देशमा विकसित पछिल्लो घट्नाक्रम बारे राष्ट्रिय जनमुक्ति पार्टीले आफनो धारणा सार्वजनिक गरेको छ। पार्टी महासचिव टोप अस्लामी द्वारा जारी गरिएको विज्ञप्ति मार्फत लामो संघर्ष, आन्दोलन र वलिदानबाट प्राप्त भएको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिता सहितका उपलब्धिलाई संस्थागत गर्दै लैजाने राष्ट्रिय कार्यदिशा नै अग्रगामी निकास हो भनि प्रस्ट पारिएको छ। साथै, प्राप्त उपलब्धिको रक्षा गर्दै, व्यवस्था मा भएका कमि कमजोरी सच्याउँदै अघि बढ्ने तर्फ देशका लोकतान्त्रिक शक्तिहरू एकजुट हुनु आवश्यक भएकाे पनि उल्लेख गरिएको छ। सत्ता संचालक दल वा पात्रहरू असक्षम एवं निकम्मा हुनुलाई संघीय गणतान्त्रिक राज्यव्यवस्था गलत वा अनावश्यक भन्नु गलत हुने र लोकतान्त्रिक अभ्यासबाट नै सक्षम नेतृत्व छान्ने ब्यवस्था त्यागेर मुलुकलाई प्रतिगमन तर्फ लैजाने बारे कोही कसैले प्रयास नगर्न समेत खबरदारी गरिएको छ। यसका साथै, चैत्र १६ गते जारी गरिएको विज्ञप्तिमा राजतन्त्रका पक्षधरहरुको नाममा भएकाे प्रदर्शनको क्रममा भएकाे हिंसक एवं अराजक गतिविधिका कारणले भएकाे जनधनको क्षति भएकाेमा पार्टीको तर्फबाट चासो र चिन्ता व्यक्त गर्दै यो घटनामा सरकार तथा प्रदर्शनकारी दुवै जवाफदेही हुनुपर्ने भन्दै यथासिघ्र निष्पक्ष छानबिनको माग गरिएको छ।