देशलाई नयां युगतिर डोरयाउन अग्रसर बनौं ।

देशलाई नयां युगतिर डोरयाउन अग्रसर बनौं ।

1383
0
SHARE

– केशव सूर्यवंशी
(महासचिव, राष्ट्रिय जनमुक्ति पार्टी)

१. ट्राई अगेन होईन ट्राई नेक्स्ट :
म पार्टीको केही कुराहरु आजको दिनमा राख्न चाहन्छु । यहाँहरुले विभिन्न सामानहरु किन्दा यो उपहार पाईन्छ, त्यो उपहार पाईन्छ, दिईएको कुपन स्क्रयाच गर्नु (खोस्रनु) होला भन्ने सुन्नु भएकै होला साथै भोग्नु पनि भएको होला, अनुभव पनि भयो होला । तर, अब केकेन उपहार पाईएला भनेर जब उपहार कुपन हामीले खोल्छौं, त्यहाँ उपहार पाईदैन, ट्राई अगेन वा फेरि प्रयास गर्नुहोला भनेर लेखेको हुन्छ । यो नेपालमा २०४६ सालदेखि यता हरेक चुनावमा जनताले ट्राई अगेन भन्दाभन्दै महत्वपूर्ण २६ वर्ष हामीले यसरी वर्वाद गरेका छौं कि राजनीतिको यो ट्राई अगेनले देशलाई प्रगति तर्फ होईन अधोगति तर्फ लगीराखेको कुरा छर्लङ्ग छ । त्यसो भएकोले अब तपाई र मैले राजनीतिमा “ट्राई अगेन होईन ट्राई नेक्स्ट भन्नु पर्दछ” अर्थात त्यो भएन, अब अर्को विकल्प रोजौं । २०४८ साल देखि २०७४ सालको यो २६ वर्षको बीचमा यस चोटी त गर्छ कि फेरि ट्राई गरौं भन्दै जुन पार्टीलाई जिताउन ट्राई अगेन गरीरहयौं, अब त्यो ट्राई अगेनलाई स्टप गर्नु पर्दछ । अब ट्राई नेक्स्ट अर्थात अर्को प्रयास गर्नु पर्दछ, फेरि प्रयास होईन ।
मलाई खुशी लागेको छ, सबै क्लस्टर/समुदायका साथीहरुले त्यसको शुरुवात आजको यस घोषणा सभाबाट गर्नु भयो र भन्नु भयो – अब देशको भविष्यका लागि ट्राई अगेन गर्ने पक्षमा छैनौं, ट्राई नेक्स्ट गर्छाैं भन्नु भयो र पुराना पार्टी परित्याग गरी जनमुक्तिमा समाहित हुनुभयो । उहाँहरुले जुन हिम्मत, दुरदर्शिता र परिवर्तनकारी कदम चाल्नुभयो त्यसमा पार्टीबाट कुनै पनि खाले धोका हुने छैन, व्यक्तिगत तर्फबाट र म महासचिवको नाताले केन्द्रको तर्फबाट शतप्रतिशत विश्वास दिलाउन चाहन्छु ।

२. विभेदकारीहरुको भ्रमको खेती र नकच्चरापनलाई चिनौं :
अब अलीकता व्यवहारिक कुरा गरौं । धेरै चोटी उपप्रधानमन्त्री भईसकेको मान्छे अर्थात कार्यवाहक प्रधानमन्त्री भईसकेको मान्छे, प्रधानमन्त्री बन्ने लाईनमा बसेको मान्छे रुपन्देहीको मर्चवार क्षेत्रमा भाषण गर्न पुगेका रहेछन् । यो देशै चलाईसकेको र देशको भावी प्रधानमन्त्रीको रुपमा दावी गर्ने सूर्य चिन्हवाला ती व्यक्तिले (पत्रपत्रिकाको कृपाले गर्दा हामीले त्यो पढ्न पाईयो) भनेछन् यो मर्चवार क्षेत्रमा हामीले नजितेको हुँदा यो मर्चवार क्षेत्र पछाडि परयो ।
त्यसो हो भने कुनै पार्टीको कुनै व्यक्तिले त्यस ठाउँको साँसद भएर नजादा तर त्यो पार्टीले सरकार बनाउदा समेत त्यस ठाउँको विकास हुँदैन भने कति पूर्वाग्रही ढङ्गले यो देश चलाईदो रहेछ । “हामीले नजितेको हुँदा तिमीहरु पछि परयौ” भनेर आफ्नो असलियत देखाएको छ । बिरालोले जतिसुकै कम्बल ओढेर बसेता पनि म्याउ भन्छ भने जस्तो ती सत्तामा बसेकाहरु कति विभेदकारी थिए । मर्चवारका जनताले बुझ्नु पर्छ, बुझेका पनि छन् ।
मर्चवारको कुरा एकछिनलाई थाँती राखौं । अर्थात मर्चवार क्षेत्रबाट कुनै खास पार्टीले चुनाव नजितेको कारणले त्यो ठाउँको त विकास भएन रे । अब बुटवलबाट सिद्धबाबा, दोभान झुम्सा हुँदै पोखरा सम्म पुगौं । यो बाटोमा पर्ने क्षेत्रमा कुन चाहिं पार्टीले जितेको रहेछ त ? त्यो पनि जान्न पाए हुन्थ्यो । बुटवलमा कसले जितेको रहेछ वा राजधानी काठमाडौंमा कसले जितेको रहेछ, मुग्लिन नारायणगढ क्षेत्रमा कसले जितेको रहेछ ? यी सबै क्षेत्रमा कसले सरकार बनाएको रहेछ ? आज दिउँसै रात पार्ने प्रयासमा भोलीका प्रधानमन्त्रीका दावेदार मानिएका नेता जस्ता मान्छेले त्यसरी उदाङ्गो भएर आउँछन् भने यी कथित ठूला दलका कारण नेपाली राजनीतिमा नैतिकता र इच्छाशक्ति, इमान्दारिताको अति संकट परीसक्यो भन्ने यथार्थ उजागर गर्दछ । नेपाली जनताले बडो गम्भीरताका साथ सोंच्नुस् ।

