एउटा सदस्य नजिते पनि मध्यविन्दू नगर कार्यपालिकामा प्रतिनिधित्व गराउन सफल भयौं : नवलपुर अध्यक्ष

0
1200
(राष्ट्रिय जनमुक्ति पार्टी, नवलपरासी (बर्दघाट सुस्ता पूर्व – नवलपुर) का अध्यक्ष तिल बहादुर झेंडी मगर)

राष्ट्रिय जनमुक्ति पार्टी, नवलपरासी (बर्दघाट सुस्ता पूर्व – नवलपुर) का अध्यक्ष तिल बहादुर झेंडी मगरले सो जिल्लाको मध्यविन्दू नगरपालिकामा नगर कार्यपालिका सदस्य मनोनित गर्न सफल भएको बताउनु भएको छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा जिल्लाको मध्यविन्दू नगरपालिकामा नेकपा (एमाले) संग सहकार्य गरी विभिन्न वडाहरुमा राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट सदस्यहरु चुनावी प्रतिस्पर्धामा उतारिएको थियो । निर्वाचनको आशातित नतिजा नआएपनि सो नगरपालिकामा पार्टीले नगर कार्यपालिका सदस्य मनाेनित गराउन सफल भएको हो ।

(मध्यविन्दू नगर कार्यपालिकामा राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट नगर कार्यपालिका सदस्य निर्वाचित उमा कुमाल (४२) नीलो घेरामा)

दुई पार्टी बीचको सहकार्य अन्तर्गत सहमति गरिए अनुसार राष्ट्रिय जनमुक्ति पार्टी, मध्यविन्दू नगर समितिका सदस्य उमा कुमाल (४२) लाई पार्टीको तर्फबाट नगर कार्यपालिका सदस्य निर्वाचित (मनोनयन) गराउन सफल भएको हो । यद्यपि नवलपुर नगरपालिका, वडा नं. ११ का लागि खुल्ला सदस्यका संयुक्त उम्मेद्वार तिल बहादुर झेंडी मगरले घर चिन्हमा ७४७ मत प्राप्त गरी तेश्रो स्थानमा चित्त बुझाउनु परेको थियो । “मध्यविन्दू नगरपालिकामा हामीले सहकार्य गरेका वडाहरुमा संयुक्त प्यानलले वीजय भएपनि नभए पनि राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट नगर कार्यपालिका सदस्यका लागि गरेको समझदारी अनुसार आफूले नजिते पनि एउटा नगर कार्यपालिका सदस्य पठाउन/प्रतिनिधित्व गराउन सफल भएका छौ”, अध्यक्ष झेंडी मगरले पार्टीमा जानकारी गराउनु भएको छ ।
हाल राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट मध्यविन्दू नगरपालिकाका नगर कार्यपालिका सदस्य उमा कुमाल मध्यविन्दू ११ कुसुण्डे निवासी हुनुन्छ । उहाँले आफू मध्यविन्दू नगरपालिकामा नगर कार्यपालिकामा मनाेनित हुन पाउँदा अत्यन्त हर्ष लागेको बताउनु भएको छ । यसका साथै पार्टीलाई, पार्टीका नगर र जिल्लाका नेतृत्वप्रति हार्दिक आभार पनि व्यक्त गर्नु भएको छ ।

माङ्सेबुङ्ग ५ मा राष्ट्रिय जनमुक्ति पार्टीको प्यानल नै वीजयी
स्थानीय निर्वाचन बैशाख ३० कै सन्दर्भमा इलाम जिल्लाको माङसेबुङ्ग गाउँपालिका वडा नं. ५ मा राष्ट्रिय जनमुक्ति पार्टीको पुरा प्यानल नै वीजयी भएको छ । सो वडामा राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट अघिल्लो स्थानीय निर्वाचन (२०७४) मा वीजयी अध्यक्ष नरेन्द्र कुमार राई (४०) पुनः निर्वाचित हुनु भएको छ ।

(इलाम जिल्लाको माङसेबुङ्ग गाउँपालिका वडा नं. ५ मा राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट वीजयी अध्यक्ष नरेन्द्र कुमार राई नीलो घेरामा लगायतका सदस्य ज्यूहरु)

सो गाउँ पालिकामा महिला सदस्यका उम्मेद्वार तिलरुपा सवेहाङ्ग (४७) निर्विरोध निर्वाचित हुनु भएको हो । दलित महिला सदस्यमा २४ वर्षीया गंगामाया विश्वकर्मा विजयी हुनु भएको छ भने सदस्यहरुमा वीर बहादुर कुरुम्बाङ्ग (५६) र सुरेन्द्र तुम्बाहाम्फे लिम्बु (४१) निर्वाचित हुनु भएको छ ।

बुटवल उपमहानगरपालिकामा तुल बहादुर सारु (थापा)

(राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट बुटवल उपमहानगर पालिकाको वडा नं. ८ मा सदस्य पदमा वीजयी पार्टीका पुराना व्यक्तित्व तुल बहादुर सारु (थापा) नीलो घेरामा)

