![1-2](https://janamukti.org/wp-content/uploads/2023/09/1-2-696x522.png)
राष्ट्रिय जनमुक्ति पार्टी, संघीय परिषदको बैठक यही भदौ १० र ११ गते जनमार्ग (चप्पल कारखाना), काठमाडौंमा सम्पन्न भएको छ । बैठकले पार्टी शुद्धीकरण–सुदृढीकरणको लागि चार महिने (असोज–माघ सम्म) का लागि अभियान पारित गर्दै आगामी २०८१ बैशाख २३ देखि २६ गते एकताको सातौं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने निर्णय समेत गरेको छ । पार्टीको सातौं राष्ट्रिय महाधिवेशनलाई राजधानी काठमाडौंमा सम्पन्न गरिने भएको छ ।
![](https://janamukti.org/wp-content/uploads/2023/09/Baithak-Banner-Photo-1024x385.png)
यस्तै गरी पार्टीको विधान, आचार संहिता सम्बन्धी कार्यविधि नियमावली लगायतको विषयलाई थप व्यवस्थित बनाउन यसै वर्षको मंसिर महिनामा विधान सभा सम्पन्न गर्ने पार्टी निर्णय रहेको छ । विधान सभालाई आगामी मंसिर महिनाको २३ गतेदेखि २५ गते चितवनमा सम्पन्न गरिनेछ ।
पार्टीमा साँगठनिक शुद्धीकरण–सुदृढीकरण कार्यक्रम स्थानीय तह सम्म नै सम्पन्न गरिनेछ । यसका लागि केन्द्रीय संगठन विभागले कार्ययोजना पेश गर्ने र त्यसलाई अन्तिम रुप दिई पार्टीको साँगठनिक शुद्धीकरण–सुदृढीकरण कार्यक्रमलाई अभियानकै रुपमा अगाडि बढाउने पार्टी निर्णय रहेको छ । यो अभियान चार महिना (असोज–माघ) सम्म चल्नेछ ।
पार्टीका नेता तथा कार्यकर्ताहरुबाट सामाजिक सञ्जालमा जथाभावी व्यक्त हुने अभिव्यक्तिहरुलाई नियमन गर्नका लागि केन्द्रीय संगठन विभागको मातहतमा साईबर डिपार्ट बनाउने र साईवर समिति बनाई सो को कडाईका साथ कार्यान्वयन गर्ने, पार्टी अध्यक्ष केपी पालुङ्वाद्वारा प्रस्तुत प्रतिवेदन र महासचिव एवं केन्द्रीय संगठन विभाग प्रमुख टोप अस्लामीद्वारा प्रस्तुत साँगठनिक कार्ययोजनालाई संशोधन सहित पारित गरिएको साथै देशमा विभिन्न समयमा हुने आन्दोलनका कार्यक्रमहरुमा आवश्यक्ता अनुसार संलग्नता–सहभागिता, प्रतिनिधित्वका लागि केन्द्रीय नेताहरुलाई केन्द्रीय नेतृत्वले परामर्शका आधारमा खटाउने बैठकको निर्णय रहेको छ ।
![](https://janamukti.org/wp-content/uploads/2023/09/3-1024x768.jpg)
नेपालको संविधान अधुरो र अपुरो रहेको बारे पार्टीले व्यापक रुपमा आवाज बुलन्द गर्दै आएको छ । यस सम्बन्धमा तत्कालिन प्रधानमन्त्री खड्ग प्रसाद ओलीलाई पार्टीले ३९ बुँदे माग समेत बुझाई सकेको छ । पार्टीले नेपालको संविधानलाई पुनर्लेखन गर्नुपर्ने मागलाई अगाडि सार्दै आएकोमा संविधान घोषणाको दिन असोज ३ लाई खबरदारीको दिनको रुपमा केन्द्र र जिल्लामा कार्यक्रम केन्द्रित गरी प्रभावकारी रुपमा सम्पन्न गर्ने पार्टी निर्णय रहेको छ ।
बैठककै सन्दर्भमा पार्टीका संस्थापक महासचिव एवं नेता स्व.गोरे बहादुर खपाङ्गी ज्यूको सातौं स्मृति सभा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै केन्द्रीय कार्यालयमा सम्पन्न गरिएको छ ।
![](https://janamukti.org/wp-content/uploads/2023/09/5-1024x768.png)
![](https://janamukti.org/wp-content/uploads/2023/09/4-1024x768.png)
पार्टी केन्द्रीय उपाध्यक्ष एवं राष्ट्रिय पूर्व सैनिक संगठनका केन्द्रीय अध्यक्ष भीम ब. राना ज्यूको ममतामयी आमा श्रद्धेय कृष्ण कुमारी राना ज्यूको मिति २०८० असार २८ गते निधन भएको, संघीय महासभाका सदस्य (संघीय महासभा लुम्बिनीका अध्यक्ष मण्डलका अध्यक्ष) नरजङ्ग गुरुङ्ग ज्यूको धर्मपत्नी खगी गुरुङ्ग ज्यूको मिति २०८० भदौ ५ गते निधन भएको र रोल्पाका पूर्व पार्टी अध्यक्ष शेर बहादुर पुन ज्यूको असामयिक निधन भएकोमा पार्टीले शोक व्यक्त गर्दै मृतकको निर्वाण प्राप्तिको कामना सहित श्रद्धाञ्जली व्यक्त गरेको छ ।
पार्टीको साँगठनिक, राजनीतिक विषयहरुमा छलफल निरन्तर जारी छ । साथै संघीय परिषदको बैठकमा भएका निर्णयहरुको अक्षरसः कार्यान्वयनका लागि सबै नेता कार्यकर्ताहरु सकृय रुपमा कृयाशिल हुन बैठकले निर्देशन समेत गरेको छ ।
संघीय परिषदको बैठक भन्दा १ दिन अघि भदौ ९ गते केन्द्रीय सम्पादन समितिको बैठक बसेको थियो ।