३. गठबन्धन र ध्र्रुवीकरणको चङ्गुल भ्रम हो, टाढा रहनुस् :
अर्कोतिर, अब चुनाव नजितिने भईयो भन्ने भएपछि जनतालाई फकाउनका लागि एउटा गठबन्धनको नाम बनाएका छन् – वाम गठबन्धन । यद्यपि वाम भनेको खासमा केही नयाँ कार्य गर्ने भनिएको हो तर विगत २६ वर्षको इतिहासलाई फर्केर हेर्दा सरकारमा बसेर यिनले त्यस्तो नयाँ केही गरेको देखिदैन । इतिहासलाई हेर्दा त्यो वाम गठबन्धनको सुहाउने नाम चाहिं “खाम (खाने) गठबन्धन” हो । खान पनि भोकाएको मान्छेले हाम्म तरिकाले खाए जस्तो । खासमा यो त अझै ‘हाम्म गठबन्धन’ हो । यो हाम्म गठबन्धनलाई हामीले परास्त गर्न सक्यौं भने यो देशले एउटा उन्नति प्राप्त गर्दछ । अर्कोतिर, आफूलाई वाम नभनेता पनि फेरि अर्को गठबन्धन छ, त्यस सम्बन्धमा बोल्न किन धेरै आवश्यक छैन भन्दा अरु देशमा चुनाव घोषणा भईसकेपछि राज्यमा प्राप्त पदबाट राजीनामा दिएर चुनाव हुने बेलामा सरकारमा नबसी जनताको बीचमा जान्छन् तर यहाँका लाज पचेकाहरु चुनाव घोषणा भईसकेर मत पत्र छापिने कार्य भईसक्यो, दलगत टिकट वितरण भईसक्यो र प्रचारमा लागीसके तर पनि सरकार विस्तार गर्ने प्रकृयामा लिप्त हुँदै झन ६४ जनाको मन्त्रीमण्डल बनाउन लागी पर्ने । यस्ताहरु झनै ठूला “महाहाम्म गठबन्धन” हुन् । हेर्नुस् त नैतिकता, चुनावको मुखैमा कतिपय दलका मानिसहरु बुरुक्क उफ्रेर मन्त्री हुन दगुरेर कसरी रमिता देखाए । यस्तो गरी लाजशरम पचाएर हिंडेको त मानसिक सन्तुलन गुमाएका तर यो बाटोमा हिंडेकाहरुमा पनि देखिएन । यस्ताहरुले जति पेजको घोषणा पत्र ल्याउन् न, के अर्थ छ ? जतिसुकै राम्रो कुरा फलाकोस् न, के अर्थ छ ? किनभने जो सत्तामा गईसके उसको बोली होईन उसको व्यवहार हेर्नु पर्दछ । उ राम्रो नराम्रो के हो भन्ने उसको व्यवहार हेरेर जाँचिन्छ । व्यवहारमा जाँचिनका लागि कम्तीमा थर्ड डिभिजन त आउनु परयो । मन्त्रीको नाउँमा राज्यको तलब भत्ता खाएर, पुलिस प्रशासनको सेक्यूरिटी लिएर चुनाव लड्ने ? भोट माग्न आउने ? यो भन्दा ठूलो लालची शायद संसारमा अरु त्यस्तो उदाहरण छैन । यो विकृत राजनीतिक व्यवहार पनि हो । भ्रष्टाचार हो ।
तपाई र मलाई सत्तासिनहरु र कथित ठूला दलहरुको यो दुईओटा व्यवहारले बुझ्नलाई काफी छ । तर बुझेर मात्र, नयाँ सोंच वालालाई भोट हालेर मात्र काफी छैन । बरु धेरै भन्दा धेरैलाई बुझाउन जरुरी छ र मतदाताहरुलाई जागरुक गर्न जरुरी छ । यो घोषणा सभामा उपस्थित सबैमा आव्हान गर्न चाहन्छु यो दायित्व तपाई हामी सबैको हो ।

४. छाडातन्त्रको जड केन्द्रमा छ :
राष्ट्रिय जनमुक्ति पार्टीले के गर्न चाहेको छ भन्ने बारे धेरै कुराहरु त हाम्रा आदरणीय साथीहरुबाट यहाँहरुले सुनीसक्नु भएको छ । केही छुटेका तर महत्वका कुराहरु म यहाँ राख्न चाहन्छु । जस्तो ः– सबै खालको नीतिहरुमा सबैभन्दा माथि राजनीति हुन्छ । यदि देशको राजनीति ठीक भयो सरकार ठीक हुन्छ, सरकार ठीक भए प्रशासन ठीक हुन्छ, प्रशासन ठीक भए जनताका लागि सबै खालका सुविस्ता हुन्छ । उद्योग कारखाना, व्यवसाय फस्टाउँछ, खेती किसानी फस्टाउँछन् मौलाउँछन्, शिक्षादीक्षा सबै क्षेत्रमा प्रगति हुन्छ । तर जब राजनीति बेठीक हुन्छ भने सबै कुरा बेठीक हुन्छन् र सबै भन्दा पहिला सरकार बेठीक हुन्छ । तपाईले देख्नुभएको छ, गाउँघरमा मासुको बिलो (भाग) लगाईन्छ तर यहाँ त प्रधानमन्त्री पदको पनि बिलो लगाएर यति महिना तेरो, यति महिना मेरो भनेर बिलो लगाएको देखियो । देशको सबै भन्दा माथिल्लो तहमा देशको सेवा गर्ने पदलाई मासु सरह बिलो लगाउनेहरु देश र जनता प्रति कहिल्यै पनि इमान्दार हुन सक्दैनन् । यो कुरा लेखेर/सम्झेर राख्नुस् । आजका दिनमा यो कुरा जनतालाई बुझाउन जरुरी छ ।
यस कारण नेपालको राजनीतिलाई ठीक गर्नु सबै भन्दा जरुरी कुरा हो । त्यसका लागि दुईटा काम तुरुन्त गनुपर्दछ । यो तुरुन्त गर्न पर्ने दुईटा कामका लागि जन्तर बाँधेर राख्नु होला । जब सम्म यी दुईटा काम हामी नेपाली जनताले गर्न सक्दैनौ, यो नेपाली राजनीति सधैंभरी छाडा भईरहनेछ । राजनीति छाडा हुनुको अर्थ सरकार छाडा, सरकार छाडा हुनुको अर्थ प्रशासन छाडा, प्रशासन छाडा हुनुको अर्थ हो सबैतिर छाडातन्त्र । के यो सहन सकिने परिस्थिति हो त ? अवश्य होईन ।

