राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केशव सूर्यवंशी (Keshav SuryavanshiKb Suryavanshi) ले ब्रिटीश गोर्खा र तिनका सन्ततीका लागि “नेपाली नागरिकताको निरन्तरता” उनीहरूको नैसर्गिक अधिकार भएको बताउनु भएको छ । उहाँले नेपालको स्वतन्त्रता र सार्वभौमसत्ता जोगाउन ब्रिटीश गोर्खाहरूको बलीदानीपूर्ण ईतिहास र याेगदानको सम्मान गर्दै संघीय संसदले राष्ट्रिय महत्त्वको प्रस्ताव ‘राजनीतिक कृतज्ञता घाेषणा’ (Political Gratitude Announcement) पारित गर्न समेत माग गर्नु भयो ।
संसदले पारित गर्ने यही घोषणाले नै ब्रिटीश गोर्खाको समग्र याेगदानको मूल्याङ्कन र नेपाली नागरिकताको निरन्तरताको अधिकारलाई सहज ढङ्गले राज्यले आत्मसात गर्ने ढोका खुल्ने पनि अध्यक्ष सूर्यवंशीले प्रष्ट पार्नु भयो । उहांले राष्ट्रिय जनमुक्ति पार्टीले आफ्नो स्थापनाको २५ बर्ष (रजत वर्ष) को अवसरमा (सन् २०१७ मार्च ६-८/काठमाडौं) मा सम्पन्न गरेको “अन्तर्राष्ट्रिय जनमुक्ति सम्मेलन”ले जारी गरेको “काठमाडौं घाेषणा पत्र”मा पनि “ब्रिटीश गोर्खा र तिनको अधिकार” बारे प्राथमिकताका साथ उल्लेख गरेकाे स्मरण गराउनु भयो । उहाँले भन्नु भयो – “हामीलाई प्रथम र द्वित्तीय विश्वयुद्धमा बेपत्ता (Missing in Action) सत्तरी हजार भन्दा बढी संख्यामा रहेका गोर्खालीहरूको पहिचान र अवस्थाको बारेमा समेत चासो छ र त्यस विषयमा त्रिपक्षीय सन्धी राष्ट्र (नेपाल, भारत र बेलायत) का सरकारहरूले कुनै दिन बोल्नै पर्नेछ।”


अभियन्ता संगठन (सिएनसीबिजी-CNCBG र भूतपूर्व सैनिक कल्याणकारी समिति नेपाल) द्वारा काठमाडौं (होटल हिमालयन) मा हिंजो (असोज ११ गते) आयोजित “ब्रिटीश गोरखा र तिनका सन्ततीको नेपाली नागरिकताको निरन्तरता” विषयक संगोष्ठीमा पूर्वमन्त्री तथा संविधान सभा सदस्य एमएस थापा, पूर्व न्यायधीश श्रीकृष्ण भट्टराई, डा. विधु प्रकाश कायस्थ, डा. मित्र परियार, बुद्धिजीवी पूर्ण राना र अभियन्ता दल बहादुर बुढाथोकीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने सांसदहरू माननीय सुरेश आले (नेकपा), हरिप्रसाद भुसाल, कमल सुवेदी, खगेन्द्र सुनार (राष्ट्रिय स्वतन्त्र पार्टीका), आर्यन राई, राधिका रम्तेल (श्रम संस्कृति पार्टी), रोशनी मेचे (एमाले) ले आफ्नो र दलको तर्फबाट ऐक्यबद्धता मन्तब्य राख्नु भएको थियो । कार्यक्रम अधिवक्ता चेत बहादुर आलेले सञ्चालन/सहजीकरण गर्नु भएको थियोे ।





