संघीय गठबन्धनको बैठक राजमुपा कार्यालयमा

(पहिचान पक्षधर सबैलाई एक बनाउन जनमुक्ति लचिलो)

0
3563

राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रीय कार्यालय, धोबीघाट, ललितपुरमा आज दिनको २ बजे देखि पहिचानमा आधारित संघीय गठबन्धनको औपचारिक बैठक बस्यो । गठबन्धनमा आवद्ध दलहरुको संयोजकको हैसियतले राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले सो बैठकमा अध्यक्षता गर्नु भयो । अध्यक्ष पालुङवाले पटक पटकको बैठकको मर्मलाई एकाकार गर्न संघीय गठबन्धनको सदस्यको तर्फबाट आगामी दिनमा पार्टी एकता र सहकार्यको लागि १० बुँदे प्रस्ताव पेश गर्नु भएको थियो । उहाँले गठबन्धनको सदस्य राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट पेश गरिएको १० बुँदे प्रस्ताव अत्यन्तै आधारभूत र लचिलो रहेको बैठकमा बताउनु भयो ।
राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट पेश गरिएको प्रस्ताव सम्बन्धमा नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा. विजय सैंजु र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका अध्यक्ष कुमार लिङ्देनले विचार राख्दै नेपाः राष्ट्रिय पार्टीको चुनाव चिन्ह ‘खड्ग’ लिएर आगामी निर्वाचनमा भाग लिन प्रस्ताव गर्नु भयो । खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष आर.के. खम्बुले पनि खड्ग चिन्ह लिएर निर्वाचनमा जाने विचार राख्नु भयो ।
यसरी जाँदा कानूनी रुपमा सबै दलको मत नेपाः राष्ट्रिय पार्टीको हुने र नेपाः राष्ट्रिय पार्टी बाहेक सबै दलहरुको कानूनी हैसियत शून्य हुनुका साथै पार्टी एकताको भावी नीति कार्यान्वयन गर्न अप्ठेरो पर्ने सम्बन्धमा राष्ट्रिय जनमुक्ति पार्टीको ध्यान केन्द्रित भएको थियो । थप तयारीका साथ पुनः बैठक बस्ने गरी बैठक सम्पन्न भएको छ । वर्तमान सन्दर्भलाई समेत ध्यानमा राखी राष्ट्रिय जनमुक्ति पार्टीले सबै दलको अस्तित्वलाई सम्मान गर्दै प्रस्तुत पार्टी एकताको प्रस्तावलाई सबैको जानकारीका लागि जस्ताको तस्तै राखिएको छ ।

पहिचानमा आधारित संघीय गठबन्धनमा आवद्ध राजनीतिक दलहरु समक्ष पार्टी एकता, चुनावी गठबन्धन र सहकार्यका लागि राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट प्रस्तुत अवधारण : –
पहिचानमा आधारित संघीय गठबन्धनमा आवद्ध राजनीतिक दलका अध्यक्ष ज्यूहरु, सहभागी अन्य नेतागण ।
विषय :– पार्टी एकता तथा चुनावी गठबन्धन र सहकार्य बारे ।
देश र जनताको अधिकार, विकास र सम्वृद्धिका लागि सामूहिक रुपमा चिन्तन मनन गर्दै कृयाशिल हुने क्रममा हामी विभिन्न ठाउमा विभिन्न विषयमा पटक पटक छलफलमा केन्द्रित हुंदै आएता पनि ठोस निष्कर्षमा पुग्न नसकिएको सन्र्दभमा गठबन्धनमा आवद्ध राजनीतिक दलहरु बीच समसामयिक सन्र्दभमा थप शसक्त र एकाकार भर्ई अगाडि बढ्न सजिलो होस् भन्ने उद्देश्यका साथ देहाय बमोजिम अवधारण पेश गरिएको छ ।

१. हामी सबै परिर्वतनकामी, न्यायप्रेमी र मूलुकको विशिष्ट सम्वृद्धिका लागि दत्तचित्त भई लाग्दै आएकाहरु (पहिचानमा आधारित गठबन्धनमा आवद्ध राजनीतिक दलहरु) ले मूलुकमा जनताको बलबाट प्राप्त उपलब्धीको रक्षा गर्दै थप उपलब्धीका लागि शसक्त रुपमा अगाडि बढ्न सक्नु साझा दायित्व, ईमानदारिता र कार्य कुशलता पनि हो ।

