नेपाल र नेपालीहरूको सुरक्षाको लागि सरकारको ध्यानाकर्षण ।

कोभिड १९ को प्रभाव र जोखिम विरुद्ध लड्न 'सर्वदलीय-सर्वपक्षीय संयन्त्र' वडा तहसम्मै बनाउन माग । आवश्यक सहकार्य र जिम्मेवारी पुरा गर्न जनमुक्ति तयार ।

0
1902

विश्वस्तरमैं महामारीको रुपमा देखापरेको कोरोना भाईरस (कोभिड–१९) को प्रभाव र जोखिमबाट नेपाल र नेपालीहरूको सुरक्षाको लागि राष्ट्रिय जनमुक्ति पार्टीले एक विज्ञप्ति प्रकाशित गरी नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै राष्ट्रिय जनमुक्ति पार्टीले पाँच बुँदामा सरकारको ध्यानाकर्षण गराएको छ । यस चैत्र ५ र ६ गते पार्टी स्थायी समितिको विशेष बैठक बसी विश्वव्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरसको सम्भावित जोखिम सम्बन्धमा पार्टीद्वारा विभिन्न निर्णय समेत गरिएको थियो ।

आज जारी विज्ञप्तिको पाँच बुँदाहरु निम्नानुसार रहेको छन्:-

१) कोभिड–१९ को ठुलो जोखिम र विपदलाई निस्तेज गर्न सरकारको एकल प्रयास र क्षमता पर्याप्त छैन । यो साझा समस्या र चुनौति भएकोले यसका विरुद्ध लड्न ‘सर्वदलीय–सर्वपक्षीय विशेष संयन्त्र’ बनाई आवश्यकता अनुसार त्यसलाई वडा तहसम्मै विस्तार  गरियोस् ।

२) कोभिड–१९ बाट सुरक्षित हुने नाऊमा होम क्वारेन्टाइन वा लकडाउनको अवस्थामा बस्नु पर्दाको कारणले सृजित प्रतिकूल बित्तिय अवस्थालाई उचित निकास र राहत पुग्ने गरी राज्यबाट विशेष घोषणा गरियोस् । साथै, आकस्मिक लकडाउनको कारणले बितरा परेका नेपालीहरूलाई तिनको गन्तव्य सम्म पुरयाउन तुरुन्त पहल गरियोस् ।

३) हाल देशका विभिन्न स्थानमा स्थापना गरिएका ‘कोरोना विशेष अस्पताल’ नाम मात्रको रहेको र ती अस्थायी अस्पतालहरू कोभिड–१९ को बिरामीलाई उच्चस्तरीय उपचार सेवा दिन पूर्णतः असक्षम रहेको समेत प्रष्ट भईसकेको हुदा केन्द्र, प्रदेश राजधानी र महानगर/उपमहानगरमा रहेका कम्तिमा एक/एक सरकारी वा निजी अस्पताललाई ‘कोरोना विशेष अस्पतालको रुपमा रूपान्तरित गर्ने व्यवस्था यथाशिघ्र गरियोस् ।

४) कोभिड–१९ को जोखिमपूर्ण उपचारमा सम्बद्ध सबै चिकित्साकर्मीहरूलाई उच्चस्तरीय सुरक्षा सामग्री (पिपिई, मास्क आदि), विशेष भत्ताको साथै राज्यले भविष्यमा विशेष सम्मान गर्ने व्यवस्था गरियोस् । अहिलेको विषम परिस्थितिको फाईदा उठाई भ्रष्टाचार गर्ने, कालाबजारी गर्नेलाई देशद्रोही घोषणा गरियोस् ।

५) राष्ट्रिय संकट अनि विपदको अवस्थामा आवश्यक सहकार्य गर्न वा आईपर्ने जिम्मेवारी पुरा गर्न राष्ट्रिय जनमुक्ति पार्टी तत्पर र तयार छ भनी यसै विज्ञप्ति मार्फत पनि भन्न चाहन्छौ ।