष्ट्रिय जनमुक्ति पार्टीको हकमा यो सवालको सन्दर्भ के हो त ? यो एउटा विश्लेषण गरिनै पर्ने, विश्लेषणको मानकमा हरेक सदस्यले शुद्धीकरण गर्नै पर्ने हो कि होईन ? पार्टीको हाल सम्मको जीवनकाल (२५ वर्ष नाघीसकेको समय) सम्म भएका राजनीतिक निर्णय, त्यसको कार्यान्वयनका लागि हरेक सदस्यले वहन गरेका जिम्मेवारीहरुको तालमेल, नेपाली जनताले सोंचीरहने अर्थात चाहना र आकाँक्षा राखेका परिवर्तनकारी पक्षहरुसंग पार्टी निर्णयको सामिप्यता र जनताको अवलम्बन प्रकृया कस्तो रह्यो त ? हामी कस्तो सोंच्थ्यौं ? कस्तो सोंचीरहन्छौं ? कस्तो सोंच्नु पर्ने हो ? हामीलाई जनताले कस्तो सोंचे वा चिने ? जनताले कस्तो सोंचीरहन्छन् ? वा कस्तो भनेर हामीलाई चिन्नु पर्ने हो ? यस बारेमा तालमेल छ कि छैन ? जनमुक्तिको जीवनमा यो एउटा ज्यादै सोंचनीय विषय हो । अर्थात, आज सम्म विशेष गरी हामीले आपूmलाई आमूल परिवर्तनका हिमायतीहरु त भन्यौं तर परिवर्तनका आयामहरु बारे मिहिन रुपमा ठोस अभिव्यक्ति सबै सदस्यले आ—आफ्नो ठाउंमा उही मर्ममा व्यक्त गर्न सक्यौं कि सकेनौ ? वा यसतर्फ सबै सदस्यहरु गम्भीर हुन आवश्यक ठान्यौं कि ठानेनौ ? पार्टी निर्णयलाई जसले जसरी बुझन सक्यो त्यस्तै त्यस्तै अभिव्यक्ति दिंदै पो हिंड्यौ कि ? व्यक्तिको बुझाई, जाति विशेषको मनोविज्ञान, प्रारम्भमा अवलम्बन गरेको राजनीति साथै संघसंगठन र व्यवसाय विशेषकै तौरतरिकामै पो अल्झियौं कि वा के हो ? केही हाम्रा गैरराजनीतिक ढर्रापनालाई पखाल्न नसकेको प्रशस्तै पाईन्छ । खासमा संगठनले जनतामा प्रवाह गर्न खोजेको सन्देश के हो भन्नेमा हामी जनमुक्ति भन्नेहरु नै दिग्भ्रमित पो भयौं कि ? या हाम्रा राजनीतिक ढङ्ग पुगेन ? हो, कतिपय कालखण्डमा उपल्लो तहकै सदस्यबाट भए गरेका गतिविधिका कारण यस्तो पो भएको हो कि भन्ने पनि सोंच्न बाध्य भईएला तर नेतृत्व पद्वी धारण गराउने कार्यकर्ताहरुको पनि राजनीतिक शतर्कतामा वृद्धि हुनु पर्ने हो कि ?

हामीले देश निर्माणका खातिर परिवर्तनका मुद्दा सहितको जुन चूनौति खडा ग¥यौं सो चूनौति सम्बन्धमा यथास्थितिवादीहरु, स्वार्थका लम्पटहरु, डरपोकहरु, जनता सवल भएको हेर्नै नसक्ने मानवीय कमजोरीले ग्रस्तहरु (देशीय वा बाहिरिया) ले कसरी प्रतिचूनौति खडा गर्लान् भन्ने बारेमा हाम्रो ध्यान अझै राम्रोसंग परिपक्व हुन सकेन कि ? एउटा सफल राजनीतिक कार्यकर्ता हुँ भनेर पुष्टी गर्नलाई कति लगाव, सक्षमता, कृयाशिलता आवश्यक पर्छ भन्ने तर्फ हामीमा आत्ममूल्याङ्कनको पनि अभाव रहयो कि ? वर्तमान विश्वमा एउटा कोठामा बसेर निर्माण गरिएको सफट्वेयरको कारण काम गर्न सजिलो भए जस्तो तरिकाले आत्मरति गर्ने सन्दर्भलाई एउटा सही पार्टी सदस्यले सच्याउनै पर्दछ ।