५. भ्रष्टाचारीलाई देशद्रोही घोषणा गर्न हामी प्रतिवद्ध छौं :
अब म नेपाली जनताले तुरुन्त गर्नु पर्ने दुईओटा कुरा बारे बोल्न चाहन्छु । त्यो के हो भने … जसले पदमा बसेर पदको दुरुपयोग गर्दछ, त्यसलाई भ्रष्टाचार भनिन्छ । चाहे कुनै व्यक्ति सरकारमा बसुन्, संसदमा बसुन् वा सेना, प्रशासन, प्रहरी कुनै पनि महत्वपूर्ण क्षेत्रको पदमा बसुन् । यदि त्यहाँ भ्रष्टाचार गर्दछ भने त्यस्तो भ्रष्टाचारीहरुलाई (अहिले भ्रष्टाचारीहरुलाई कति वर्षको सजाय छ भन्ने बारेमा बुझनु भएकै होला । तैपनि म भन्छु – जम्मा दुई वर्ष !) देशद्रोही करार गरी संविधान र कानूनमा लेखाउनै पर्दछ, संविधानमा लेख्नै पर्दछ । र, त्यस्ता देशद्रोहीलाई जन्मकैदको सजाय र देशद्रोहीको सारा सम्पत्ति राज्यले जफत गर्नु पर्दछ । यो २०७२ सालको संविधान जारी गर्ने जति ओटा पार्टीहरु छन् तिनले यस बारेमा लेख्ने बोल्नेवाला छैनन् भन्ने कुरा अहिलेको संविधान हेर्दा नै पुष्टी भईसकेको छ । यसको अर्थ के हो भन्दा यी पार्टीहरु भ्रष्टाचारीहरु÷देशद्रोहीहरु घोषित हुने खालका धेरै मान्छेहरु बोकेर हिड्ने पार्टीहरु हुन् । चोरको खुट्टा काट भन्दा आफ्नै खुट्टा फुत्त उचालेर जोगाए जस्तो गरी यिनीहरुले भ्रष्टाचारीलाई कारवाही गर्ने कडा कुरा संविधानमा लेख्न चाहेनन् । कथित ठूला राजनीतिक दलहरुलाई अब समर्थन गर्न जरुरी छैन र समर्थन गर्नै हुँदैन पनि भन्ने कुराको सबै भन्दा ठूलो प्रमाण २०७२ सालको संविधान (जसले भ्रष्टाचार बारे सदासयता देखाएको छ) भन्दा अर्को के हुन सक्छ ?
अब दोश्रो, तपाईहरु कसैले ५÷१० हजार रकम कसैसित लिंदा तमसुक गरिएको हुन्छ तर तमसुक अनुसार दिनुभएन भने त्यही तमसुकलाई देखाई रकम लिएको प्रमाण साथै रकम दिलाई पाउँ भनी पुलिस प्रशासन वा अदालतमा जान पाईन्छ तर राजनीतिक दलले तथानामको कुरा राखेर यो गर्छु त्यो गर्छु भनी जनतालाई लेखेर दिने तर चुनाव जितीसकेपछि त्यस बारेमा कुनै पनि काम नगर्ने पार्टीलाई चाहिं जनताले केही पनि नगर्ने ? अर्को चुनाव कुरेर बस्ने ? अब यस्तो हुनु हुदैन, यस्तो हुन सक्तैन । राष्ट्रिय जनमुक्ति पार्टी पहिलो पार्टी हो जसले विश्वकैे बहुदलीय राजनीतिक प्रणालीमा अब यो अंकुश लगाउने व्यवस्था ल्याउनै पर्दछ भन्ने अडान अगाडि सारेको छ । यदि कुनै दल इमान्दार छौं भनेर दावी सहित हिम्मत गर्छन् भने तिनका नेताले दस्तखत गरेर आफ्नो घोषणा पत्र जारी गरेर देखाउन् । आज जारी गरिएका तिनका घाोषणा पत्र चुनाव सकिएपछि चना चटपटे पोको पार्ने र पछि त्यत्तिकै फालिएको हुन्छ । हाम्रो राष्ट्रिय जनमुक्ति पार्टी, घर चिन्ह वाला पार्टीले लिखित दस्तखत सहितको घोषणा गरेको छ, प्रतिवद्धता जाहेर गरेको छ (जुन यहाँहरुको हातमा पनि अवश्य आउँछ) कि हाम्रा जितेर जाने जुन साँसदहरु हुनेछन् । तिनले महत्वपूर्ण ठाउँमा बसेर भ्रष्टाचार गर्नेहरुलाई देशद्रोही घोषणा गर्ने र तिनका सम्पत्ति राज्यले जफत गर्ने र तिनलाई जन्मकैदको सजाय सहित जेल हाल्ने व्यवस्थाको लागि लड्नेछन् र अब कुनै दल वा उम्मेद्वारले जनतालाई जथाभावी झुक्याउने गरेर घोषणा पत्र र प्रतिवद्धता पत्र बाँड्ने र चुनाव जितीसकेपछि त्यसको कुनै कार्यान्वयन नगर्ने गरेमा अब ठगीको विरुद्ध त्यस्ता ठग दल र उम्मेद्वारको विरुद्ध घोषणा पत्रकै आधारमा त्यसलाई प्रमाण मानेर तिनका विरुद्ध अदालतमा ठगी मुद्दा चलाउने व्यवस्था हामी गर्न चाहन्छौं । त्यो हामी पक्कै गर्नेछौं पनि ।
यस्ता कुरा एमालेको नेतृत्वले, काँग्रेसको नेतृत्वले, माओवादी नेतृत्वले लेखेर दिउन् त, हामी तिनलाई भोट हाल्छौं । उनीहरुका लागि हामी भोट मागीदिन्छौं ।
आज यो खालको, नयाँ सिस्टम बारे हामीले किन वकालत गर्दैछौं त ? यस बारेमा मैले एउटा उदाहरण प्रस्तुत गर्न चाहन्छु ।
हामीले देखेका छौं कि – कुनै छाडा हात्तीलाई नियन्त्रण गर्न बन्दुकले हानेर हुँदैन, सिक्रीले बाँधेर पनि हुँदैन, जालले छोपेर पनि हुँदैन, डोरी दाम्लो जे ले बाँधेर पनि हुँदैन । तर एउटा सानो बञ्चरो (फर्सां) लिएर त्यसको गर्दनमा बसी त्यसको तालुमा ट्वाक्क हानेपछि मात्र त्यो नियन्त्रमा आउँछ । अर्थात नियन्त्रणको लागि शर्त छ, मर्ममा प्रहार गरिनु पर्दछ ।
यहाँका छाडा सत्ताधारीहरुलाई नियन्त्रण गर्नलाई माथि बताईएको दुइटा कानून बन्यो भने छाडा हात्तीको गर्दनमा बसेर त्यसको तालुमा फर्साले हाने जस्तो हुन्छ र आज हुँक्का गरेर हिंड्ने यिनीहरु जनताको अगाडि क्वाँ गरेर लम्पसार पर्नेछन् । यसका लागि हामी सबै लड्नु पर्दछ । लड्नु एकदम आवश्यक छ ।
हाम्रो पार्टीले सरकार बनाएको अवस्थामा यी ज्वलन्त विषयको लागि कानूनी व्यवस्था अविलम्ब गर्नेछ । यदि प्रतिपक्षमा बस्नु परयो भने पनि त्यसैका लागि हामी सरकार र संसदमा लड्नेछौं । त्यहाँ लडेर पुगेन भने यही सडकमा आएर लड्नेछौं । हामी प्रतिवद्ध भएर अवश्य लड्नेछौं ।

