एमसीसी प्रकरणप्रति राजमुपाको गम्भीर चासो

विवादास्पद एमसीसी सम्झौतालाई फिर्ता गरिनु नै राष्ट्रिय हितमा हुनेछ भन्ने राष्ट्रिय जनमुक्ति पार्टीको ठहर र माग रहेको छ ।

0
1215

विगतका सरकारहरुले अपारदर्शी एवं गुपचुप ढङ्गबाट अनुमोदन गरी अगाडि बढाईएको र हाल देशको संघीय संसदबाट पारित गर्न खोजिएको विवादास्पद एमसीसी सम्झौता प्रकरण प्रति राष्ट्रिय जनमुक्ति पार्टी गम्भीर चासोका साथ खबरदारी गरेको छ । पार्टी महासचिव टोप अस्लामीद्वारा आज प्रेष विज्ञप्ति जारी गरी एमसीसी प्रकरण सम्बन्धमा चासो व्यक्त गर्नुका साथै खबरदारी गरिएको हो ।
‘पाँच सय मिलियन अमेरिकी डलर अनुदान सहयोगको आवरणमा एमसीसी सम्झौता त गरियो तर सो सम्भौतामा उल्लेखित प्रावधानहरु (दफा ५ ‘क’, ६.८ र ७.१ आदि) ले नेपालको सार्वभौमसत्तालाई ठाडो चूनौति दिनु गम्भीर आपत्तिको विषय हो’ – महासचिव अस्लामीले प्रेष विज्ञप्तिमा बताउनु भएको छ ।
सबै नेपालीहरु यस्ता सम्झौता बारे चनाखो हुनु पर्ने भन्दै पार्टीले जनतामा गम्भीर ध्यानाकर्षण गर्नुपर्ने आवश्यक्ता औंल्याएको छ । यसै सन्दर्भमा विज्ञपितमा भनिएको छ – ‘यो सम्झौताले अन्ततः नेपाललाई ‘हिन्द प्रशान्त क्षेत्रका लागि अमेरिकी सैन्य रणनीति’संग जोड्ने गम्भीर आशंका र सम्भावनाले गर्दा देशको जनमत, बौद्धिक मत र संसदीय मत समेत विभाजित र ध्रुवीकृत हुने विषम परिस्थिति सृजना भईरहेकोमा हामी सबैको गम्भीर ध्यानाकर्षण हुनु जरुरी छ ।’
नेपाल र नेपालीको विकास गर्ने भनी शिलशिलाबद्ध रुपमा लिने योजना सहितको एमसीसी अन्तर्गतको सहयोग नेपालमा व्यापक विवादमा तानिईसकेको छ । यस्तो परिस्थितिमा विवादास्पद एमसीसी सम्झौतालाई फिर्ता गरिनु नै राष्ट्रिय हितमा हुनेछ भन्ने राष्ट्रिय जनमुक्ति पार्टीको ठहर र माग रहेको विज्ञप्तिमा जनाईएको छ ।