जनमुक्तिकर्मीले निश्चय पनि ‘जनमुक्ति विचारधारा’लाई राम्रोसंग बुझ्न जरुरी छ । संक्षिप्तमै बुझ्दा पनि ‘जनमुक्ति विचारधारा’ बुझ्नु भनेको हरेक समस्यालाई नयाँ ढङ्गले समाधानको आखाबाट हेर्न सक्नु नै ‘जनमुक्ति विचारधारा’को एउटा मर्म हो । तर हामीमा अझै पनि समस्या मात्रै थोपर्ने परम्परावादी प्रवृत्तिले गाँजेको गाँज्यै पो छ कि ? सम्भवतः अधिकाँश पार्टी सदस्यहरुमा यो खालको समस्या यथावत नै देखिन्छ । हामीमा राजनीतिक र साँगठनिक सोंचको अभाव छ भन्ने यथेष्ठ प्रमाण हो यो परिस्थिति भनेको । एउटा राजनीतिक सदस्यले निश्चय पनि यस प्रकारको कमीकमजोरीलाई समयमै सच्याउनु जरुरी हुन्छ । अन्यथा हामी फेरि “एभरेज साईकोलोजी”को वरीपरी नै रहन्छौं । फेरि पनि मूलुक निर्माणका लागि आमूल परिवर्तनका मुद्दा र सो मुद्दाका सर्जक संगठनलाई स्वीकार त गर्दछौं तर सो मुद्दा आत्मसाथ गर्ने नेतृत्वकारी संगठन चाहिं निर्माण गर्न सक्दैनौ । कुनै पनि राजनीतिक संगठनलाई नेतृत्वकारी संगठनको रुपमा उभ्याउनु भनेको सबै तहका सदस्यहरु नेतृत्वकारी गुण र क्षमता भएको छन् भनी समाजमा स्थापित गर्नु पनि हो ।

यहाँनिर प्रष्ट के गर्न खोजिएको हो भने यस्ता कुराहरुको जानकारी राख्दा हामी समाज विकासको सम्भावनालाई आपूmले अङ्गीकार गरेको राजनीतिक दर्शन र सिद्धान्त संगसंगै लैजान सक्दछौं । भनिन्छ — “सबै भन्दा इमान्दार र निश्चल परिवर्तनकारी पनि पार्टीमा आवद्ध भएको समयमा परिवर्तनकारी र क्रान्तिकारी बन्न इच्छुक भएर मात्र हुँदैन बल्की सक्षम हुनु पर्दछ र यसका लागि मुक्तिकामी जनताको उद्देश्यको खातिर काम गर्ने र पूर्ण वफादारीपनाको आवश्यक्ता पनि हुन्छ ।” (ये.बुगायेव, पार्टी क्या है ? पेज ३१) ।

जनचाहनाको कुरा त एक ठाउँमा छ, फरक व्यक्तिको फरक विचारको प्रभावमा पर्ने र आफ्नो सही विचारलाई कमजोर सावित गरियो भने पार्टी नेता तथा कार्यकर्ता “एभरेज मनोविज्ञान”को शिकार भईरहने अवस्था हुन्छ । जनस्तरमा रहीरहने यो मनोविज्ञानलाई पार्टी सदस्यहरुले बदल्न सक्नु पर्दछ ।

पार्टीको आन्तरिक र बाह्य सम्बन्ध :

मूलुकमा परिवर्तनको मुद्दा स्थापित गर्न संघर्षको चरणमा रहेको राजनीतिक संगठनले पनि विभिन्न सम्बन्धहरुबारे सचेत हुनु आवश्यक छ । ती विभिन्न सम्बन्धहरुबारे पार्टीको आन्तरिक (देशीय) र बाह्य सम्बन्धले पार्टीलाई विस्तृतीकरण गर्न मद्दत पु¥याउदछ । हाल सम्मको वस्तुस्थितिलाई विश्लेषण गर्ने हो भने यी दुवै सवालमा हाम्रो पार्टीले प्रयाप्त भूमिका निर्वाह गर्न बाँकी नै छ ।

क) पार्टीको आन्तरिक सम्बन्ध :

