मंगलापुर बैठकको निर्णयहरु

0
2954
राष्ट्रिय जनमुक्ति पार्टी, संघीय परिषदको तेश्रो बैठक यही मिति २०७४ साउन ७–९ गते, मंगलापुर, तिलोत्तमा रुपन्देही (कविराज भवन/राजमुपा रुपन्देही कार्यालय भवन) मा बस्यो ।  वर्तमान सन्दर्भमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे राष्ट्रिय जनमुक्ति पार्टीको आधिकारिक धारणा निम्नअनुसार रहेको यसै प्रेस विज्ञप्तिमार्फत जनकारी गराउन चाहन्छौं ।
१. अन्तराष्ट्रिय परिस्थिति बारे :
क) वर्तमान सन्दर्भमा दोक्लम क्षेत्रको कारणले मित्रराष्ट्र भारत र चीन बीच बढ्दो राजनीतिक तथा सैन्य तनावको अन्त्यका लागि दुवै पक्षले वार्ता र सम्वादबाट समाधानको पहल गरोस् ।
ख) विभिन्न मूलुकले आत्मरक्षा र सैन्य हैसियत वृद्धिका नाममा आणविक हतियारको निर्माण र वृद्धिमा जोड दिनु विश्व समुदायकै लागि चिन्ताको विषय हो । यस्ता आणविक हतियार निर्माण तथा वृद्धिमा तत्काल रोक लगाउने र विश्वलाई आणविक हतियारमुक्त गराउनका लागि संयुक्त राष्ट्रसंघले तत्काल प्रभावकारी कदम चालोस् ।
ग) पहिचानका लागि विश्वभर हुने गरेका शान्तिपूर्ण राजनीतिक आन्दोलनकै निरन्तरताको रुपमा भारतको दार्जिलिङ्ग–खर्साङ्ग क्षेत्रमा गोर्खाल्याण्डको नामबाट चल्दै आएकोे आन्दोलन जायज भएको ठहर गर्दै राष्ट्रिय जनमुक्ति पार्टी समर्थन गर्न चाहन्छ ।
घ) चीनद्वारा प्रस्तुत आधुनिक रेशम मार्गको रुपमा “वान बेल्ट वान रोड (ओबीओआर)” परियोजनाबाट नेपाल सहित सम्बन्धित मूलुकहरुले विकास र सम्वृद्धि प्राप्त गर्ने विश्वासका साथ उक्त परियोजनालाई द्रुत गतिमा सम्पन्न गर्न नेपाल सरकारले समेत चासो र सहयोग प्रदान गरोस् ।
२. राष्ट्रिय परिस्थिति बारे :
क) विदेशमा रहेका नेपालीहरुको लागि कम्तिमा प्रदेश र संसदको निर्वाचमा समानुपातिक तर्फ मतदान गर्न पाउने व्यवस्था गरियोस् । निर्वाचनको सन्दर्भमा हुँदै आएको भड्किलो खर्चलाई जनअपेक्षा अनुसार न्यून गर्नका लागि निर्वाचन आयोगको आचार संहिता कडाईका साथ लागुहोस् ।
ख) बद्दो भ्रष्टाचारको नियन्त्रणका लागि अधिकार सम्पन्न स्वायत्त आयोगको तत्काल गठन गरियोस साथै भ्रष्टाचार सम्बन्धी कडा कानुन तत्काल जारी गरियोस् ।
ग) २०७२ को महाभुकम्पबाट पीडितहरुको लागि हाल सम्म पनि उचित व्यवस्थापन हुन नसकेकोमा पार्टी खेद व्यक्त गर्दछ । निजहरुको लागि राज्यले फास्ट्रयाकको बाटो अपनाई तत्काल उचित व्यवस्थापन गरोस् ।
घ) अमेरिका, बेलायत लगायतका मूलुकहरुमा नेपालीहरुले भिसा प्राप्तिका लागि गर्ने प्रक्रिया अवलम्बन गर्दा बुझाउनु पर्ने महङ्गो रकम भिसा अस्वीकार भएको अवस्थामा फिर्ता गर्ने व्यवस्थाको लागि नेपाल सरकारले तत्काल प्रक्रिया अगाडि बढाओस् ।
ङ) केन्द्रीय तथा स्थानीय जनप्रतिनिधहरुले पाउने पारिश्रमिक (तलब, भत्ता) मा राष्ट्रहितलाई मध्यनजर गर्दै पचास प्रतिशत कटौती गर्ने व्यवस्था तुरुन्त गरियोस् । साथै उच्चपदस्थ कार्यकारीहरुले गर्ने अनावश्यक र खर्चिलो विदेश भ्रमणको परिपाटी अन्त्य गरियोस् ।
च) संघीय तथा प्रादेशिक निर्वाचनका लागि निर्वाचन क्षेत्र निर्धारण गर्दा जाति÷समुदायको बसोबास क्षेत्रलाई विभाजन नहुने गरी गरियोस् । साथै क्षेत्र निर्धारणका लागि जनसंख्याको मापदण्ड बनाउदा हिमाल, पहाड र तराईका लागि छुट्टाछुट्टै मापदण्ड कायम गरियोस् ।
………………………..
के.पि. पालुङ्गवा (लिम्बु)
      अध्यक्ष