राष्ट्रिय जनमुक्ति पार्टीको पांचौ राष्ट्रिय महाधिवेशन : शब्द चित्रमा

0
2802

राष्ट्रिय जनमुक्ति पार्टीको पांचौ राष्ट्रिय महाधिवेशन मिति २०७३ जेठ २८, २९ र ३० गतेका दिन ललितपुर (काठमाडौं) मा सम्पन्न भयो । पांचौ राष्ट्रिय महाधिवेशनलाई पार्टी अध्यक्ष एवं राष्ट्रिय जनमुक्ति पार्टी, पांचौ राष्ट्रिय महाधिवेशन मूल आयोजक समितिका संयोजक श्री एम.एस.थापाले उद्घाटन गर्नु भएको थियो । सिद्धार्थ कटेज धोबीघाट, ललितपुरमा २०७३ जेठ २८ गते उद्घाटन  गरिएको पांचौ राष्ट्रिय महाधिवेशनको बन्दसत्र ललितपुर मगर सेवा समाजको भवन, रानीबुँ (ललितपुर) मा २९ र ३० गते सम्पन्न भएको थियो ।

पाँचौ अधिवेशनबाट नयाँ संघीय परिषद (केन्द्रीय समिति) निर्वाचन गर्नका लागि अधिवक्ता श्री चेत बहादुर आलेको संयोजकत्वमा सदस्यहरु संघीय सभा सदस्य हर्कमान तुम्बाहाम्फे र अधिवक्ता बालकिशोर राना सम्मिलित निर्वाचन समिति बनाईएको थियो । सो समितिलाई सहयोग गर्नका लागि राष्ट्रिय दलित मोर्चाका महासचिव लाल बहादुर गोतामे, राष्ट्रिय महिला मोर्चाका केन्द्रीय सचिव ईन्द्रा दर्लामीलाई चयन गरिएको थियो ।

महाधिवेशनले के.पी. पालुङवालाई अध्यक्षमा चयन गरेको छ । २५ पदाधिकारी निर्वाचित सहित ६९ सदस्यीय संघीय परिषद (केन्द्रीय समिति) को निर्वाचन गरेको सो महाधिवेशनले संस्थापक अध्यक्ष श्री एम.एस.थापालाई सम्मान गर्दै पार्टीको संरक्षकको रुपमा चयन गरेको छ । त्यस्तै संस्थापक नेता राम बहादुर तुम्बाहाम्फेलाई केन्द्रीय अनुगमन समितिको संयोजकको रुपमा चयन गरेको छ भने प्रादेशिक ईन्चार्जको जिम्मेवारी बहन गर्ने गरी प्रादेशिक उपाध्यक्षहरुको व्यवस्था गरेको छ । साथै पार्टीले पहिलो पटक उपाध्यक्षहरु समावेशी (महिला, मधेशी–मुश्लिम, दलित, खस आर्य र अल्पसंख्यक/सिमान्तकृतको) प्रतिनिधित्व हुने गरी पाँच जना उपाध्यक्ष रहने व्यवस्था गरेको छ । केन्द्रीय समितिमा महिलाहरुको लागि न्यूनतम् ३३ प्रतिशत सीट संख्या छुट्टयाउनुको साथै दलित र पूर्व सैनिकहरुका लागि समेत न्यूनतम् १० सीटका दरले आरक्षण कोटा रहने व्यवस्था गरेको छ । पाँचौ राष्ट्रिय महाधिवेशनले १४ बुँदे राजनीतिक प्रस्ताव पारित गरेको छ । पार्टीले सरकारको नेतृत्व गर्ने अवस्था नबन्दा सम्म पार्टीको मुख्य कार्यकारी नेतृत्व (अध्यक्ष र महासचिव) सरकारमा वा अन्य लाभको पदमा नजाने नीति महाधिवेशनले पारित गरेको छ । यस अघि ५ वर्षमा राष्ट्रिय महाधिवेशन हुने व्यवस्था भएकोमा संगठनलाई गतिशिलता प्रदान गर्ने उद्देश्यले ३ वर्षमा राष्ट्रिय महाधिवेशन हुने पद्दति पारित गरिएको छ ।

राष्ट्रिय जनमुक्ति पार्टीसँग परशुराम तामाङ नेतृत्वको समूह (संघीय गणतान्त्रिक समाजवादी पार्टी, नेपाल) एकतामा आईसकेपछि पाँचौ राष्ट्रिय महाधिवेशनमा अनुमोदन गराउने गरी संघीय जनमुक्ति पार्टी नाम प्रस्तावित गरिएकोमा पांचौ महाधिवेशनको बन्द सत्रको पूर्व सन्ध्यामा परशुराम तामाङ नेतृत्वको समूह डा.बावुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल (पार्टी) मा विलय हुने आधिकारिक निर्णय लिए पश्चात् महाधिवेशनको बन्द सत्रले प्रस्तावित नाम (संघीय जनमुक्ति) लाई खारेज गरी राष्ट्रिय जनमुक्ति पार्टीको नाम नै कायम राखी बन्द सत्र सञ्चालन अगाडि बढेको थियो । सो बन्द सत्रले नँया शक्ति पार्टीमा प्रवेश गर्ने परशुराम तामाङ समूहसंग पार्टीको कुनै सम्बन्ध नरहेको घोषणा गर्दै पार्टी हित विपरीत कार्यमा लागेका रवीन्द्र सुनार, रत्न सिंह राना, रविन्द्र थिङ्ग, रविन गोले, विश्वराज राई, चुल बहादुर पुलामी, प्रेम पोख्रेल वि.क., पदम बहादुर गुरुङ्ग, रुद्र बहादुर गुरुङ्ग, टंक बहादुर हिम्दुङ्ग, टेक बहादुर लामा, पञ्चराम लो तामाङ, सावित्री लामा र सूर्य साम्वाहाम्फेलाई महाधिवेशन बन्द सत्रले नै पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन ग¥यो ।

नवनिर्वाचित अध्यक्ष श्री के.पी.पालुङवाको नेतृत्वमा पार्टी नेता तथा कार्यकर्ताहरुको टोली २०७३ असार ३ गते निर्वाचन आयोग, नेपालमा गई पार्टी महाधिवेशनका निर्णयहरु सहितको आवश्यक विवरणहरु बुझायो । पांचौं महाधिवेशनले गरेका निर्णयहरु सार्वजनिक गर्न २०७३ असार ५ गतेका दिन घोषणा कार्यक्रम गरी राष्ट्रिय जनमुक्ति पार्टीको पांचौ राष्ट्रिय महाधिवेशन आधिकारिक रुपमा सम्पन्न भएको जानकारी गराईयो ।

  • केन्द्रीय सञ्चार विभागको तर्फबाट ।