क्रान्तिकारी र परिवर्तनकारी राजनीतिक संगठनको विचारलाई विश्लेषण गरीरहने विभिन्न तह र तप्काहरु देशभित्र असरल्लै छन् । जस्तो :— बुद्धिजीविहरु (सञ्चारकर्मी, शिक्षक, लेखक आदि), कर्मचारीहरु, मुक्तिका लागि लालायित जाति तथा समूहहरु (धार्मिक, सास्कृतिक, भाषिक), व्यापारी तथा व्यवसायीहरु, मूलुकको सही परिवर्तनका लागि विभिन्न राजनीतिक दलमा आवद्ध भई बलीदानी दिएका तर परिवर्तनको आभास समेत ठम्याउन नपाएका साथै आत्मसम्मानमा ठेस खाएर बसेका देशप्रेमी राजनीतिकर्मीहरु, विकासप्रेमीहरु (काम गर्ने वातावरण नपाएकाहरु), जीवनलाई सार्थक बनाउन संघर्षशिल जनताहरु (मजदूर, किसान), हुनेखाने र पहुँचवालाहरुको अनावश्यक चेपुवामा परेकाहरु आदि विभिन्न तह र तप्काहरु छन् । यस्ता तह र तप्काहरुसंग पार्टीले प्रयाप्त सम्बन्ध स्थापित गर्न सकीरहेको छैन । यस बारेमा पार्टीले अब जबर्जस्त कार्यान्वयनको तहमा जान आवश्यक भईसकेकोले पार्टीको जुनसुकै तहमा यसको थालनी गर्नु र ठोस परिणाम हासिल गर्नु जरुरी भईसकेको छ । यद्यपि ‘सर्वपक्षीय अन्तरसम्वाद’का कार्यक्रम गरेर पार्टीले केही अभ्यासहरु गर्दै आएको पनि हो तर यसको ‘भोलुम’ बढाउनु पर्ने सम्बन्धमा सबै पार्टी सदस्यहरुले चिन्तन मनन गर्नुका अलावा आवश्यक सम्बन्धहरु वृद्धि गर्ने तर्फ गम्भीर भएर लाग्नु पर्ने भएको छ ।

ख) पार्टीको बाह्य सम्बन्ध :

पार्टीको बाह्य सम्बन्ध भन्नाले विभिन्न देशमा पार्टीको भाईचारा संगठनको पहिचान, निर्माण र राजनीतिक सल्लाह सुझाव आदान प्रदान हुने तहको सम्बन्ध समेतलाई बुझिन्छ । यसका अलावा दुई देशीय विकासमा एकअर्काको सहयोगको सम्बन्धले मित्रता तर्फ नजिक्याउँछ । पार्टी पार्टी तहमा, हाम्रो पार्टी र तत् तत् ठाउँका सरकारसंगको सम्बन्ध बाह्य सम्बन्धसंग जोडिएका विषयहरु हुन् ।

हाम्रो पार्टीले विभिन्न देशमा विभिन्न कामका शिलशिलामा पुगेका जनमुक्ति समर्थक नेपालीहरुको संगठन बनाई पार्टीको भातृ संगठनको रुपमा विकास गरेको छ र ती संगठनहरुलाई परिचालन, पार्टी सञ्चालनार्थ ती संगठनको माध्यमबाट प्राप्त हुने थोरै धेरै आर्थिक सहयोगको सन्दर्भ नै कतिपय कालखण्डमा पार्टीको विदेश सम्बन्धको रुपमा व्याख्या गरिएको अवस्था पनि रहयो । तर अब भने पार्टी जन्मेको उमेर, नेता कार्यकर्ताले आर्जन गरेको ज्ञान अनुभव साथै पाँचौ महाधिवेशनले लिएको कार्यदिशा समेतलाई पार्टीका सबै सदस्यहरुले गम्भीर रुपमा विश्लेषण र कार्यान्वयन गर्न जरुरी भईसकेको छ । सम्भवतः सबै सदस्यहरुलाई जानकारीमा आई पनि सकेको छ कि अब राष्ट्रिय जनमुक्ति पार्टीले नेपाल बाहेक अन्य देशमा पनि जनमुक्ति पार्टी स्थापना हुन सक्ने परिकल्पना गरेको छ । विश्वमा शान्तिको लागि बाह्य देशहरुमा पनि ‘जनमुक्ति विचारधारा’लाई अङ्गीकार गरेको पार्टी निर्माण आवश्यक ठानेको छ । राष्ट्रिय जनमुक्ति पार्टीको जीवनमा यो ज्यादै महत्वपूर्ण निर्णय हो । यो कार्यदिशालाई कार्यान्वयन गर्न सकेको खण्डमा राष्ट्रिय जनमुक्ति पार्टीको विदेश सम्बन्ध द्रुत गतिमा विकास हुन सम्भव छ र हाम्रो पार्टीको अन्तर्राष्ट्रिय पहिचान बन्न लामो समय अब कुर्नु पर्ने छैन ।