६. देशलाई बलियो राजनीतिक इच्छा शक्ति र नैतिकता भएको शासक चाहिएको छ :
राजनीतिक रुपमा अनुशासन, इमान्दारिता र नैतिकता नहुने हो भने देश कस्तो हुन्छ ? अहिलेको नेपाल हेरे पुग्छ । त्यसलाई सच्याउने शुरुवात केन्द्रबाट गरिनु पर्दछ । र, यो विशिष्ट दायित्वलाई पुरा गर्ने अवसर अहिले जनताको हातमा आएको छ । निर्वाचनको रुपमा त्यो अवसर जनताको हातमा आएको छ । हामीले त्यसको भरपुर सदुपयोग गर्नु पर्दछ । यो २६ वर्षमा २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा कति राष्ट्रिय चुनाव भए, तर हामीले बहुदलीय मर्म किन बुझेनौं ? सत्ता सञ्चालनमा असफल हुनुका बावजुद किन उही र एकाध राजनीतिक दललाई मात्र आलोपालो सत्ताको साँचो दिईरहयौं ? किन अलिक फरक विकल्प हेर्ने हिम्मत गरेनौं ?
जबकि एउटै कुरा खाईराख्दा हामीलाई बोर लाग्छ । जुनसुकै चाडमा पनि एउटै लुगा लगाउन हामीलाई बोर (झ्याउ) लाग्दछ । एकै ठाउँ बसीराख्दा बोर लाग्दछ । तर देशलाई गति दिन असफल पार्टीहरुलाई घरीघरी भोट हालीरहदा हामीलाई किन बोर नलागेको ? अब त एक जना गायकले गीत गाएका छन् नि ….. क्या बोर भो भनेर । अब जनताले गीत गाउनु … सूर्यमा भोट दिंदादिंदा क्या बोर भो, रुखमा भोट हाल्दा हाल्दा क्या बोर भो ? हँसिया हथ्यौडामा भोट हाल्दा हाल्दा अब बोर भो । हलो र गाई चिन्हमा भोट हाल्दा हाल्दा बोर भो । यो गीत नगाउने हो भने, यसको मर्म नबुझ्ने हो भने हाम्रा भावी नेपाली सन्ततीको भविष्य महाबोर हुने छ, पक्कै पनि ।
यहाँ चुनाव जितीरहेकाहरुको राजनीतिक नैतिकता र दाियत्वबोध कस्तो रहेछ भन्ने जानकारीका लागि एउटा प्रसंग उठाउन चाहन्छु ।
नेपालमा पासपोर्ट लिएका नेपाली महिलाहरु साढे सात लाख जति भएको बताईन्छ । विदेशतिर गएका डेढ लाख जति बताईन्छ । मानौ एक लाख जति विदेश पनि नजाने अर्थात मात्र घुमफिरमा जाने भएछन् । २०६३ सालदेखि २०७३ सालको बीचमा विदेश जान भनेर ५ हजार, १० हजार, १५ हजार रुपैंया तिरेर पासपोर्ट बनाएका र विदेश जाने पाँच लाख नेपाली महिला कुन देशमा कति संख्यामा छन्, कहिले गए, कहिले आए, कुन अवस्थामा छन्, सरकारसंग कुनै लेखाजोखा छैन । चुनाव जितेर जानेहरु, सरकारमा बस्नेलाई थाहा छैन ।
अब नागरिकहरुले सत्ताधारीसंग सोध्ने बेला भयो कि विदेश जान भनेर पासपोर्ट लिएका ती महिलाहरु आज कहाँ छन् ? कुन अवस्थामा छन् ? केही समय अगाडि (कात्तिक २९ गते विघटन भएको) संसदले भन्यो — त्यस्ता धेरै महिला घरेलु कामदारको रुपमा पठाउन बर्जित गरिएको खाडी मूलुकमा नै छन्, ओमन, बहराईनमा नै छन्, र ज्यादै दुःख जेल्दै, शोषण भोगेर बस्न बाध्य बनाईएका छन् । यो कुरा संसदीय टोलीको प्रतिवेदनमै लेखिएको छ जसका संयोजक साँसद प्रभु शाह हुनुहुन्थ्यो । त्यो टोलीले खाडी मूलुकमा गएर छानविन गरेर आए पश्चात् गत चैत्रमा एक अध्ययन प्रतिवेदन बुझाएको छ । यी कुराहरु संसदीय अध्ययन प्रतिवेदनमा नै भनिएको छ – ‘त्यहाँ नेपाली महिलाहरुलाई अवैधानिक रुपमा लगिएर खसीबोका जस्तै बिक्री वितरण गरिएको छ ।’ मिडियामा नै आईसकेको छ कि ती देशहरुमा हाम्रा नेपाली चेलीहरुलाई प्रति व्यक्ति ४ लाख, ५ लाख लिएर त्यहा नेपाली महिलाको किनबेच भएको छ । यो हो देशको यथार्थ, सत्ताधारीहरुको असलियत । साँकेतिक रुपमा मात्र औंल्याउदा पनि मूलुकसित सम्बन्धित यो भयावह चित्रण हाम्रो अगाडि छ ।
विचारणीय कुरा यो छ कि यस्तो घट्ना हिंजो आजको मात्र होईन । यो त विगत २०६३ सालदेखि यता अहिले सम्म चलेको कुरा हो, २०६३ सालदेखि यता अहिले सम्म । यो ११ वर्षभित्र चलेको भयावह यथार्थ छ, अब यो ११ वर्षभित्र को को प्रधानमन्त्री भए हिसाब माग्नुस् । यो ११ वर्षमा कुनकुन पार्टीले सरकार चलाए, हिसाब माग्नुस् । त्यो समय अब आएको छ । गैर जिम्मेवार, नैतिकहिन र राजनीतिक इच्छा शक्ति नभएका असफल दल र तिनका प्रतिनिधिलाई जनताले परास्त गर्नै पर्ने अवस्था आएको छ ।
यहाँनिर म एउटा उदाहरण पेश गर्न चाहन्छु कि जनताको मत लिएकाहरु कस्ता हुनु पर्दछ भनेर । १९९० सालमा सानो खाडी देश कुवेतमाथि इराकले सैनिक कारवाही गरयो । यो सैनिक हमला गर्दा त्यहाँ लडाई भएपछि हिन्दूस्थान/भारत छोडेर गएका, उतै कुवेतको स्थायी बासिन्दा भईसकेका साथै उतै घरजम गरेर रमाईराखेका तर पूर्व थलो चाहिं भारत भएकाहरुले भारत सरकारलाई भने – हामीलाई बचाऊ । हो, तिनीहरुले धेरैपछि आपत विपतमा आफ्ना पितृभूमिलाई सम्झे, त्यहाँका शासकलाई गुहारे ।
जब सम्म त्यहाँ आपत थिएन, सुख, शान्ति, अमञ्चयन थियो, कसेैले आफ्नो भूतपूर्व देश सम्झिएका थिएनन् । तर युद्ध भईसकेपछि हामीलाई बचाऊ भारत सरकार भनेर तिनीहरुले गुहारे । अब भारत र कुवेतको दुरी त नजिक छैन भन्नेमा सबैलाई जानकारी नै छ । १ लाख ७० हजार ती भारतीय मान्छे जो कुवेतको स्थायी बासिन्दा भईसकेका थिए, उनीहरु प्रति कुण्ठा राखिएन बरु भारत सरकारले निरन्तर जहाज पठाई उनीहरुलाई भारत ल्यायो, सकुशल उद्दार गरयो । उसले आप्mनो नागरिक होईन, आफ्ना पुर्खा नागरिकका जो सन्तान थिए तिनलाई पनि यसरी उद्दार गरयो । जबकि भारत त्यतिबेला आज जस्तो धनी र सवल देश भईसकेको थिएन १९९० सालमा । सत्ता सञ्चालक भनेको त त्यस्तो हुनु पर्छ । हाम्रै दक्षिणी छिमेकी देशको ज्वलन्त उदाहरण हो यो ।
तर आज त यहाँको सरकारले पार्सपोर्ट बनाएर बाहिर जान दिएको छ । सरकारको संयन्त्रले त्रिभुवन विमानस्थलबाट उडाएर पठाएको छ । तर समस्यामा परेपछि तिनलाई उद्दार नगर्ने, उद्दार गर्छु नभन्ने ? त्यसरी गैरजिम्मेवारीको हद कायम गर्नेलाई तपाईले कठघर्रामा नउभ्याउने ? त्यस्तालाई जेलको चिसो छिंडीमा तपाईले बन्द नगर्ने ? त्यसको लागि तपाईमा राजनीतिक इच्छा शक्ति नचाहिने ? हामीले भन्छौं, यस्ता मानव तस्कर चाहे सरकारको कुनै पदमा बसेको किन नहोस्, प्रशासनको जुनै पदमा बसेको किन नहोस्, पुष्टी भएको दिन हाम्रो पार्टी (राष्ट्रिय जनमुक्ति पार्टी) ले विधि सम्मत ढङ्गले यिनलाई जेल हाल्नेछ । यो हाम्रो प्रतिबद्धता हो ।