स्थानीय तहमा विभिन्न दलहरुसंग सहकार्य गरी निर्वाचनमा लड्न सकिने पार्टीको तत्कालिन नीति अनुसार बुटवल उपमहानगरपालिकामा नेकपा एमालेसंग सहकार्य भएको थियो । सहकार्य गरेका दलहरुको नेतृत्व (नगर प्रमुख) वीजय हुन सकेन । राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट चुनाव चिन्ह घर लिई बुटवल उपमहानगर पालिकाको विभिन्न वडाहरुमा सदस्य पदमा चुनावी प्रतिस्पर्धामा होमिएको भएता पनि वडा नं. ८ मा मात्र सफलता हासिल भएको छ । सो वडामा पार्टीका पुराना व्यक्तित्व तुल बहादुर सारु (थापा) (६२) ले घर चिन्हबाट १३४१ मत ल्याई वीजय हासिल गर्नु भएको हो ।

कालीगण्डकी स्याङ्गजामा विष्णु झेंडी महिला सदस्य
स्याङ्गजा जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं. २ मा राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट महिला सदस्यका उम्मेद्वार विष्णु झेंडी (३७) ले १२१२ मत ल्याई वीजयी हुनु भएको छ । सो गाउँपालिकामा नेपाली काँग्रेससंग चुनावी सहकार्य गरिएको थियो । चुनावी सहकार्य अन्तर्गत स्याङ्गजा जिल्ला अध्यक्ष बम लामिछाने मगरले कालीगण्डकी गाउँपालिकाको उपाध्यक्षमा उम्मेद्वारी दिनु भएकोमा ४८३० मत प्राप्त गर्नु भयो ।

पाल्पाको तिनाउमा सबै उम्मेद्वार महिला
स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० मा तिनाउँ गाउँपालिका (पाल्पा) मा राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट सबै उम्मेदवारहरु महिला उठाईएको थियो । निर्वाचन परिणाममा वीजय प्राप्त हुन नसके पनि देश भरीकै उम्मेद्वारहरुको प्यानल मध्ये महिला मात्र उम्मेद्वाहरु उठाएर राष्ट्रिय जनमुक्ति पार्टी, तिनाउँ गाउँपालिकाले इतिहास कायम गरेको छ । उम्मेद्वारहरुमा अध्यक्ष पदका प्रत्यासी लक्ष्मी कुमारी अस्लामी (४९), उपाध्यक्ष पदका प्रत्यासी बसन्ती थापा (४८), वडा नं. ६ मा वडा अध्यक्षका प्रत्यासी मन कुमारी सिंजाली (४०), सदस्य पदका प्रत्यासी नारायणी थापा (३७), निर्मला सिंजाली (३१), महिला सदस्य कमला अस्लामी (४३), दलित महिला सदस्य हुमा कुमारी दर्जी (४४) हुनुन्छ । उहाँहरुको प्रतिस्पर्धाले सो गाउँपालिकामा पार्टीले तेश्रो स्थान प्राप्त गरेको छ ।

