कोराना पीडित र परिवारजनलाई जनमुक्तिको जनसेवा शुरु

निःशुल्क खाना तथा फलफूल वितरणका लागि थप सहयोग गर्न आयोजक समितिले सबैमा आव्हान गरेको छ ।

0
1354

राष्ट्रिय जनमुक्ति पार्टीले कोराना भाईरसबाट विरामी भई अस्पताल भर्ना हुनु भएका र उहाँका परिवारजन (कुरुवा) का लागि निःशुल्क खाना तथा फलफूल वितरण कार्यक्रम आरम्भ गरेको छ । यसका साथै बाटोमा डिउटीमा खटिएका सुरक्षाकर्मीहरु र बुटवल बसपार्कमा रहेका मजदुरहरुका लागि समेत खाना तथा फलफूल वितरण गरिएको छ ।
निःशुल्क रुपमा खाना तथा फलफूल वितरण कार्यक्रम राष्ट्रिय जनमुक्ति पार्टी, रुपन्देहीको नेतृत्वमा गरिएको हो ।  प्रतिकूल मौसमका वाबजुद नेता तथा कार्यकर्ताहरुको सकृयता उत्साहजनक रहेको छ । गणतन्त्र दिवस (जेठ १५) २०७८ काे अवसर पारेर पूर्वसन्ध्या (जेठ १४) मा सक्दाे सेवाभाव कार्यक्रम आरम्भ गरिएको हाे ।

यस कार्यक्रमलाई सम्पन्न गर्नका लागि पार्टीका जिल्ला उपाध्यक्ष टेकबहादुर गुरुङलाई संयोजककाे जिम्मेवारी दिईएकाे छ । रूपन्देहीमा कृयाशिल जनमुक्ति युवा महासंघ, राष्ट्रिय महिला मोर्चा, राष्ट्रिय पूर्वसैनिक संगठन, नगर समितिहरु क्रमशः बुटवल–तिलोत्तमा–सिद्धार्थनगर–देवदह–सैनामैना, गाउँ समितिहरु क्रमशः कञ्चन–शुद्धोधन–सियारी–ओमसतिया र सम्पर्क मञ्चहरु क्रमशः पाल्पा तराई–गुल्मी तराई–स्याङ्गजा तराईले हातेमालो गरेका छन् ।

त्यस्तैगरी कार्यक्रमलाई प्रभावकारी रुपमा सम्पन्न गर्नका लागि केन्द्रका तर्फबाट केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समिति सचिव अशोक पुन, संघीय परिषद सदस्य छत्र दर्लामी र प्रदेश परिचालन समिति, (लुथम) को तर्फबाट अध्यक्ष झम बहादुर गुरुङ्गले प्रत्येक्ष निगरानी राख्ने जिम्मेवारी लिनु भएको छ भने स्वयम्सेवकहरुको व्यवस्थापन लगायत अन्य समन्वयकारी भूमिका निर्वाह गर्नका लागि जनमुक्ति युवा महासंघका राष्ट्रिय अध्यक्ष शंकर गाहाले जिम्मेवारी लिनु भएको छ ।

यस्तै गरी फिल्डतर्फ भीम अस्पताल, भैरहवाका लागि जनमुक्ति युवामहासंघ लुम्बिनी प्रदेश संयोजक डिबी थापाको संयोजकत्वमा र सहयोगीहरु क्रमशः रेखा प्र. चौधरी र मोजीब अली, अफरोज, शारदा कुमाल, पवन थापा लगायतका कार्यकर्ताहरु खटिनु भएको छ । लुम्बिनी प्रदेश अस्पताल तर्फ जनमुक्ति युवा महासंघ रुपन्देहीका सदस्यहरु डिबी थापा, नेत्र आले, तिलोत्तमा अध्यक्ष बुद्धि थापा, नगर सदस्यहरु कमला ठेडी, गगन थापा, अरुण मश्राङ्गी लगायतका युवाहरुको संयोजन रहेको थियो भने पार्टी उपाध्यक्ष एवं प्रवास विभाग प्रमुख कमला थापाले मनीटरिङ्ग गर्नु भएको थियो ।

यतिबेला देशैभरी झरी परीरहेको छ र अरु केही दिन यो निरन्तर रहने मौसमविदहरुले जनाएका छन् । तथापि घोषित कार्यक्रमलाई कार्यान्वयन गर्न जेठ १४ गते बिहानैदेखि पार्टी कार्यालय, कविराज भवन मंगलापुरमा जम्मा भएर खाना बनाउने, खाना तथा फलफूल प्याकिङ्ग गर्ने कामका लागि पार्टीका नेता तथा कार्यकर्ताहरु (प्रौढ–युवा–महिला सबै) बेलैमा जम्मा हुनु भयो ।

निःशुल्क खाना तथा फलफूल वितरण कार्यक्रम अन्तर्गत लुम्बिनी अस्पतालको कोरोना अस्पताल (धागो कारखाना क्षेत्र) मा राखिएका कोरोनाका बिरामी र उहाँहरुका कुरुवा (आफन्तजन) हरुलाई खाना र पानी प्रदान गरिएको छ भने भीम अस्पताल भैरहवामा राखिएको कोरोनाको बिरामी र कुरुवाहरुका लागि फलफूल र अण्डा वितरण गरिएको छ । यो कार्य एक हप्ता सम्म निरन्तर गरिने आयोजक राष्ट्रिय जनमुक्ति पार्टी, जिल्ला समिति, रुपन्देहीका अध्यक्ष प्रेम ब.थापाले जानकारी दिनुभएको छ ।

खाना तथा फलफूल वितरणका लागि प्रस्थान गर्नु अघि बिहान पत्रकारहरुलाई जानकारी गराउने काम समेत आयोजक समितिले सम्पन्न गरेको छ ।

यही जेठ २ गते पार्टी स्थायी समितिको र जेठ १० गते केन्द्रीय पदाधिकारीहरुको जुम बैठक बसी वर्तमान कोरोना कहरमा सम्भव भए सम्म पार्टीको तर्फबाट गर्न सकिने मानवीय सहयोग गर्न मातहतका समितिहरुमा निर्देशन गर्ने कार्य गरिएको थियो ।

यस मानवीय सेवा कार्यक्रममा थप सहयोगको आवश्यक्ता रहेको आयोजक समितिले जनाएको छ । यसका लागि सेवाभावले ओतप्रोत सबैमा आर्थिक, भौतिक र नैतिक सबै सहयोगको लागि अपील समेत गरिएको छ ।

(सामाजिक सञ्जालमा अपलोड गरिएका एकमुष्ठ झलकहरु)