कोरोना विरुद्ध सचेतना अभियान चलाउने ।

0
1899
राष्ट्रिय जनमुक्ति पार्टीको स्थायी समितिको बिशेष बैठक काठमाडौंमा सम्पन्न भएको छ । यहि चैत्र ५ र ६ गते पार्टीको केन्द्रीय सचिवालय, चक्रपथमा पार्टी अध्यक्ष के.पी. पालुङ्वाको अध्यक्षतामा बसेको बैठकले समसामयिक परिस्थिति बारे गम्भीररूपमा छलफल गर्दै बिभिन्न निर्णयहरू पारित गरेकोछ ।
बैठकले विश्वव्यापी महामारीको रूपमा देखापरेको कोरोना (कोभिद—१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै त्यसका विरुद्ध आवस्यक सचेतना तथा हातेमालोका लागि पार्टी सम्बद्ध जनशक्ति एवं स्वयंमसेवक परिचालनको निर्णय गर्दै, यसको लागि केन्द्रीय सचिवालयलाई जिम्मेवारी प्रदान गरिएकोछ । कोरोना विरुद्धको सचेतना अभियान अन्तर्गत पार्टीले मातहतका संगठन तथा भातृसंगठनहरूलाई आवस्यकता अनुसार परिचालन गर्ने, मास्क, साबुन, सेनिटाईजर बितरण गर्ने, सञ्चार माध्यममा सचेतनाका लागि जिंगल प्रसारण गर्ने, होल्डिंग बोर्ड राख्ने, आवस्यक तालिम दिई स्वयंमसेवक खटाउने जस्ता कार्यमा सहयोग पु¥याउनेछ । साथै, कोरोना महामारीको नाममा भ्रष्टाचार गर्ने, कालोबजारी गर्ने, कृत्रिम अभाव सृजना गर्नेहरू विरुद्ध पनि पार्टीले निगरानी बढ़ाउने भएकोछ ।
बैठकले वैशाख ६—९ मा गर्ने भनि तय भएको पार्टीको छैठौं महाधिवेशन प्रतिनिधिमूलक रुपमा आगामी जेठ २५, २६ र २७ गते गर्ने निर्णय पनि गरेकोछ । पार्टीको आन्तरिक तयारी र कोरोना महामारीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै महाधिवेशनको नयाँ मिति तय गरिएको पार्टी सचिवालयले बताएको छ । बैठकले आगामी वैशाख १५ भित्र सांगठनिक कार्यहरू प्रतिनिधिमूलक ढङ्गबाट सम्पन्न गराउने र उक्त कार्यक्रमहरूमा कोरोना (कोभिद—१९) बाट सुरक्षित रहने बारेमा पनि प्रशिक्षित गरिने कार्ययोजना बारे छलफल गरिएकोछ ।