दोश्रो कुरा, जनमुक्तिले सोंचे जस्तो भाईचारा संगठन बाह्य देशहरुमा निर्माण हुन नसकेको सन्दर्भमा भने हामीले फरक कार्यनीति अपनाउन जरुरी छ । सर्वप्रथमतः पार्टी बारेमा विदेशी मित्रहरुलाई विशेष जानकारी गराउनका लागि पाँचौ महाधिवेशन पश्चात् संघीय परिषदले निर्णय गरेको ‘परराष्ट्र सम्बन्ध विभाग’ले विशेष पहल त गर्ने नै छ । तर पनि यस सम्बन्धमा सबै तहका पार्टी सदस्यले गहन सुझाव दिन पनि जरुरी छ । यसका साथै स्थानीय स्तरमा विदेशी महानुभावहरु (कुटनैतिक वा सर्वसाधारण) संगको छलफल हुने अवसरमा पार्टी सदस्यहरुले आफ्नो राजनीतिक संगठनको बारेमा निर्भिक भई धारणा राख्नु पनि पार्टीको व्यापकताको लागि फलदायी नै हुनेछ ।

वास्तवमा राष्ट्रिय जनमुक्ति पार्टी देशभक्तहरुको पार्टी हो । संसारमा परिवर्तन, विकास, सामूहिक सम्वृद्धि र आत्म सम्मान चाहनेहरुका लागि बनेको पार्टी हो । आफ्नो अधिकार र अरुको अधिकार सम्बन्धमा हामी सचेत छौं । यसले गर्दा विदेश सम्बन्ध सम्बन्धमा हामीले बडो ध्यानपूर्वक कदम चाल्नु पर्ने हुन्छ । हामी मित्र बन्न तयार छौं तर कोहीले पनि शत्रुवत व्यवहार गरेको हामीलाई पाच्य हुँदैन । हामीले अन्य देश र देशवासीहरुको प्रगतिका लागि योगदान दिन पनि तयार छौं तर हाम्रो प्रगतिको बाधक बन्नेहरुलाई राम्रो मान्दैनौ । कुनै पनि देशको सुरक्षामा हाम्रो कारणबाट शंका उत्पन्न हुनुहुँदैन तर हाम्रो देशमा वेचैन हुने परिस्थिति कसैबाट पनि निर्माण नगरियोस् । यही आधारमा हामीले आफ्ना छिमेकी र अन्य मित्र राष्ट्रहरुलाई विश्वस्त तुल्याउन पहलकद्मी लिनु पर्दछ । २१औं शताब्दीमा सबैले आआफ्नो पहिचान सन्दर्भमा ज्यादै नै सचेत भईसकेको अवस्था हो । विश्व शान्तिको कामना गर्ने सबैले यस मर्मलाई आत्मसाथ गर्नै पर्दछ । एकातर्फ सबै देशले आफ्नो जनतालाई समृद्ध बनाउने चाहना अवश्य पनि राख्दछ, राख्नु पनि पर्दछ । देश सानो हुँदैमा, आर्थिक वृद्धिदरमा कमजोर हुँदैमा च्याप्ने काम कसैले पनि गर्नु विश्व शान्तिको मर्मको विपरीत त छदैछ प्रभुत्ववादी कुण्ठित सोंचबाट ग्रसित स्वयम्को प्रगतिको लागि पनि यस्तो प्रवृत्ति र संस्कार बेठीक छ ।

ग) छिमेकीका सपना के छन् ?