२. नेपालको संविधान–२०७२ एकाधिकारवादी, सदियौं देखि कायम रही आएको एकाङ्की सोंचबाट मुक्त नभएकोले विशिष्ट चरित्र भएको मूलुक (नेपाल) को वास्तविक लोकतान्त्रिक व्यवस्थापन हुने व्यवस्था निमार्णको सुनिश्चित्ता भएको नयां संविधान निर्माण मुक्तिकामी, न्यायप्रेमी नेपाली जनताको सरोकारको विषय र आवश्यक्ता हो । त्यसका लागि संविधानको आधारभूत संशोधन वा पुनर्लेखनको मुद्दालाई थप बलशाली बनाउदै लगिनेछ ।

३. मूलुकको पछिल्ला राजनीतिक घट्नाक्रमहरुले नयां आवरणमा परम्परावादको भासमा नै लगेर देशलाई थन्को लगाउने षड्यन्त्रलाई थप पर्दाफास गरेको प्रति हामी पूर्ण रुपमा सचेत छौं र सम्पूर्ण न्यायप्रेमी नेपालीहरुलाई यस घट्ना प्रति पूर्ण रुपमा सचेत रहन अपील गर्दछौं ।

४. नेपाली जनता सामाजिक, सांस्कृतिक, राजनैतिक, आर्थिक लगायतका सबै पक्षबाट समानुपातिक रुपमा सहअस्तित्वमा रहने, समयक्रममा सम्वृद्ध हुदै जाने राजनीतिक वातावरण बनाउन हाम्रा निहित स्वार्थहरु गौण गर्दै थप बलशाली (सामूहिक रुपमा) हुने तर्फ हामी अविचलित भई अगाडि बढ्नेछौं ।

५. आ–आफ्ना दलहरुको पहिचानलाई अस्तित्वमा राख्ने चाहनालाई हामी एकअर्कामा सम्मान गर्दछौं ।

६. सयौं वर्षदेखि उत्पीडन खेप्दै आएका तर न्याय, समानता र सहअस्तित्वका लागि व्यग्र चिन्तन र शुभेच्छा जाहेर गर्ने आम मुक्तिकामी नेपालीहरुको मनोभावनालाई आत्मसाथ गर्दै मूलुकमा नयां राजनीतिक व्यवस्था जनबल/जनमतमा स्थापित गरी देशमा स्थायी शान्ति र दिगो विकासको आधार निर्माण गर्न हामी आगामी निर्वाचन कार्यक्रममा थप एकतावद्ध भएर अगाडि बढ्न प्रतिबद्ध भएका छौं ।

७. मुक्तिकामी जनताको वर्तमान चाहना, आकाँंक्षा र आवश्यक्तालाई सम्बोधन र परिपूर्ति गर्न आसन्न प्रादेशिक र राष्ट्रिय तहको निर्वाचनमा आपसी सहकार्य गरेर जान सामूहिक लक्ष्य निर्धारण गरेका छौं । सोही बमोजिम आसन्न निर्वाचनमा संघीय गठबन्धनमा आवद्ध दलका प्रत्येक्ष तर्फका उम्मेद्वारहरुलाई निजहरुको निर्वाचन चिन्हमा मतदान गर्न एक अर्को दलले पूर्ण रुपमा सहयोग गर्ने र राष्ट्रिय समानुपातिक मतका लागि राष्ट्रिय जनमुक्ति पार्टीको चुनाव चिन्ह घरमा मतदान गर्न संघीय गठबन्धनमा आवद्ध सम्पूर्ण दलहरु प्रतिबद्ध भएका छौं ।

८. हाम्रो गठबन्धनको यो चुनावी सहकार्यले आगामी दिनमा पार्टी एकताका लागि र आम नेपाली जनताको नेतृत्वकारी संगठन निर्माण गर्न थप हौसला प्रदान गर्ने विश्वासका साथ आगामी कार्यदिशा तय गरिएको छ । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन पश्चात् पार्टी एकता गर्न प्रतिबद्ध भएका छौं ।

९. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दवाब र अफवाहबाट हाम्रो गठबन्धन सदा सचेत रहन प्रतिबद्ध रहनेछ ।

१०. साझा सल्लाह बमोजिम साझा मर्मलाई आत्मसाथ गरी देश र जनताको पक्षमा हाम्रो घोषणा पत्र सार्वजनिक गरिनेछ ।

मिति : २०७४ असोज २५ गते बुधबार । धोबीघाट, ललितपुर ।

केपी पालुङ्वा – अध्यक्ष, राष्ट्रिय जनमुक्ति पार्टी

(एवं संयोजक, अन्तरपार्टी वार्ता समिति)