७. हामी कृषि र घरेलु उद्योगलाई सम्बृद्ध बनाउनेछौं :
हामी अपील गर्न चाहन्छौं कि अहिलेको बेला सबै थप जागरुक हुनुस् । एउटा भोटको यो कुरा हैन, यो जनतालाई जागरुक गराउने कुरा हो । तपाई र मैले मात्र बुझेर मात्र पनि हुँदैन, अरुलाई पनि बुझाउनै पर्ने भएको छ । तपाई हामी एउटा मन परेको गीतलाइ सधैं सुनि रहन्छौं, अर्काको अगाडि पनि गुनगुनाउछौं भने मन परेको राजनीतिक मुद्दा अरुलाई किन नसुनाउने ? अरुलाई किन नबुझाउने ? यो कुरा हामीले, सबै सचेत नेपालीहरुले महशुस गर्नै पर्ने भएको छ ।
हामीले अहिले यो प्रदेशलाई वा हाम्रो सिंगै देशलाई कृषि क्षेत्रमा आत्मनिर्भर मात्र होईन निर्यात गर्न सक्ने हैसियतमा पुरयाउँछौं भनेर हामीले प्रतिबद्धता जनाएका छौं । तपाई हामीलाई थाहा भएकै हुनु पर्छ कि भारतबाट मात्रै महिनामा करोडौंको त तरकारी मात्रै नेपाल आउँछ । जबकि हामीले यहाँको जनतालाई कृषिमा सही किसिमले सहयोग गरयौ भने करोडौंको तरकारी दक्षिणतिरबाट आउने होईन महिनामा अर्बाैंको तरकारी हामीले भारत र खाडी मूलुकहरुमा निर्यात गरेर कमाई गर्न सक्छौं । तर किसानलाई तपाईले उचित किसिमबाट संरक्षण दिनु पर्दछ । तर आज सम्म किसानलाई संरक्षण गर्ने, कुटीर उद्योगलाई प्रोत्साहित गर्ने, आफ्नै देशमा पाईने कच्चा पदार्थमा आधारित कलकारखानाको विकास गर्ने के नीति बन्यो त ?, के काम राज्यको तर्फबाट भए/गरिए त ? गम्भीर चिन्ता र चासोको विषय बन्नै पर्छ ।
हामीले भनेका छौं – जो किसान छन्, जो घरेलु उद्योग/कुटीर उद्योग चलाउने छन्, तिनीहरुले व्यवसाय गर्दा लिएको रकम तिर्न सकिएन, कृषि कर्म गर्दा घाटा खायो अर्थात ऋण तिर्न सकिएन भने यस्ता मेहनती किसानहरुलाई र कुटीर उद्योगी व्यवसायीहरुलाई लागेको ऋण तुरुन्त मिनाहा गर्नेछौं । इमान्दार कर्म गर्दागर्दै पनि खेती किसानी र घरेलु उद्योग चलाउँदा तपाई डुब्नु भयो भने राष्ट्रिय जनमुक्ति पार्टीले लिखित वाचा गरेको छ कि तपाईलाई ऋणमुक्त गराउनेछौं र तपाईलाई जनमुक्ति सरकारले सक्षम पनि बनाउनेछ । आज कुनै पार्टी जो सरकारमा गएको छ उसले यस्ता सवालहरु बारे प्रतिबद्धता दिन सक्छ ? उनीहरुको व्यवहार/शासनले नै भन्छ कि उनीहरुको चासो र प्राथमिकता अनि क्षमता भन्दा बाहिरको कुरा हो । विगत २६ वर्षको अनुभवले यो सावित गरीसकेको छ । म फेरि भन्न चाहन्छु – सरकारमा बसीसकेकाहरु, सत्ता सञ्चालक भईसकेकाहरुलाई नागरिकले अब जाँच्ने–परख्ने भनेको तिनको घोषणा पत्र र कुराबाट होईन, तिनको व्यवहार र कार्यशैलीबाट हो । विचार गर्नुहोस् ।

