महारानी एलीजाबेथ द्वितीयको निधनप्रति गहिरो दुःख व्यक्त

0
1712

नेपालको मित्र राष्ट्र बेलायत (संयुक्त अधिराज्य) का महारानी एलीजाबेथ द्वितीयको निधन भएकोमा राष्ट्रिय जनमुक्ति पार्टीले गहिरो दुःख व्यक्त गरेको छ । आज बेलायत सरकारलाई एक समवेदना पत्र पठाउँदै पार्टीले उक्त दुःख प्रकट गरेको हो ।
पत्रमा बेलायतका दिवंगत महारानी एलीजाबेथ द्वित्तीयप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गरिएको छ । शोकको यस घडीमा संयुक्त अधिराज्यका राजपरिवार, बेलायत सरकार र सम्पूर्ण बेलायती जनता प्रति पार्टी र नेपाली जनताको तर्फबाट हार्दिक श्रद्धाञ्जली समेत व्यक्त गरिएको छ ।
बेलायतको महारानी एलिजावेथ द्वितियाले सन् १९५२ मा राज्यरोहण गर्नु भएको थियो । बेलायतको इतिहासमा सबैभन्दा बढी ७० वर्ष शासन चलाउनु भएकी महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा बाल्मोरलमा विहिबार निधन भएको हो। उहाँ बेलायतसँगै अन्य १४ ओटा कमनवेल्थ देशको राष्ट्रप्रमुख हुनुहुन्थ्यो । २१ अप्रिल १९२६ मा लन्डनको मेफएरमा जन्मिएकी महारानी एलिजाबेथले सन् १९५२ मा गद्दी सम्हाल्नु भएको थियो । उहाँको शासनकालमै बेलायतमा १५ जना प्रधानमन्त्री भए ।

ब्रिटिश गोर्खाका कारण नेपाल र बेलायतबीचको मित्रता विशेष रहेको छ। नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको पहिलो मुलुक बेलायत हो । सन् १८१६ मा नेपाल र भारतको तत्कालीन इस्ट इन्डिया कम्पनी सरकारबीच भएको सुगौली सन्धिसँगै बेलायत र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
सन् १८१६ मा नेपाल र इस्ट इन्डिया कम्पनीबीच सुगौली सन्धिपछि नेपालीहरू ब्रिटिश सेनामा भर्ती हुन थाले । भारत स्वतन्त्र भएपछि सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच त्रिपक्षीय सम्झौता भयो। सोही बमोजिम नेपालीहरू बेलायती गोर्खा सेनामा भर्ती हुँदै आएका छन् ।
प्रधानमन्त्री जंगबहादुर राणाले सन् १८५० मा बेलायत भ्रमण गरेपछि नेपाल र बेलायतबीच उच्चस्तरीय भ्रमण हुँदै आएको छ । यस क्रममा सन् १९६० र १९८६ मा महारानी एलिजाबेथले नेपालको दुई पटक भ्रमण गर्नु भएको थियो । तत्कालिन राजा महेन्द्र र वीरेन्द्रको पालामा महारानी एलिजाबेथको राजकीय भ्रमण भएको थियो ।

हार्दिक श्रद्धाञ्जली/हार्दिक समवेदना ।

मित्र राष्ट्र बेलायतका महारानी एलीजावेथ द्वित्तीयको निधन भएकोमा हामीलाई ज्यादै दुःख लागेको छ । राष्ट्रिय जनमुक्ति पार्टी र सम्पूर्ण नेपालीहरुको तर्फबाट दिवंगत महारानी एलीजावेथ द्वित्तीय प्रति हामी भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौं । साथै, शोकको यस घडीमा बेलायतका राजपरिवार, बेलायत सरकार र सम्पूर्ण बेलायती जनतामा हामी हार्दिक समवेदना व्यक्त गर्दछौं ।

टोप अस्लामी
महासचिव
(प्रमुख – परराष्ट्र विभाग, राष्ट्रिय जनमुक्ति पार्टी)