दक्षिण एशियामा नेपाल मात्र यस्तो देश रह्यो जसको राष्ट्रिय सपना बन्न सकीरहेको छैन । देश निर्माणको सामूहिक खाका बन्न सकीरहेको छैन । कुनै दलको केही नेता विशेषले स्वघोषित शक्ति निर्धारण गरिएको कुर्सीमा बस्ने दाउपेच, कमीशन र भ्रष्टाचारका आयामहरु थप वृद्धि गर्ने भन्दा अर्को थप कृयाकलाप खासै देखिएको छैन । स्वदेशमा रोजगारका अवसरहरु सृजना गर्ने, देशलाई ऋणमुक्त बनाउने र नेपालीले संसारमा स्वावलम्बनको पक्षबाट पनि शिर ठाडो गराएर हिंड्न सक्ने व्यवस्थाको निर्माण सम्बन्धमा न त दलीय रुपमा न त आम जनताको तर्फबाट जबरजस्त चासो र चिन्ता व्यक्त गरिएको अवस्था देखिन्छ । अरुले सम्पन्न गरेको काम भनेपछि राम्रो नराम्रो दुवैलाई बाधा व्यवधान पु¥याउने प्रवृत्ति संस्कारको रुपमा विकास भएको छ । बरु स्वार्थ मिलेको छ भने नराम्रो (जनविरोधी) काममा पनि दलीय सहमति गरिएको पाईरहेको छ ।

एकातिर देशको उत्तर र दक्षिणमा सबै पक्षबाट विशाल देशले आ—आफ्ना सपनाहरु सहित अगाडि बढीरहेको अवस्था छ । हामी निष्फिक्री रहनु या विभिन्न स्वार्थको कठपुतलीको रुपमा सलबलाउनु हाम्रो पुर्खाले बलीदानी स्वरुप प्राप्त भएको इमान्दारिताको ठाडो मानमर्दन हो कि होईन ? नेपाली जनताको इमान्दारिता प्रति ठाडो घात हो कि होईन ? यसो भनीरहदा हामीले छिमेकीको सपना बारे संक्षिप्तमा नै भए पनि जानकारी राख्नै पर्ने हुन्छ ।

 अ) विश्वको दोश्रो आर्थिक शक्तिको रुपमा उदयीमान उत्तरी छिमेकी चीनले आधुनिक चीन बन्नु अगाडिका समयका व्यापारिक मार्गहरु (जसलाई शिल्क रोड भनिन्छ) समेतलाई वर्तमान परिस्थितिमा आधुनिक चीनको व्यापारिक मार्ग निर्माण कार्य योजना अन्तरगत ‘चिनीया सपना’को रुपमा अगाडि सारेको छ । सवा अर्ब भन्दा धेरै जनसंख्या भएको चीनमा सस्तो श्रमका कारण उत्पादित असंख्य वस्तुहरु विक्रीका लागि चीनलाई अवश्य पनि आफ्नो देश बाहेक बाहिरी विश्वमा टेक्नै पर्ने हुन्छ । यसै कुरालाई व्यवस्थित गर्न सन् २०१३ को सेप्टेम्बरमा ‘चिनीया सपना’को मार्गचित्र सार्वजनिक गरेको पाईन्छ । यस अनुसार चीनले यूरोशिया देशहरुसंग राजनैतिक र आर्थिक सम्बन्धलाई नयाँ उचाईमा पु¥याउन दुई हजार वर्ष पुरानो ‘रेशम मार्ग आर्थिक क्षेत्र’ स्थापना गर्ने प्रस्ताव चिनिया राष्ट्रपतिले अगाडि सारीसकेका छन् । आफ्नो देशको विकास नभईसकेका पश्चिमी क्षेत्रहरुलाई रेशम मार्ग (Silk Road) मार्फत जोडेर विकास गर्ने योजना बनाएको देखिन्छ । यसका लागि शिल्क रोडको नक्शाङ्कन आफ्नो क्षेत्रमा पार्नका लागि चीनका प्रान्तीय सरकारहरु कस्सिएर लागेको देखिन्छ । चीनको पश्चिमी देश किर्गिस्तान हुँदै ग्रीस सम्म विशेष आर्थिक मार्ग, चीनको पूर्वी प्रान्त कुनमिङ्ग, वाइलु, चेनचाउ, पेईचिङ्ग र हार्बिनबाट रुसको मस्को हुँदै स्पेन सम्म रेलमार्गको सञ्जाल बन्ने र सञ्चालनमा हुने दिशामा छ । पाकिस्तानको कराची हुँदै इरान र पाकिस्तानको सिमाना ग्वाडर सम्म विशेष व्यापारिक मार्ग प्रस्तावित भईसकेको छ । यता समुद्री मार्गमा श्रीलंका र भारतको परिक्रमा गदै अफ्रिका महादेश अन्तर्गत माउरोटेनिया सम्म चीनको समुद्री शिल्क रोड बनीसकेको छ । चीनको यस महाअभियानमा सहभागी हुन आव्हान गर्दै चीनले आपसी अस्तित्व र समन्वयको थेगोलाई अगाडि सारीरहेको छ । अमेरिका जस्तो देशले राजनीतिक कुरा नदेखिदा सम्म यस महाअभियान सम्बन्धमा औपचारिक प्रतिकृया (विरोध) नजनाउने बुझिन्छ । संसारले यसलाई अर्बौ जनताको सपना भनेको छ ।