८. त्रिपक्षीय साझेदारीमा आधारित अर्थनीति चाहिएको छ :-
यहाँ केही ठूला भनिएका पार्टीहरुको गठबन्धनले ल्याएको घोषणा पत्रका कुराहरुमा एउटा कुरा के भन्ने सुनियो भने खास यति बर्षमा नेपाललाई भारत जस्तो वा चाईना जस्तो बनाउँछु, अझै एउटा ठूलो पार्टीले यसो पनि लेखेको रहेछ – उसले १० वर्षमा नेपाललाई भारत जत्तिको धनी बनाउछ रे, १५ वर्षमा त चीन जत्तिकै धनी बनाउँछ रे ।
तर हामीले बुझ्नु पर्ने कुरा यो कुरा छ कि भारत आजको अवस्था सम्म आईपुग्नका लागि उसले सबै भन्दा पहिले बढी भन्दा बढी कारखाना खोल्यो, देशलाई तिब्र औद्योगीकरणमा लग्यो । तब न भारत आज यहाँ सम्म आईपुगेको छ । अब तपाई भन्नुस् – २६ वर्षको समय सम्म कुन सरकारले नेपालमा ठूलो कारखाना खोल्यो ? कहाँ नयाँ औद्योगिक क्षेत्रहरु बनाईयो त ? यसको जवाफ हो – शून्य । अब त्यस्ता कारखाना खोले पो भन्नु ? औद्योगिक क्षेत्र खुले पो भन्नु । बरु कसले कुन कारखाना बन्द गरयो भनी भन्न सकिन्छ । बरु मित्र राष्ट्रहरुले खोलीदिएको कुन कुन कारखाना कसले, कुन दलको सरकारले बेचेर खायो भनी भन्न चाहिं सकिन्छ । हेटौंडाबाट काठमाडौं चल्ने रोपवे कसले बन्द गरयो भनी भन्न सकिन्छ । काठमाडौंमा चल्ने विद्युतीय ट्रली बस कसले बन्द गरयो भनेर पनि भन्न सकिन्छ । आउने पुस्तालाई यस बारे सूचित गर्नु हरेक नागरिकको दायित्व हो । जहाँ सम्म राष्ट्रिय जनमुक्ति पार्टीको कुरा छ – हामी प्रष्ट पार्न चाहन्छौं कि सम्पूर्ण रुपले राज्यले वा सम्पूर्ण रुपमा नीजि क्षेत्रलाई अर्थतन्त्रको मियो बनाएर देश अगाडि बढ्न सक्दैन । प्रजातन्त्रको पुर्नवहाली भएको २७ वर्ष र देशले गणतन्त्रमा प्रवेश गरेको ९ वर्षको अवधीमा पनि देशमा कुनै ठूला उद्योग कारखाना वा औद्योगिक क्षेत्रको स्थापना र विस्तार नहुनु त्यसको प्रमाण हो । ४० लाख युवा वैदेशिक रोजगारीमा जान बाध्य हुनु त्यसैको अर्को उदाहरण हो । त्यसैले अबको अर्थ नीति भनेको राज्य, नीजि क्षेत्र र समुदाय (जनता) को बराबरी हिस्सेदारी/लगानी रहने त्रिपक्षीय साझेदारीमा आधारित अर्थनीतिलाई कार्यान्वयन गर्नु नै हो । हामी घोषणा गर्न चाहन्छौं कि देशका महत्वपूर्ण र ठूला उद्योग–परियोजनाहरुमा यो मोडेलको लगानी नीति सुनिश्चित गरिनेछ, कार्यान्वयन गरिनेछ ।

९. कुराले होईन कार्यले मात्र भविष्य सप्रिनेछ :-
चीनमा पुनः चिनीया कम्यूनिष्ट पार्टीका महासचिव (मुख्य नेता) एवं राष्ट्रपति भएका सी जिनपिङले अघिल्लो पाँच वर्षमा के गरे र उनले अहिले के भनेका छन् भन्ने बारे कति जानकार हुनुहुन्छ ? उनले हालै सम्पन्न पार्टीको १९औं महाधिवेशनमा भनेका छन् – जो मानिस हाम्रो पार्टीको सदस्य हुन चाहन्छ उसले धनी हुने सपना नदेख्नु, राजनीतिमा लागेर पैसा कमाउने सपना नदेख्नु । म धनी हुन्छु, म पैसा कमाउँछु भन्नेहरुले हाम्रो पार्टीको सदस्य पनि हुन नखोज्नु । यदि त्यस्तो सोंच भएकाहरु पार्टीमा हुनुहुन्छ भने कि त्यस्तो सपना छोड्नु या त हाम्रो पार्टीको सदस्यता छोड्नु ।
नेपालमा सत्ता सञ्चालन गरेका कुन चाहिं दलले, तिनका शिर्ष नेतृत्वले आधिकारिक रुपमा यस्तो भनेको छ ? अथवा अहिलेको निर्वाचनमा आफुलाई सत्ता सञ्चालनको दावेदार भनी प्रस्तुत भईरहेका कुन चाहिं दल वा गठबन्धनले यस्तो प्रतिवद्धता व्यक्त गर्न सक्छ ? कदापि सक्दैन । गुण्डा नाईके कहलिएकाहरु, भ्रष्टाचारमा आरोपित र सजाय पाएकाहरु, निर्वाचनमा बढी भन्दा बढी आर्थिक खर्च गर्न सक्ने र पार्टीलाई अपारदर्शी चन्दा प्रदान गर्ने जस्ता पात्रहरुलाई उम्मेद्वार बनाउन कत्ति पनि लाज शरम नमान्नेहरुले कसरी भन्न सक्छ यस्ता कुराहरु ?
तपाईंलाई कति हेक्का छ ? यो स्थानीय तहको निर्वाचनमा कथित ठूला पार्टीबाट जित्नेहरुमा, विभिन्न नगरपालिका र गाउँपालिकामा जित्ने प्रतिनिधिमा थुप्रै संख्यामा राजनीति वा समाजसेवामा समर्पित, सादा जीवन उच्च विचारलाई मान्ने आधिकारिक कार्यकर्ता वा समर्थकहरु भन्दा बढी आर्थिक कृयाकलापमा लिप्त, राजनीति र समाजसेवामा खासै जिम्मेवारी बोध नभएका व्यक्तिहरुलाई उम्मेद्वार बनाएको, जिताएको ताजा अनुभव छ । कुनै पेशा आफैमा नराम्रो नहोला, नराम्रो भनिएको पनि होईन । तर आफूलाई कम्यूनिष्ट भन्नेहरुले, आफूलाई राष्ट्रसेवक भन्नेहरुले र नेपाललाई अबको १५ वर्षमा चीन जस्तो बनाउँछु भन्नेहरुले के चीनको राष्ट्रपतिले आफ्नो पार्टीको सदस्यलाई लोभ नगर, लोभी नबन, जो पैसा कमाउन आशक्त छ, त्यस्ताले हाम्रो पार्टीमा कार्यकर्ता नबन भनेर भन्न सक्छ ? आज यो प्रश्न महत्वका साथ उठाईनु पर्दछ ।
अरुको विकास र प्रगति हेरेर रोमाञ्चित हुनु अलग कुरा हो, तर त्यसको अनुकरण गर्नु बेग्लै पाटो हो । हाम्रो उत्तरी छिमेकी चीन आज त्यसै वर्तमान स्थितिमा आईपुगेको होईन । त्यहाँका वर्तमान राष्ट्रपतिले मात्रै आफ्नै देशमा भ्रष्टाचार गर्ने पार्टीका नेता, कार्यकर्ता, शासक प्रशासकहरु, उद्योगी व्यापारीहरु सबै गरेर ५ वर्षमा १० लाख भ्रष्टाचारीलाई जेल हालेका छन्, चीनको सरकारले त्यस्ताहरुलाई सजाय करार गरेको छ । यहाँ चाहिं यो देशलाई धनी बनाउँछु, सम्वृद्ध बनाउँछु भन्ने कुन चाहिं पार्टीले भ्रष्टाचार गरेको आरोपमा आफ्नो कुन चाहिं नेता÷कार्यकर्ता÷सदस्यलाई बर्खास्त गरेको छ ? जेल हालेको वा कानूनी दायरामा ल्याउन पहल गरेको छ ? जेल हाल्ने कुरा छोड्नुस्, प्रहरीले समातेर लगेको छ भने चक्का जाम गरेर अहिल्यै छोडीहाल् भन्छ । सत्ता सञ्चालकहरुको यस्तो गरी आएको जनताले देख्दै व्यहोर्दै पनि आएका छन् ।
मूलुकको यस्तो परिस्थिति भएको हुँदा तपाई हामी सबै जना मानसिक रुपमा तयार हुनै पर्छ, राजनीतिक रुपमा नै तयार हुनु पर्छ, अब ठोस र अग्रगामी परिवर्तनका लागि अनि अनुशासित र व्यवस्थित शासन व्यवस्था स्थापित गर्नका लागि लड्न तयार हुनु पर्छ । अहिलेको निर्वाचनको माहोलमा हामीले यही मर्मलाई आत्मसात गर्न अनिवार्य भईसकेको छ ।

