– मोजिव अलि ( केन्द्रिय सचिव: राजामुपा तथा महासचिव: नेरामुप) आफ्नो बिद्यार्थी जीवनकालमै राजनीतिमा होमिनु भएका, स्ववियू अध्यक्ष (भैरहवा बहुमुखी क्याम्पस) हुँदै कम्युनिस्ट राजनीतिमा संलग्न मोजिव अलि विगत ५वर्ष देखि भने वैकल्पिक राजनीतिक धार बोकेको राष्ट्रिय जनमुक्ति पार्टीमा आबद्ध हुनुहुन्छ। हाल, सो पार्टीको केन्द्रीय सचिव तथा पार्टी सम्बद्ध नेपाल राष्ट्रिय मुस्लिम परिषद्को महासचिव समेत हुनुहुन्छ। आफ्नो राजनीतिक जीवन, अनुभव र कार्यभार बारे janamukti. org को न्यूज ब्यूरोले गरेको वार्तालापको मूख्य अंश यहाँ प्रस्तुत गरिएको छ।)
तपाईंको राजनीतिक जीवन कहिले अनि कसरी प्रारम्भ भो?
मेरो राजनैतिक जीवनको सुरुवात बि.स. 2057 साल तिर SLC परिक्षा दिने तय्यारी गर्दाको बखत तत्कालीन माओवादी जनयुद्धकालमा समाजका सामन्तवादीहरु तथा शैक्षिक माफियाहरु बिरुद्ध चलाईएका विशेष जनकारबाही अभियानले गर्दा राजनितीमा आउन प्रेरित गर्यो, फलस्वरुप तत्कालीन नेकपा (माओवादी) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा आवद्ध भई उच्च जोखिम मोल्दै सावधानीपुर्वक भुमिगत तवरबाट पार्टीको गतिविधि संगसंगै SLC परिक्षामा समेत सहभागी भईयो, यसरी परिक्षा पास गरेपछि बिद्यार्थी जीवनमा राजनितीकै माध्यमबाट जनसेवा गर्ने तीब्र ईच्छा जागृत भई अन्ततः राजनीतिक जीवनको सुरुवात भयो ।
तपाईं भैरहवा बहुमुखी क्याम्पसको स्ववियु सभापति पनि हुनु भो, विद्यार्थीको संसद(स्ववियु) को नेतृत्वकर्ता रहीसकेको नाताले,तपाईंको दृष्टिकोणमा नेपालको मूख्य शैक्षिक समस्या के के हुन्?
नेपालको विभिन्न तहमा पढाईने पाठ्यक्रमहरु बिदेशीहरुका निम्ति सस्तो मेनपावर उत्पादन गर्ने कारखानाको रुपमा निर्माण गरिएका छन।यहाँको शिक्षा निति बिभेदकारी रहेकोछ।धनि र गरिबका निम्ति छुट्टाछुट्टै किसिमबाट डिजाईन गरिएको छ, एकरुपता नै छैन, महंगो पनि छ, यहाँको जातीय/सामुदायिक विविधतालाई सम्बोधन गर्न नखोज्ने किसिमको अनि गरिबका निम्ति थेग्नै नसक्ने गरि खर्चिलो बनाईएकोछ।जबकी राज्यले शिक्षालाई पुर्णतया नि:शुल्क बनाईनुपर्दछ, सर्वसुलभ बनाईनुपर्छ ।तर आजसम्म शिक्षा निति कमिशनखोर, नाफामुखी अनि बिचौलियाहरुले सञ्चालन गर्दै आईराखेका छन,। शिक्षा ब्यवस्थापन शैक्षिक माफियाहरुको प्रभुत्व रहेको हुदाँ नेपाली शिक्षा प्रणाली जनमुखी हुन नसकेको मेरो बिश्लेषण छ। यसमा आमूल परिवर्तन गरिनुको बिकल्प देखिदैन ।
कम्युनिस्ट राजनीति छोडेर तपाईं एकाएक राष्ट्रिय जनमुक्ति पार्टीमा जोडिनुभयो। अहिले तपाईं यो पार्टीको केन्द्रीय तहमा पनि हुनुहन्छ। जनमुक्ति संगको जुडाव केले संभव वा प्रेरित गर्यो त?
