मेलम्चीमा प्राकृतिक विपत्ति दुःखद छ

"पार्टीका सम्पूर्ण पङिक्तलाई यथाशक्य सहयोगमा जुट्न आव्हान"

0
1061

राष्ट्रिय जनमुक्ति पार्टीले केही दिन अगाडि लगभग एक हप्ता सम्म परेको झरीबाट सिन्धुपाल्चोकको मेलम्चीमा हुन गएको प्राकृतिक विपत्ति प्रति गहिरो दुःख व्यक्त गरेको छ । लगातारको झरीका कारण मेलम्ची खोलामा पानीको बहाव बढेर एकाएक वरीपरीको वस्तीमा प्रवेश गरी धनजनको क्षति भएको प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष खड्ग प्रसाद (केपी) पालुङवाले बताउनु भएको छ । उहाँले यही असार ४ गते एक विज्ञप्ति जारी गर्दै सो कुरा बताउनु भएको हो ।


मेलम्ची बजार क्षेत्रमा बाढीको प्रवेशले पुरयाएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै सो विपत्तिमा अलपत्र परेका जनताको तत्काल उद्दार र उहाँहरुलाई उचित बसोबास तथा राहतको व्यवस्था गर्न विज्ञप्ति मार्फत सरकारलाई आव्हान समेत गरिएको छ । घाईतेहरुको उचित उपचार, बेपत्ताहरुको शिघ्र खोजी कार्यमा सरकार तत्काल लाग्नु पर्ने भन्दै पार्टीका सम्पूर्ण पङिक्तलाई यथाशक्य सहयोगमा जुट्न समेत अध्यक्ष पालुङवाले आव्हान गर्नु भएको छ । यसका साथै दिवंगतहरुप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।
स्मरण रहोस् राष्ट्रिय जनमुक्ति पार्टीले गत वर्ष कोरोना महामारीका समयमा पीपीईको व्यवस्था गरी देशका विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रहरुमा वितरण गर्नुका साथै यस पालीको दोश्रो लहरका समयमा निःशुल्क खाद्यान्न तथा फलफूल वितरण साथै रक्तदान समेत गरेको थियो ।