१०. हाम्रा सम्वृद्धिका आधार हामीसंगै छ, हामी विश्वस्त हुनु पर्दछ :-
आफ्नो सम्पदाको राज्यले कसरी सम्मान गर्छ भन्ने कुराबाट सत्ताधारीहरुको चिन्तन र मनोविज्ञान बुझ्न सकिन्छ । उदाहरणका लागि लेबनान र इजरायल भन्ने देश सधियार छन् । दुवै छिमेकी हुन् तर सधैं लडीरहन्छन् । लड्ने पनि मुक्काले होईन, यताबाट गोली गयो भने उताबाट ग्रिनेड आउँछ । यताबाट ग्रिनेड गयो भने उताबाट मिसाईल आउँछ, त्यस्तो लडाई हुन्छ ।
लेबनान र इजरायलको सिमानामा एउटा पोखरी (कुवा) छ जसको केही भाग लेबनानतिर पर्छ र केही भाग इजरायलतिर पर्छ । त्यही एउटा कुवाको लागि बर्षौंदेखि ती दुई देशहरु लडीरहेका छन् । तपाईले भन्नुहोला त्यहाँ तेल, ग्याँस वा हिरा जवाहरत वा यूरेनियमको खानी केही छ कि ?, … होईन । खाली रित्तो कुवा छ तैपनि लडीरहन्छन् । कारण किन त ?
इजरायल भन्छ, यो कुवा हाम्रो पुर्खाले पानी खाएको कुवा हो । यता लेबनानीले भन्छन्, त्यस्तो होईन, यो कुवा हाम्रो पुर्खाले पानी खाको कुवा हो हामीसंग रहनु पर्दछ । आज कुनै काम नलाग्ने अवस्थामा रहेको ‘थोत्रे कुवा’ लाई यतिका महत्व दिनुको कारण त्यो हाम्रो पुर्खाले पानी खाएको कुवा गौरवशाली सम्पदा हो भनी त्यसको स्वामित्व र संरक्षणका लागि उनीहरु ज्यान फालेर बरु लड्न तयार छन्, लडीरहेका पनि छन् । आफ्नो पूर्वजको नासो र सम्पदा प्रतिको एक खालको जिम्मेवारी बोधको यो एउटा उदाहरण भएको छ ।
तर यहाँ हेर्नुस् त, तिनाउ (बुटवल) को कुनामा … दुई सय वर्ष अगाडि संसारलाई शासन गर्ने ब्रिटीशलाई धुलो चटाएको ठाउँ हो जीतगढी । नेपाली माथि विदेशी हस्तक्षेप हुँदा यही तिनाउँको तीरमा भएको ठाउँबाट कर्णेल उजिर ंिसंह थापाको नेतृत्वमा नेपालीहरुले विदेशी शत्रुलाई परास्त गरेर यो नेपाल जोगाएको ठाउँ हो जीतगढी । तर यो विषयमा आज नेपाली राज्यसत्ता कति संवेदनशिल छ त ? विश्वकै पर्यटनको केन्द्र बन्न सक्ने हाम्रो त्यो जीतगढीमा हेर्न कतिजना बाहय तथा आन्तरिक पर्यटक आउँछन् त ?, ल भन्नुहोस् त । यो कुरा अहिले सम्म चुनाव जित्दै आएका, सरकार बनाउँदै आएका दलहरुलाई, तिनका नेतृत्वहरुलाई थाहा थियो कि थिएन ? यदि थाहा थियो भने राज्यले यो र यस्ता कैयन सम्पदाहरुलाई पूँजीकरण गर्न के चाहिं नीति र कार्यक्रम ल्यायो त ?
शायद, माल पाएर पनि चाल नपाउने भनेको यही हो । गतिलो माल पाएर पनि चाल नपाउने यस्ता हुस्सुहरुलाई हामीले सत्ता (सरकार चलाउने अधिकार) दिएका छौं ।
राष्ट्रिय चेत नभएकाहरु जब सत्तामा जान्छन् तपाईं र मैले सधैं दुःख पाउनु पर्ने हुन्छ । यस अर्थमा मैले यो ऐतिहासिक क्षण र गौरवको कुरालाई स्मरण गरेको हुँँ । यस्ता कैयन नेपाली गौरवका पक्षहरु नेपालमा छन् । यही माथि तिनाउको छेउँमा जहाँ रामापिथेकस पार्क छ, एक करोड दश लाख वर्ष पुरानो वा वाँदरको अवस्थामा भएको मान्छेको बाङ्ग्रा भेट्टिएको ठाउँ हो । एक करोड दश लाख वर्ष पहिले जन्मेको आदि मानवको बाङ्ग्रा भेट्टिएको ठाउँ हो त्यो । तर हेर्नुस् त, बाटो यस्तो छ त्यता जाँदा आफ्नै बाङ्ग्रा खस्ने खतरा छ । यस्तो परिस्थिति बर्करार रहिरहन दिने पनि असल शासक हुन्छन् ? राष्ट्रवादी हुन्छन् ? नीति निर्माता भनेका यस्ता हुस्सु हुन्छन् त ? अब जनतालाई रङगीचङ्गी कुरा गरेर रनभुल्ल बनाउने होईन कि, ठोस मार्गचित्र र इमान्दार शासन दिने युगको शुरुवात गर्नै पर्छ । यस बारेमा गम्भीर चिन्तन, बहस र अन्तरकृया गरौं । किनभने यी सबै कुराहरु हाम्रा सन्ततीको भविष्यसंग समेत गाँसिएको छ ।