हो, मेरो राजनीतिक जीवन कम्युनिष्ट पृष्ठभूमि नै हो, नेपाली कम्युनिष्ट आन्दोलन मजदुरको नामबाट शुरुवात गराई अन्त्यत: आन्दोलनका मुखियाहरु सत्ताको चास्नीमा डुबेर भ्रष्टाचारी चरित्र देखाउदै पुजीवादको दलदलमा चुर्लुम्म डुब्ने गरेको यथार्थ घाम झै छर्लङ्ग हुनथाले पछि मजदुर आन्दोलन, सर्वहारा वर्गीय क्रान्ति, जातीय मुक्ति नाम त कम्युनिष्ट नेताहरुका निम्ति मागीखाने भाडो र सत्तामा पुग्ने भर्याङ सिवाय केही नभएको महसुस गरियो, अनि मेरो राजनीतिक यात्रा पनि मोडियो। मैले यो पार्टीकाे मार्गदर्शक सिद्धान्त जनमुक्ति विचारधारा बारे अध्ययन गरे, नेतृत्त्व तहका साथीहरु संग चरण चरण मा वहस, बहुजातीय लोकतान्त्रीक समाजवादको औचित्य, सान्दर्भिकता बारेमा पनि छलफल गरें। अन्ततः म लगायत हाम्रो टीमले राष्ट्रि्य जनमुक्ति पार्टी नै देशको लागि उपयुक्त राजनीतिक शक्ति हाे भन्ने राजनीतिक बुझाई अनुसार राष्ट्रिय जनमुक्ति पार्टीको धारबाट राजनीति गर्नु सर्वोत्तम हुने ठहर गरेर नै जनमुक्ति प्रवेश गरीएको हाे। मैंले हाल पार्टी अध्यक्ष केशव सूर्यवंशी सर पार्टीको महासचिव रहनु भएको बखत, उहाँकै हातबाट भैरहवामा पार्टी सदस्यता ग्रहण गरेको हुँ। अहिले पार्टीको केन्द्रीय सचिव र मुस्लिम राष्ट्रिय परिषद्को महासचिवकाे जिम्मेवारीमा छु।
जनमुक्तिलाई समुदायगत, त्यसमा पनि आदिवासी जनजाति समुदाय केन्द्रीय पार्टी भनेर बाहिर प्रचारित हुने गरेको देखिन्छ। तर तपाईं मुस्लीम समुदायको प्रतिनिधित्व गर्ने, एक वामपंथी विद्यार्थी नेता कसरी सहजै यो पार्टी प्रवेश अनि ऊर्जा पूर्वक केन्द्रीय नेतृत्त्वमा रहि राजनीतिमा अघि बढ्ने अवस्था आयो त?
म राष्ट्रिय जनमुक्ति पार्टीमा पछि प्रवेश गरेको भएतापनि यो पार्टी बारेमा पारिवारिक रूपमा भने सानो हुँदा नै परिचित थिएँ। कारण मेराे बुवा(सिफारिस अलि) यो पार्टीको स्थापनाकाल देखिकै स्थानीय तहको कार्यकर्ता हुनुहुन्थ्यो। भैरहवा अनि यहांका ग्रामिण क्षेत्रहरूमा तत्कालिन महासचिव आदरणीय गोरेबहादुर खपाङ्गीलाई जनता विच लैजाने एकजना प्रमुख सहयोगीमेरो बुबा नै हुनुहुन्थ्यो। त्यस कारण पनि, म जनमुक्ति पार्टी, यसका नेता ज्यूहरुको पारिवारिक संगतले केहि न केहि जान्ने बुझ्ने मौका पाएकै थिएँ। त्यसर्थ, राष्ट्रिय जनमुक्ति पार्टी खास समुदायको मात्र हाे भन्ने भ्रम मलाई थिएँन। मेरो बुवाको इन्तकाल हुनु अघिसम्म पनि उहाँ यो पार्टीकाे स्थानीय तहको अभिभावकको हैसियतमा क्रियाशिल हुनुहुन्थ्यो। पाँच वर्ष अघि, समय जुर्यो भनौं, मैले बुवाले रोजेकै पाटीमा प्रवेश गर्ने अनि छोटो समयमै नेतृत्व तहमा रहेर काम गर्ने परिस्थिति पनि बन्यो। मेरो बुवा ज्यूले त्यो बेला धेरै नबुझे पनि, धर्म निरपेक्षता, जनसंख्याको अनुपातमा समानुपतिक भागेदारिता, पिछडिएका समुदाय, उत्पिडित दलितलाई आरक्षण दिएर भएपनि मजबूत बनाउने,अनि शक्तिको सम्पूर्ण अधिकार काठमाडौँ केन्द्रीय हुने प्रणाली अन्त्य गर्ने भन्ने कुरा बुझ्नु भएको थियो। त्यसैले उहाँको रोजाई जनमुक्ति थियो। मेरो बुझाईको तह जनमुक्ति विचारधाराको सान्दर्भिकता सम्म पुगेको छ। नेपालमा मात्र हैन, बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषता भएको मुलुकमा राष्ट्रिय एकतालाई मजबुत बनाउने जुन राजनीतिक सूत्र छ, त्यो नै जनमुक्ति विचारधाराको सार हो। यो मानेमा पनि म एकदम सहि राजनीतिक पार्टीमा छु भन्नेमा गर्व गर्छु।
