निवर्तमान वरिष्ठ उपाध्यक्ष बुढाथोकीको निधनप्रति शोक व्यक्त

"राष्ट्रिय जनमुक्ति पार्टीको झण्डालाई मातहतका कार्यालयहरुमा आजदेखि तीन दिन सम्म झुकाउने निर्णय"

0
1400

राष्ट्रिय जनमुक्ति पार्टीले आज शोक वक्तव्य प्रकाशित गरी संघीय परिषद (केन्द्रीय समिति) का निवर्तमान वरिष्ठ उपाध्यक्ष यम बहादुर बुढाथोकीको निधन प्रति शोक व्यक्त गरेको छ । यसका साथै उहाँको निधनले पार्टीमा अपूरणीय क्षति पुगेको पार्टीले जनाएको छ । संघीय परिषद (केन्द्रीय समिति) का निवर्तमान वरिष्ठ उपाध्यक्ष यम बहादुर बुढाथोकीको उपचारका क्रममा अल्का अस्पताल, ललितपुरमा यही मिति २०७८ साल चैत ७ गतेका दिन भएको निधनले पार्टीलाई स्तब्ध बनाएको भन्दै अध्यक्ष खड्ग प्रसाद (केपी) पालुङ्वाले आज शोक वक्तव्य जारी गर्नु भएको छ ।

(दिवंगत नेता यम बहादुर बुढाथोकी)

यसै क्रममा दिवंगत नेता यम बहादुर बुढाथोकीले पार्टीमा पुरयाउनु भएको योगदानको बारेमा पनि वक्तव्यमा भनिएको छ – ‘राष्ट्रिय जनमुक्ति पार्टीले आत्मसाथ गरेको ‘जनमुक्ति विचारधारा’को विकास, यसकोजगमा टेकेर नेपाली समाज र राज्यसत्ताको स्वरुपमा आमूल परिवर्तनका लागि निरन्तर कटीबद्ध व्यक्तित्वको निधनले पार्टी गहिरो शोकमा परेको छ । उमेरका हिसाबले उहाँ ८० वर्षको भएता पनि पार्टीको विकासका लागि उहाँले निरन्तर घच्घचाउने, सुझावहरु पेश गर्ने कार्य गर्दै आउनु भएको थियो । यसका साथै उहाँले पार्टीमा आर्थिक, नैतिक, भौतिक सबै खालका योगदानहरु दिंदै आउनु भएको थियो ।’
अध्यक्ष पालुङ्वाले आगामी बैशाख ३० गते सम्पन्न हुन गईरहेको स्थानीय निर्वाचनका लागि पार्टीले तयारीमा जुटीरहेको अवस्थामा पार्टीका एक होनहार व्यक्तित्व एवं नेताको निधन हुँदा त्यसले पार्टीलाई अपूरणीय क्षति भएको छ भन्ने हामीलाई महशुस भएको बताउनु भएको छ ।
शोकको यस घडीमा राष्ट्रिय जनमुक्ति पार्टीले निवर्तमान वरिष्ठ उपाध्यक्ष यम बहादुर बुढाथोकीको सम्मानमा आफ्नो कार्यालयका झण्डालाई आजदेखि तीन दिन सम्म झुकाउने निर्णय गरेको छ । मातहतका समितिहरुले पनि सोही अनुसार गर्न गराउन निर्देशन पनि जारी गरिएको छ ।
वक्तव्यमा भनिएको छ – ‘पार्टी जीवनमा परेको यस शोकाकूल परिस्थितिका वाबजुद उहाँको सपनालाई साकार पार्नका लागि पनि शोकलाई शक्तिमा बदलेर सम्पूर्ण नेता कार्यकर्ताहरु सकृयताका साथ साँगठनिक कार्यमा जुट्न पार्टी आव्हान गर्दछ ।’
पार्टीले दिवंगत यम बहादुर बुढाथोकीलाई निर्वाण प्राप्त होस् भन्ने कामना गर्दै पार्टी उहाँप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरेको छ साथै शोकाकूल परिवारजनमा पार्टीको तर्फबाट हार्दिक समवेदना व्यक्त गरेको छ ।

शोक वक्तव्यको पूर्ण पाठ :