११. देशलाई नयां युग तर्फं डोरयाउने बेला आएको छ :
अब थोरै कुरा राष्ट्रसेवक/कर्मचारीहरुको विषयमा जोड्न चाहन्छु । कर्मचारी भन्नाले सेना, प्रहरी सबै सेवानिवृत्त (रिटायर्ड) का लागि समेत भन्दैछु । यो देश यसरी गईराखेको छ कि अब दश वर्ष पछि जति पनि कर्मचारी छन्, पेन्सन निस्कने बेलामा तिनले पेन्सन खान नपाउने अवस्था आउँदैछ । अहिले खाईराखेको पेन्सन पनि बन्द हुने अवस्था आउँदैछ । देशको अर्थ व्यवस्था त्यस्तो भयावह अवस्था तर्फ जाँदैछ, सरकारको श्रोत त्यसरी सुकीराखेको छ । विदेशी दाताले जुन दिन ऋण दिंदैन भन्छ, त्यो दिनदेखि हाम्रा सारा कर्मचारीको तलब भत्ता बन्द हुने अवस्था आउनेछ । टाढाको कुरा नगरौं, आउने दश वर्षमा यो स्थिति आउँदैछ भनेर अर्थशास्त्रीहरुले भनीसके । बहालवाला र रिटायर्ड कर्मचारीहरुले गम्भीर भएर सोंच्ने बेला आईसक्यो । ऋण अनुदानमा देश चलाउन खोज्ने दरिद्र र मगन्ते मानसिकता बोकेका राजनीतिक दल र तिनका नेतृत्वलाई हालीमुहाली गर्नबाट रोक्ने समय आईसक्यो । विचार गरियोस् । छलफल गरियोस् । हामी यो पनि भन्छौं कि जुन पार्टीले २६ वर्षदेखि शान्तिपूर्ण राजनीतिक साधना गरेको छ, त्यो पार्टीलाई राजनीतिक रुपमा सघाउने, अथवा परिक्षण गर्ने समय आएको छ । हामीलाई आफ्नो प्रतिवद्धता कार्यान्वयन गरेर व्यवहारमा सावित गर्न अवसर प्रदान गर्नुहोस् । हामी सबै नेपाली नागरिकहरुलाई अपील गर्न चाहन्छौं ।

आदरणीय जनसमुदाय,
विगतका चुनावहरुमा गाउँ शहर सबैतिर यो चोटी तिम्रो पार्टीले जित्दैन, यस पटक हाम्रो पार्टीलाई भोट दिनुस् अर्को पटक पक्कै तपाईको जनमुक्तिको चुनाव चिन्ह घरमा भोट हाल्ने हो भनेर भ्रम फैलाउने गरिएको हामीलाई थाहा छ । हामी प्रति आस्थावान भोटरहरुलाई त्यस्तो पालोपैंचोको आश्वासनमा २०४८ सालदेखि आज सम्म झुक्याउने चालबाजी चली आएको छ । अब त्यो चालबाजी गर्नेहरुले घर चिन्हलाई साँच्चै, इमान्दारिताका साथ पैंचो फर्काउने बेला आएको छ । २०४८ सालदेखि लगेको यो घर चिन्हको भोट यो रुख वाला, सूर्य वाला, हसिया हथौडा वाला, गाई र हलो वालाहरुले यो २०७४ सालमा फर्काउनु पर्दछ, हामीलाई जसरी पनि फर्काउनु पर्छ । आखिर ऐंचोपैंचो त चल्नै परयो नि, होईन र ?
राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट केन्द्र र सातै प्रदेशमा हाम्रा उम्मेद्वारहरु हुनुहुन्छ । उहाँहरु यो राष्ट्रिय जनमुक्ति पार्टी र जनताको बीचको दूत/सेतु/प्रतिनिधि हुनुहुन्छ । उहाँहरुको पूर्ण सफलताको कामना गर्दछु । जनताको साथ हुनेछ, चेतनशिल, हरेक जाति, समुदाय, वर्ग, लिङ्ग, हरेक तह र तप्काका नेपालीको साथ हुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु । भ्रष्टाचारको अन्त्य, सबै खाले विभेदको अन्त्य र सम्वृद्ध नेपाल निर्माणको सुनिश्चित्ताको लागि, त्यो पनि १५ वर्ष/२० वर्षमा होईन, यही ५ वर्ष भित्रै उदाहरण पेश गर्ने राजनीतिक अठोट र प्रतिवद्धता राष्ट्रिय जनमुक्ति पार्टी उद्घोष गर्दछ । यो सन्देश लिएर गाउँगाउँमा जाऔं, शहर, गल्ली, टोलटोल, घरघरमा जाऔं । यो घर चिन्ह वाला पार्टी, २६ वर्षदेखि लोकतान्त्रिक मूल्य र मान्यतामा रहेर, राष्ट्रवादी मूल्य र मान्यतामा रहेर राजनीतिक तपस्या गरी अगाडि बढीरहेको राष्ट्रिय जनमुक्ति पार्टीलाई, चुनाव चिन्ह घरका वाहक (उम्मेद्वार) लाई सहयोग गरौं । हाम्रो विवेक, हिम्मत र राजनीतिक ईच्छा शक्तिबाट देशलाई अग्रगमन र सम्बृद्धिको नयाँ युग तर्फ डोरयाउने समय र अवसर आएको छ । त्यसलाई राम्रोसंग चिनौं । नयाँ युगको साँचो तपाई हाम्रै हातमा छ । धन्यवाद ।

(समाप्त)

(प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन २०७४ का लागि पार्टीद्वारा सञ्चालित “राष्ट्रिय निर्वाचन प्रचार महाअभियान” का संयोजक रहनु भएका पार्टी महासचिव केशव सूर्यवंशी ज्यूले मांसेबुङ्ग–इलाम (२०७४ कात्तिक ११ गते), बुटवल–रुपन्देही (मिति २०७४ कात्तिक १४ गते) र पाटन–ललितपुर (२०७४ मंसिर १ गते) मा सम्बोधनको क्रममा व्यक्त गर्नु भएको मन्तव्यलाई ‘जनमुक्ति एकाडेमी’को तर्फबाट संश्लेषण र सम्पादन गरी यो सामाग्री तयार गरिएको हो । सामाग्रीको मूल आधार भने बुटवलको सम्बोधनलाई लिईएको छ ।)