तपाईं पार्टीको केन्द्रीय सचिव हुनुको अलावा यसै पार्टी सम्बद्ध नेपाल राष्ट्रिय मुस्लिम परिषदको केन्द्रीय महासचिव पनि हुनुहुन्छ। यो संगठनको आवश्यक्ता र गतिबिधि बारे केही प्रकाश पारिदिनुस् न।
नेपाल राष्ट्रिय मुस्लिम परिषद मुलुक भरि रहेका अल्पसंख्यक मुस्लिम समुदायको हक-हित, भाषा, लिपि, सांस्कृतिक अधिकार, पहिचानलाई संवैधानिक रुपमा सुनिश्चितता दिलाउनका निम्ति संघर्ष गर्न निर्माण गरिएको संगठन हो । राष्ट्रिय जनमुक्ति पार्टी बिगत 34-35 बर्षदेखि विभिन्न उतारचढाव झेल्दै, पार्टीको आन्तरिक र बार्ह षड्यन्त्रलाई छिछोल्दै बहुजातीयहरुको हक-हितको रक्षार्थ अनवरत रुपबाट संघर्ष गर्दै आईरहेको पार्टी हो, स्वभावैले अपेक्षित गतिविधि गर्न नसकिरहेको अवस्था पनि हो तर अहिले बदलिँदो परिवेश संगै राष्ट्रिय जनमुक्ति पार्टी र नेपाल राष्ट्रिय मुस्लिम परिषद बारे समुदाय विशेषका जनताले चासोपूर्वक जान्न-बुझ्न खोजेका छन्।, अगामी दिनहरुमा यो जनसंगठन मुलुककै अगुवा मुस्लिम संगठन बन्ने आशा र विश्वास लिएको छु । सो अनुसार नै हामीले आफ्नो कार्ययोजना र संगठन अगाडि बढाई रहेकापनि छौं। मूलकुरा, नेपालका सबै समुदायले आफ्नो पहिचान र अधिकारको प्रत्याभूति गर्ने राजनीतिक पार्टी खोज्ने हो भने, निःसन्देह त्यो विश्वासनिय शक्ति राष्ट्रिय जनमुक्ति पार्टी नै हो। यहि तथ्य मेराे समुदायले पनि अब विस्तारै बुझ्दै छ।
राष्ट्रिय जनमुक्ति पार्टी नेपालको सन्दर्भमा साढे तीन दशक उमेर पुगेको पार्टी हाे तर हालसम्म सत्ता सञ्चालन गर्ने हैसियतमा त पुगेको देखिएन।केन्द्रको कुरा छोडौ.. प्रदेश र पालिकाहरूमा पनि प्रभावकारी हैसियत बनाएको वा बनाउन सकेको पनि देखिएन। यस बारेमा के भन्नु हुन्छ? के अब पनि आशावादी हुने ठाँउ छ त?
हो, यहाँले गर्नुभएको प्रश्न बिल्कुल जायज छन्। पक्कै पनि व्यावहारिक कमि कमजोरी रहेका थिए, छन् तर अब त्यो रहने छैन। यति भन्दै गर्दा, नेपालको सन्दर्भमा देखिएको एकदमै नमीठो तथ्य के छ भने, यहाँका अधिकाँश राजनीतिक दल, समूह शक्ति केन्द्रको प्रभावमा रहने गरेका छन्। पपेट नै जस्तो देखिने खालका पनि छन्। अर्थात् आफ्नो बलबुतामा टिकेका, शक्तिकेन्द्रको स्वार्थ केन्द्रित मतियार बन्न अस्वीकार गर्ने र अनेक चुनौतिका बावजूद पनि सार्वभौम मुलुकको स्वाभिमान उचो राख्न सक्ने क्यारेक्टर भएका दलहरू बहुतै कम छन्। तिनलाई अहिलेको खर्चिलो अनि भड्किलो चुनावमा जित्ने गरि प्रतिष्पर्धा गर्न पक्कै पनि गार्हो गार्हो छ।
यसको मतलब, चुनाव बाट पार लाग्न सक्दैन भन्ने निराशाबादी सोंच हो कि? अथवा,निर्वाचनमा कहिल्यै विजयी नहुने स्वमूल्यांकन हो?
