राष्ट्रिय जनमुक्ति पार्टीले “जनमुक्तिको ३० वर्षे यात्रामा एक सिंहावलोकन” विषयमा सम्वाद तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । पार्टीको ३०औं स्थापना दिवस (माघ ६, २०७७) को अवसरमा राजधानी काठमाडौंमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि पार्टीका संस्थापक एवं हाल पार्टी संरक्षक एम.एस.थापाले सत्ताधारीहरुको निरंकुशतालाई चूनौति दिएर अगाडि बढ्न परिवर्तनका पक्षधरहरु एक भएर लाग्न सक्नु पर्ने बताउनु भयो । उहाँले पार्टीको ३० वर्षे यात्रामा विभिन्न उतारचढाव आएको बताउँदै पार्टीलाई जनताले दिएको विश्वासमा धोका दिने पात्रहरुलाई चिन्न नसकेको समिक्षा गर्नु भयो । अहिले पनि मूलुकको अवस्था उस्तै रहेको प्रति सचेत गराउँदै उहाँले परिवर्तनका पक्षधरहरुले आत्मसमर्पण गरेर होईन हिम्मत गरेर यथार्थ समस्या समाधानको पक्षमा उभिन आव्हान गर्नु भयो ।
कार्यक्रमका विशिष्ट पाहुना नन्द कन्दङ्वाले राष्ट्रिय जनमुक्ति पार्टीले स्थापनाकालदेखि उजागर गरेका कतिपय मुद्दाहरु हाल आएर देशकै मुद्दा बनीसकेकोमा मुद्दा उठाउने दल नै छायाँमा परेको बताउनु भयो । उहाँले जातीय समानुपातिक प्रतिनिधित्वको मुद्दा देशको मुद्दा बनेकोमा राष्ट्रिय जनमुक्ति पार्टीलाई धन्यवाद प्रकट गर्नु भयो । आफ्ना आन्तरिक कमजोरी बारेमा राष्ट्रिय जनमुक्ति पार्टीले गम्भीर समिक्षा गरेर नयाँ जोशका साथ अगाडि बढ्न सुझाव दिनु भयो ।
यस्तैगरी अभियन्ता राम मादेनले मूलुकका इमान्दार अनुसन्धानकर्ताहरुले राष्ट्रिय जनमुक्ति पार्टीले उठाएका मुद्दाहरु बारे सही अभिलेखीकरण गरेको बताउनु भयो । सत्ताधारीहरुले बाहिरी आवरणमा जनमुक्तिले जस्तो आवाज उठाएता पनि भित्री अभीष्ट ठीक नभएकोले जनमुक्तिको मुद्दाहरु हालका दिनमा पनि उत्तिकै सान्दर्भिक छ भन्नु भयो । यसैगरी विद्यार्थी नेता पूर्ण राना, पत्रकार ज्ञानसिंह रानाले मुद्दा सही उठाउँदै आएको पार्टीले नयाँ पुस्तालाई आकर्षण गर्ने कार्यक्रमहरु गरेर अगाडि बढ्न सुझाव दिनु भयो ।
राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव एवं जनमुक्ति एकाडेमी प्रमुख टोप अस्लामीले कार्यक्रममा अध्यक्षता र सहजीकरण गर्दै पार्टीले नेपालको राजनीतिमा नयाँ भाष्य र परिस्थिति निर्माण गर्न अथक र अनवरत रुपमा कृयाशिल रही आएको बताउनु भएको थियो । उहाँले मूलुकको राजनीतिमा इमान्दारिता स्थापित गर्न साथै, भ्रष्टाचारको अन्त्यका लागि पार्टीले मूल रुपमा जनतासंग सम्वाद गरीरहेको बताउनु भयो । सम्वाद तथा छलफल कार्यक्रममा पार्टी अध्यक्ष खड्ग प्रसाद पालुङवा लगायतका केन्द्रीय शिर्ष तहका नेताहरु, प्रदेश ३ वागमतीका नेतृत्व, अधिकारकर्मी, बुद्धिजीवि र पत्रकारहरुको सहभागिता रहेको थियो ।
सो पार्टीको प्राज्ञिक निकाय जनमुक्ति एकाडेमीले सो सम्वाद तथा छलफल कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा लिखित शुभकामना सन्देश पठाउने महानुभावहरुलाई समेत उपमहासचिव एवं जनमुक्ति एकाडेमी प्रमुख टोप अस्लामीले धन्यवाद र आभार प्रकट गर्नु भएको थियो ।

माघ ६ गते ३०औं स्थापना दिवसमा विशेष गरी काठमाडौंमा अध्यक्ष खड्ग प्रसाद पालुङवाको नेतृत्वमा, प्रदेश २ मा महासचिव केशव सूर्यवीको नेतृत्वमा साथै देशका विभित्र जिल्लामा केन्द्र तथा प्रदेशका नेताहरूको उपस्थितिमा भेटघाट तथा चियापान कार्यक्रम आयोजना गरिएको सो पार्टीको केन्द्रीय सचिवालयले जनाएको छ