पार्टी स्थायी समितिले यस्ताे निर्णय गरेकाे छ ।

0
941

यहि मिति २०७६ बैशाख २७ गते, पार्टी केन्द्रीय सचिवालयमा पार्टी अध्यक्ष श्री के.पी. पालुङवा ज्यूको अध्यक्षतामा बसेकाे स्थायी समितिको बैठकले गरेका निर्णयहरू :

१. पार्टी एकीकरण अनुमोदन तथा केन्द्रीय नेतृत्व समायोजन :
क) मिति २०७५ चैत्र १७ गतेका दिन राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टी बीच एकीकरण भएकोमा यो बैठकले अनुमोदन गरेको छ ।
ख) एकीकरणबाट आएका नेतृत्व समायोजन निम्नानुसार गरिएको छ, जस अनुसार मेखराज खाती (परियार) लाई उपमहासचिव, गोविन्द नेपाली (कञ्चनपुर) लाई प्रदेश ७ को संयोजक (प्रदेश भेला पछि प्रादेशिक उपाध्यक्ष/ईन्चार्जको जिम्मेवारी दिने गरी), मनोज परियार (दार्चुला) लाई सहसचिव र प्रेम नेपाली (अछाम), निर्मल मग्राती (गोर्खा), गजेन्द्र पासवान (सप्तरी), रुपेश वागचन (सल्यान), सरोज कार्की (चितवन), कमला नेपाली (गुल्मी), कृष्ण भण्डारी (बैतडी), राजेन्द्र वि.क. (सप्तरी), दुर्गा वि.क. (तँनहु) र सरोज उपरकोटी (चितवन) लाई संघीय परिषद सदस्यमा मनोनयन गरिएको छ । साथै, खम्बुवान राष्ट्रिय मोर्चाबाट पार्टी प्रवेश गर्नु भएका राज्य राई (देमिन) लाई पार्टीको संघीय परिषद सदस्य (पार्टीको साँस्कृतिक फाटकाे ईञ्चार्जकाे जिम्मेवारी लिने गरी) मोनोनित गरिएको छ ।

२. जिम्मेवारी सम्बन्धमा :
आगामी दिनको विशेष जिम्मेवारीलाई ध्यानमा राख्दै जातीय समन्वय विभागलाई अधिकार सम्पन्न “जातीय विभाग” मा परिणत गर्दै विभागका प्रमुख दल बहादुर वीरकट्टालाई उपाध्यक्ष, “सामाजिक सञ्जाल ब्यूरो” को प्रमुखको समेत जिम्मेवारी बहन गर्ने गरी यातायात विभाग प्रमुख सूर्य कुमार सारुलाई सचिव पदमा बदुवा गरिएको छ । यसैगरी उपमहासचिव मेखराज परियारलाई सञ्चार विभाग प्रमुख र सचिव बलदीप राईलाई बुद्धिजीवि विभाग प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ ।

३. भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियमान सञ्चालन गर्ने :
मूलुकमा ब्याप्त भ्रष्टाचार विरुद्ध पार्टीले चरणबद्ध रुपमा बहुआयामिक ढ·ले आन्दोलनलाई अगाडि बढाउने गरी “भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियान” मिति २०७६ जेठ महिना देखि सञ्चालन गर्ने निर्णय गरिएको छ । सो अभियानका लागि पार्टी महासचिव केशव सूर्यवंशीलाई संयोजकको जिम्मेवारी दिईएको छ ।

४. पार्टीको छैंठौं राष्ट्रिय महाधिवेशन सम्बन्धमा :
क) पार्टीको छैठौं राष्ट्रिय महाधिवेशन मिति २०७६ मंसिरको पहिलो साता सुनसरी जिल्लाको धरानमा सम्पन्न गर्ने।
ख) महाधिवेशन सम्पन्न गर्नका लागि निम्नानुसार मूल तयारी समिति निर्माण गरिएको छ, जसअनुसार संयोजकमा संस्थापक नेता राम बहादुर तुम्वाहाम्फे (संयोजक), उपसंयोजकहरुमा क्रमशः उपाध्यक्ष मोहन धिमाल र प्रदेश नं.१ का अध्यक्ष प्रकाश येङदेन, प्रचार संयोजकमा उपमहासचिव एवं केन्द्रीय सञ्चार विभाग प्रमुख मेखराज खाती परियार, अर्थ संयोजकमा कोषाध्यक्ष डब बहादुर गर्वुजा र सचिवालय संयोजकमा केन्द्रीय सचिव पदम जवेगु र विष्णु थाम्देनलार्ई जिम्मेवारी प्रदान गरिएको छ । स्वयम सेवक सम्बन्धी जिम्मेवारी जनमुक्ति यूवा महासंघलाई प्रदान गरिएको छ । महाधिवेशनको लागि आवश्यक उपसमिति तथा व्यवस्थापन समिति, मूलतयारी समितिले निर्माण गर्न सक्ने अधिकार दिईएको छ ।
ग) छैंठौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन, नीति तथा कार्यक्रम, जनमुक्ति विचारधाराको समय सापेक्ष विस्तृतीकरण लगायतका राजनीतिक दस्तावेजको मस्यौदा तयारी केन्द्रीय सचिवालयले गर्ने ।
घ) आगामी भदौं मसान्त सम्म अधिवेशन सम्पन्न भईसकेका मातहतका समितिबाट विधान अनुसार “महाधिवेशन मूलतयारी समिति” मा प्राप्त नामावलीहरुलाई मात्र छैठौं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि हुन सक्ने निर्णय भएको छ । छैठौं राष्ट्रिय महाधिवेशनका लागि सिफारिस हुने नामावली आगामी असोज मसान्त भित्र पार्टी केन्द्रीय सचिवालय वा मूल तयारी समितिको सचिवालयमा आईपुग्नु पर्नेछ ।

५. समवेदना प्रकट :
पार्टीका वरिष्ठ उपाध्यक्ष यम बहादुर बुढाथोकीको धर्मपत्नी म्याउची (ललिता) बुढाथोकीको मिति २०७५ चैत्र २३ गतेका दिन अकस्मात देहावसान भएको, संघीय परिषद सदस्य एवं पूर्व सैनिक संगठनका केन्द्रीय अध्यक्ष भीम बहादुर रानाको जेष्ठ सुपुत्र झलक राना मगरको मिति २०७५ चैत्र १६ गते अकस्मात रुपमा अल्पायु (वर्ष ३६) मा देहावसान भएकोमा र पार्टी परिवार भित्र शोक पर्न गएकोमा पार्टीले गहिरो दुःख ब्यक्त गरेको छ । साथै, शोक सन्तप्त परिवारजन प्रति पार्टी हार्दिक समवेदना व्यक्त गर्दछ । दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै बैठकमा १ मिनेट मौन धारण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो ।

मूलुक र जनता साथै पार्टी संगठनको विभिन्न पक्षहरु बारे बहुआयामिक छलफल पश्चात् उपरोक्त निर्णयहरु गर्दै अपराह्र ५ः४५ बजे स्थायी समिति बैठक अध्यक्ष के.पी. पालुङवा ज्यूबाट समापन गरियो ।

केशव सूर्यवंशी
महासचिव