त्यसो होइन। निश्चय पनि चुनाब पनि एक लोकतान्त्रीक अभ्यासको एउटा विधि नै हो। हामीले त्यो मानेकै छौं। त्यही भएको कारणले नै,अपेक्षित नतिजा नपाउदा पनि राष्ट्रिय जनमुक्ति पार्टी ले कूनै निर्वाचन बहिस्कार गरेको छैन। बहुदलीय व्यवस्था पुनर्वहाली पछि जन्मेको पार्टी मध्ये निरन्तर निर्वाचन लडेको पार्टी जनमुक्ति नै हाे। आउने संघीय निर्वाचन हाम्रो पार्टी जीवनको आठौं राष्ट्रिय निर्वाचन हो। तर प्रष्ट कुरा के पनि हो भने, निर्वाचन मात्र सम्पूर्ण होईन। निर्वाचनमा असफल हुदैमा राजनीति सकिने हैन,पार्टीको जीवन सकिने हैन। यो कुरामा हामी एकदम प्रष्ट छौं।
यसलाई अरु प्रष्ट पारिदिनुस् त।
हेर्नुस्, चुनावलाई लोकतान्त्रीक पार्टीले अस्वीकार गर्नै सक्दैन, त्यो मिल्दैन। तर राष्ट्रिय हितका र जनहितका खातिर निर्णायक कदम चाल्न जनआन्दोलन बाट आएकै शक्तिको शासन हुनुपर्छ। हाम्रो देशको अनुभव झन् यसबारे अरु प्रष्ट छ।०१५ साल देखि ०८२को जेन जी आन्दोलन सम्मको अनुभवले पनि देखाएको छ कि,चुनावबाट आएका दुईतिहाई वालाले भन्दा जनआन्दोलनको बलमा उदाएको सरकारले बढि अग्रगामी निर्णय लिन सक्षम भएको छ। यसैले, निर्वाचन र जनआन्दोलन एउटा सिक्काका दुई पाटा हुन्। चुनावी बाटोबाट संभव नभएको छलाङ जनआन्दोलनको बाटोबाट संभव हुनेछ भन्ने तथ्यमा हामी प्रष्ट छौं, भन्न खोजेको यो हो।
अबको दिनमा, अझ जेन जी आन्दोलन पछि देशमा विकसित अवस्था र नयाँ नयाँ पार्टी र परिपाटीको राजनीति अघि बढ्ने अथवा बढिरहेको अवस्थामा तपाईं राष्ट्रिय जनमुक्ति पार्टीको पोजिसन के कस्तो रहला भन्ने ठान्नु हुन्छ त?
अबको दिनमा वा भनौं जेनजी आन्दोलन पछि देशमा बिकसित अवस्था बदलिएकोछ, नयाँ र पुराना राजनैतिक दलहरुको हैसियत लगभग बराबर हुन पुगेकोछ। तर,तत्काल जेजस्तो ब्यवस्थापनका साथ उल्लेख्य जनसहभागिता गराउने होडबाजी चलाएर सभा-सम्मेलन गरिराखिए पनि आसन्न निर्वाचन पछि को के हो, के रहेछ भन्ने संकेत मिल्नेछ। महान नेपाली जनता बैकल्पिक राजनैतिक शक्तिको खोजिमा पक्कै छन् तर त्यो यसपटकको निर्वाचनमा के कसरी प्रकट हुनेछ वा हुनसक्ला, भविष्यमा देखिने नै छ। जहाँसम्म राष्ट्रिय जनमुक्ति पार्टीको कुरा छ, त्यसमा म के भन्न चाहन्छु भने, यो पार्टी निरन्तर, विगत ३५ बर्ष देखि लोकतान्त्रीक अभ्यासमा रहेकाे, शान्तिपूर्ण बाटोमा हिडेको, अनेक चुनौति र बाधा पार गर्दै,आफूलाई अझ परिपक्क अनि जुझारु बनाउँदै अघि बढेको राजनैतिक शक्ति हो। आफ्नो बलबुतामा टिकेको, सार्वभौम मुलुक को सच्चा स्वाभिमानी पहरेदारको परिचय बनाएको पार्टी हो। अहिले पनि हामी भ्रस्टाचार बिरुद्ध राष्ट्रिय अभियान लिएर जनता माझ गइरहेका छौं र भ्रस्टाचार मुक्त नेपाल वनाउने विषयमा जनजागरणका लागि काम गरिरहेका छौ। यसपाली राष्ट्रिय जनमुक्ति पार्टीको जिवनमा सबैभन्दा अनुभवी युवा नेतृत्व टीमले पार्टी हाँक्ने अवस्था बनेको छ। अतः सडक र सदन दुवै मोर्चामा राष्ट्रिय जनमुक्ति पार्टी एउटा सशक्त राजनीतिक शक्तिको रूपमा देखा पर्ने निश्चित छ।