विगतका शताब्दीहरुमा नेपाल र भारत बीचको व्यापारिक मार्ग नेपाल नै थियो । केरुङ्ग, तातोपानी जस्ता गौंडाहरु भई चीन नेपाल भारत व्यापार सम्पन्न हुँदै आएकोमा चीनले नेपाललाई वाईपास गरी उसको दक्षिण पूर्वी शहर कुनमिङ्गबाट बङ्गलादेश हुँदै भारतको कोलकातामा स्थल मार्ग जोडीसकेको छ । अर्बौं जनताको सपना भनिएको चिनीया सपनासंग नेपाल जोडिन नसक्नुका कारणहरु नेपाली जनताले अली चनाखो शैलीमा खोज्नु पर्ने भएको छ ।

 आ) विश्वको चौथो आर्थिक शक्तिको रुपमा उदयीमान दक्षिणी छिमेकी देश भारतले पनि आफुलाई विश्व शक्तिको रुपमा उभ्याउन भरमग्दुर प्रयास गरेको छ । विज्ञान र प्रविधिको रुपमा मात्र होईन आध्यात्मिक र कृषिको माध्यमबाट पनि भारतले विश्वलाई नेतृत्व गर्ने सपना सहित आफ्नो देशको आन्तरिक विकासमा लागीरहेको छ । दुई तिहाई बहुमत प्राप्त भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विकसित, समृद्ध र नेतृत्वकारी भारतको सपना बाँडीरहेका छन् ।

एकातिर भारत नेपाललाई रक्षा कवचको रुपमा प्रयोग गर्ने आन्तरिक चाहनाबाट उद्देलित छ र यहाँको राजनीतिमा पनि प्रभुत्व कायम गर्न चाहन्छ जुन यथार्थ सतहमै देखिदै आएको छ । तर चीन आफ्नो एक सुत्रीय व्यापारिक सपनामा अगाडि बढीरहेको छ तर उसको तिब्बतलाई लिएर एक चीनको सवालमा नेपाल आन्दोलन भूमि नबनोस् भन्नेमा सरोकार राखेको बुझिन्छ । यसरी छिमेकीका आ—आफ्नै स्वार्थ र सपनाहरु कार्यान्वयनको दिशामा अग्रसर भईरहेको सन्दर्भमा नेपालका स्वार्थ केन्द्रित दलहरु सत्ता लिप्सामा मात्र अल्मलिईरहेको अवस्थामा हाम्रो भूमिका निश्चय नै चूनौतिपूर्ण रहेको छ । अधिकार सम्पन्न जनता र समृद्ध नयाँ नेपालको कल्पना बोकेका जनमुक्ति सिपाहीहरुले यो चूनौतिलाई आफ्नै बलमा सामना गर्नु पर्ने सन्दर्भलाई आँखा चिम्लिन मिल्दैन ।

विभेद बारे विश्लेषण गरौं :

सामान्यतया विभेदका किसिम (आयामहरु) धेरै प्रकारका छन् । जातीय, क्षेत्रीय, लिङ्गीय, धार्मिक, भाषिक, सांस्कृतिक, धनी र गरीबको विभेदहरु सबैले छर्लङ्ग महशुस गर्न सक्तछन् । राज्यसत्ता सन्दर्भमा विभेद मुख्य गरी दुई प्रकारका हुन्छन् । एउटा क्षितिजिय (Horizontal) हुन्छ र अर्को सत्ता केन्द्र (सिंहदरबार) ले च्याप्ने हेप्ने वा सत्ता केन्द्र (एकाधिकारवादी चिन्तनको झुण्ड) को परिसर र त्यस वरीपरी पुग्न सक्नेले नसक्नेलाई गर्ने विभेद अर्थात पिरामिड (Pyramid) टाईपको । पिरामिड टाईपको विभेदीकरणका कारण थोरैबाट धेरैले विभेद सहनु पर्दछ ।