तिलोत्तमा (रुपन्देही) मा रहर लाग्दो प्रतिस्पर्धा
स्थानीय निर्वाचन (बैशाख ३०, २०७९) मा राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट प्रतिस्पर्धा गर्दा तिलोत्तमा नगरपालिका (रुपन्देही) मा निकै नै रौनकता देखिएको थियो । त्यसो त झापाको भद्रपुर र अर्जुनधारा नगरपालिका र, रुपन्देहीकै सिद्धार्थनगर नगरपालिकामा पनि चुनावी रौनकता उत्साहजनक नै देखिएको थियो । तर तुलनात्मक रुपमा भने रुपन्देहीको तिलोत्तमामा पार्टीको चहलपहल साँच्चिकै उत्साह जनक र प्रतिस्पर्धीहरुमा पनि दवाब पैदा गर्ने स्तरकै देखियो ।
तिलोत्तमामा पार्टीको चुनावी गतिविधि उत्साहजनक हुनुका साथै मत गणना कार्य पनि चाख लाग्दो रहयो । मतगणनामा पहिलो तीन दिन सम्म पनि नगरको एउटा वडाकै सेरोफेरो घुमीरहदा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेद्वारहरु, स्थानीय क्षेत्रमा रहनु हुने सबै तहका नेता कार्यकर्ताहरुको आन्दोलनात्मक दवाबका कारणबाट मतगणना कार्य सौहाद्र्ध ढङ्गले अगाडि बढ्न सक्यो । मतगणना स्थल पनि यस्तो देखिन्थ्यो कि जीत जनमुक्तिले नै निकाल्दैछ । मतगणनाको अन्तिम परिणाम आउँदा सम्म सबै नेता कार्यकर्ताहरुले निरन्तर साथ दिईरहेको व्यवस्थित उपस्थिति यसपालीको स्थानीय निर्वाचनमा देशभरीमै तिलोत्तमामा उदाहरणीय रहयो ।
पार्टीको रणनीतिक वीजयका लागि निकै उत्साहका साथ सबै नेता कार्यकर्ताहरु चुनावी मैदानमा होमिनु भएको थियो । कतिपय वडाहरुमा जीत पक्का गर्ने आकलनका साथ अगाडि होमिएको सो चुनावी प्रतिस्पर्धामा निम्नानुसार मतपरिणाम प्राप्त भएको थियो । जस अनुसार — नगर प्रमुखका प्रत्यासी सुन्दर गुरुङ्ग (३४) ले ५६१४, उपप्रमुखका प्रत्यासी गीता सारु (४६) ले ७६०८, वडा अध्यक्षका प्रत्यासीहरुले क्रमशः वडा नं. १ मा जीवन प्रसाद बुढाथोकी (४०) ले ५२१, वडा नं. २ मा भीम बहादुर राना (६२) ले २६०, वडा नं. ३ मा केशरी तरामु (३८) ले २१९, वडा नं. ४ मा मधु थापा (२९) ले ३१४, वडा नं. ५ मा कमल बहादुर थापा (६५) ले ९६, वडा नं. ६ मा राधिका श्रीस पुन (४१) ले ६४३, वडा नं. ७ मा गिरी प्रसाद राना (५६) ले १०३४, वडा नं. ८ मा प्रेम बहादुर वीरकट्टा (६७) ले १३८, वडा नं. ९ मा आश बहादुर गुरुङ्ग (६४) ले ४५६, वडा नं. १० मा महादेव थारु (६१) ले १८०, वडा नं. ११ मा प्रेम बहादुर कनौजे (४७) ले १४९, वडा नं. १३ मा कृष्ण बहादुर सारु मगर (६१) ले २२७, वडा नं. १४ मा भोम बहादुर बुढा (६१) ले ७४५, वडा नं. १५ मा युद बहादुर फगामी (५०) ले २९७, वडा नं. १६ मा दिलमाया गुरुङ्ग (५०) ले १३१, वडा नं. १७ मा दुर्गा थारु (२३) ले २८ मत प्राप्त गर्नु भएको थियो ।
“राष्ट्रिय जनमुक्ति पार्टीलाई तिलोत्तमा नगरका जनताले रणनीतिक जीत हासिल गर्न हातेमालो गर्नुका साथै सफलता दिलाएको तिलोत्तमा नगर समितिले निक्र्योल गरेको नगर अध्यक्ष भोम ब. बुढा मगरले बताउनु भएको छ ।”

यसैबीच सहकार्यको क्रममा कतिपय स्थानहरुमा प्राविधिक त्रुटी भएकोले त्यस्ता स्थानका वीजित सदस्यहरुको सम्बन्धमा पार्टीले कानूनी प्रावधान बारे छलफल चलाएको छ । यस अन्तर्गत पाँचथर जिल्लाकाे मिक्लाजाेङ्ग गाउँपालिका वडा नं. ३ मा खुल्ला सदस्यमा वीजयी सन्त ब. कुरूम्बाङ (४३), नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैंडाकोट नगरपालिका वडा नं. १ मा वीजयी खुल्ला सदस्य चेलीमाया सारु (३४), कावासोती नगरपालिका वडा नं. १ का खुल्ला सदस्य ओम बहादुर थापा (४१), महिला सदस्य सीमा रकिम कानुङ्ग मगर (३४), देवचुली नगरपालिका वडा नं. ११ मा वीजयी महिला सदस्य वेलीमाया पुलामी मगर (४३), मध्यविन्दू नगरपालिका वडा नं. १० मा वीजयी महिला सदस्य तुल्सी देवी थापा (२९), रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ७ मा वीजयी महिला सदस्य झुमा काउचा (४०), शुद्धोधन गाउँपालिका वडा नं. ४ मा सदस्य पदमा वीजयी टोल प्रसाद राना (५७), वडा नं. ५ मा सदस्य पदमा वीजयी भीम बहादुर छहारी (५१) हुनुन्छ । निर्वाचन तालमेलको सन्दर्भमा सत्तासिन दलहरुबाट विजित उम्मेद्वारहरुको सन्दर्भमा पनि प्राविधिक त्रुटी भएको छ । पूर्व झापादेखि पश्चिम महाकाली पारी चाँदनी दाेधारा नगरपालिका सम्म राष्ट्रिय जनमुक्ति पार्टीले स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गरेको छ ।

सम्पन्न स्थानीय निर्वाचन र पार्टीको उपस्थिति, समसामयिक राजनीति र साँगठनिक विषयहरु बारे छलफल गर्न यही जेठ २६ गते देखि राजधानी काठमाडौंमा पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने भएको छ । बैठक जेठ २६ र २७ गते केन्द्रीय कार्यालय (नारायणगोपाल चोक, महाराजगञ्ज), काठमाडौंमा बस्नेछ ।

(द्रष्टब्य : उपयुक्त तस्वीरहरु प्राप्त नभएकोले सम्बन्धित सबै तस्वीहरु राख्न सम्भव हुन सकेन – जनमुक्ति डेस्क)