भैरहवा । राष्ट्रपति विद्यादेवी भण्डारी र निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष खड्ग प्रसाद ओलीले संघीयतालाई कमजोर मात्र होईन बदनाम समेत बनाएको कुरा राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव सूर्यवंशीले बताउनु भएको छ । जनताको बलबाट प्राप्त उपलब्धीलाई सुदृढ गराउनका लागि देशको उच्च तहमा विराजमान भएकाहरुले नै देशलाई सही दिशामा डोरयाउनुको सट्टा झनै उपलब्धी मास्ने दिशातिर उन्मुख गराएको महासचिव सूर्यवंशीले बताउनु भयो ।
राष्ट्रिय जनमुक्ति पार्टी, लुम्बिनी प्रदेश (लुथम) परिचालन समितिले असार ३० गते भैरहवामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुलाई सम्बोधन गर्दै उक्त विचार व्यक्त गर्नु भएको हो । सो कार्यक्रममा बोल्दै महासचिव सूर्यवंशीले गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशिता, समानुपातिक प्रतिनिधित्व जस्ता एजेण्डाहरु राष्ट्रिय जनमुक्ति पार्टीले विगत ३० वर्षदेखि उठाउंदै आएको एजेण्डा भएको बताउंदै आफ्नो दल विचार, सिद्धान्त र नैतिकताको बलमा टिकेको पार्टी भएको स्मरण गराउनु भयो ।
राष्ट्रपति विद्या भण्डारी र निवर्तमान प्रधानमन्त्री केपी ओली लगायतका संघीयता विरोधीहरुको हातमा शासन सत्ता हुंदा संघीयता बद्नाम भएको हो, संघीयताको सच्चा हिमायती राष्ट्रिय जनमुक्ति पार्टी हो – महासचिव सूर्यवंशीले भन्नु भयो । उहाँले भ्रष्टाचारलाई निर्मूल पार्नुपर्छ र भ्रष्टाचार प्रमाणित व्यक्तिलाई आजीवन जेल सजाय र समपत्ति राष्ट्रियकरण गर्ने कडा कानूनको माग र वकालत गर्ने पार्टी राष्ट्रिय जनमुक्ति पार्टी मात्रै भएको पनि बताउनु भयो ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष एवं राष्ट्रिय मुश्लिम परिषदका केन्द्रीय संयोजक डा.हाजी मोहम्मद हसन, केन्द्रीय सचिव एवं नेपाल खसआर्य मञ्च नेपालका केन्द्रीय संयोजक मनीराम चौलागाईं, जनमुक्ति युवा महासंघ लुम्बिनी अध्यक्ष डीबी थापा, युवा नेता मोजिब अलीले नवप्रवेशीहरुलाई सम्बोधन गर्नुभयो ।
कार्यक्रममा नवप्रवेशीहरुको तर्फबाट अरमान अन्सारीले देशका अन्य पार्टीहरु भन्दा जनमुक्ति पार्टीको सिद्धान्त र विचार मन परेर पार्टी प्रवेश गरेको भन्दै अब पार्टीलाई आउंदो चुनावमा जित दिलाउन लाग्ने बताउनु भयो ।
जनता समाजवादी पार्टी (जसपा) का प्रदेश तहका नेताहरु, प्रतिष्ठित युवा व्यवसायीहरु साथै विभिन्न पेशामा आवद्ध र अध्ययनरत युवा व्यक्तित्वहरुले उक्त दिन राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेको हो ।
लुम्बिनी प्रदेश परिचालन समितिका अध्यक्ष झमबहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रलाई सचिव बालकिशोर रानाले सञ्चालन गर्नु भएको थियो । पार्टीको सिद्धार्थनगर नगरपालिका समितिले कार्यक्रमको सहव्यवस्थापनको जिम्मेवारी निर्वाह गरेको उक्त कार्यक्रममा उपस्थित नेता तथा सहभागीहरुलाई रुपन्देही जिल्ला अध्यक्ष प्रेम थापा मगरले कार्यक्रम व्यवस्थापन जिल्लाको तर्फबाट स्वागत गर्नु भएको थियो ।
पार्टी प्रवेश कार्यक्रमको थप प्रतिनिधि तस्वीरहरु :-