मुक्तिकामीहरुको संघर्षको लक्ष्य माथिबाट हुने अपहेलना वा विभेदको अन्त्य हो । यसको अर्थ माथि (एकाधिकारवादी सत्ता संरचना) बाट चेपिएकाहरुले एक जुट भएर त्यस खालको संरचनाको पूर्ण रुपमा उन्मूलन गर्नु हो । तर पीडादायी पक्ष भनेको के हो भने अल्पसंख्यकहरुको एकाधिकार (पिरामिड टाईपको विभेद) अन्त्य गर्नलाई संघर्ष गर्नु पर्नेछ तर त्यही संघर्ष गर्नु पर्ने समूहबीचमा नजानिदो गरी बल्झीरहने क्षितिजिय विभेदले त्यस खालको आम एकताको लागि कहीं न कहीं व्यवधान गरीरहेको छ । यस बारेमा सम्पूर्ण मुक्तिकामीहरुले सचेतना कायम गर्नु टड्कारो आवश्यक्ता हो । यदि हामी क्षितिजिय विभेदमै अल्झिन बाध्य भयौं भने एकाधिकारवादी राज्यसत्ता जहिले बलियो बनीरहने अवस्था हुन्छ । परिवर्तनका लागि बलियो नेतृत्व निर्माण हुन समस्या पर्दछ, नेतृत्वकारी संगठन निर्माण हुन समय लाग्दछ । के परिवर्तनकामीहरुले आत्मसाथ गर्ने विचार र कार्यशैली यस्तै हुने छ त ?

हामीले विभेदको केन्द्रलाई कमजोर वा निर्मूल गर्ने उद्देश्य राखेका हुन्छौं भने मानवीय कमजोरी (क्षितिजिय विभेद) लाई अवश्य पनि गौण बनाउने तर्फ शुद्धीकरण हुनु अत्यन्त आवश्यक छ । यदि यसो भएन भने हाम्रा राजनीतिक परिवर्तनका दावीहरु परम्परावादी नै सावित हुँदै जानेछन् । जुन सन्दर्भ आम जनतामा अन्ततः फगत सावित हुने छ । के ‘जनमुक्ति विचारधारा’का संवाहकहरुबाट यस्तो कमजोरीलाई स्वीकारिने छ त ?

अन्तमा,

पार्टी सदस्यहरु संगठनको सिद्धान्तबाट सुसज्जित हुनुको अर्थ सिद्धान्तका सुत्रहरुलाई कण्ठस्थ पार्नु होईन, त्यसलाई सुत्रको रुपमा प्रयोग गर्नु पनि होईन, बरु सिद्धान्तका दृष्टिकोण, तरिका र भावनालाई मनन गर्नु हो, सिद्धान्तलाई मार्गदर्शनको रुपमा प्रयोग गर्ने क्षमताको विकास गर्नु हो । सबैले ध्यान दिन जरुरी के हो भने पार्टी कार्यकर्ता एक कुशल संगठन कर्ता त बन्नै पर्दछ । तर त्यति मात्र होईन कार्यकर्ता नेता पनि हो, एक प्रचारक र पार्टी सदस्यहरुलाई शिक्षित पार्ने शिक्षक पनि हो । त्यसैले नेता, कार्यकर्ता सबैले आफ्नो सैद्धान्तिक तथा राजनीतिक स्तरलाई उठाउनु अत्यन्त आवश्यक छ । वास्तवमा कुनै पनि पार्टी सदस्य व्यवहारिक राजनीतिक संघर्षमा र अवसरवादी प्रवृत्तिको विरुद्धको संघर्षमा शिक्षित भएर र खारिएर नै सच्चा मुक्तिकामी योद्धामा विकसित हुन सम्भव छ । (चेन युन, कार्यकर्ता र कार्यकर्ता नीति सम्बन्धमा, पेज ४)

(संघीय सञ्चार विभाग प्रमुख र संघीय विदेश विभाग उपप्रमुख समेत रहनु भएका पार्टी उपमहासचिव टोप अस्लामी ज्यूको यो लेख  “वैकल्पिक आवाज” मा प्रकाशित छ ।)