संघीय परिषदको सातौं बैठक सम्पन्न ।

0
1889
?

राष्ट्रिय जनमुक्ति पार्टी, संघीय परिषदको सातौं बैठक महाराजगञ्ज काठमाडौंमा मिति २०७५ चैत्र ५ र ६ गते सम्पन्न भयो । अध्यक्ष केपी पालुङ्वा ज्यूको अध्यक्षता तथा संरक्षक एम.एस.थापा र वरिष्ठ नेता डि.के.बुद्धिष्ट ज्यूको विशेष उपस्थितिमा सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको छ । प्रमुख निर्णयहरु देहाय बमोजिम रहेका छन् ।

१. महाधिवेशन, सदस्यता, गोष्ठी प्रशिक्षण सम्बन्धमा :
क) पार्टीको छैंठौं राष्ट्रिय महाधिवेशन मिति २०७६ सालको मंसिर महिनाभित्र सम्पन्न गरिनेछ । महाधिवेशनको मिति, स्थान र अन्य जिम्मेवारी सम्बन्धमा स्थायी समितिले निर्णय गर्नेछ ।
ख) केन्द्रीय सचिवालयको तर्जुमा र सम्बन्धित प्रदेश समितिहरुको व्यवस्थापनमा पार्टीको विधान सम्बन्धी अन्तरकृयात्मक गोष्ठी आयोजना गरिनेछ ।
ग) प्रदेश २, ३, ६ र ७ को अधिवेशन ०७६ बैशाख मसान्तभित्र सम्पन्न गरिनेछ । यसैगरी २०७६ असोज मसान्तभित्र अवधी पुरा भएका गाउँ/नगर समितिहरुको अधिवेशन अनिवार्य रुपमा सम्पन्न गरीसक्ने ।
घ) २०७६ असार मसान्त सम्मको सदस्यता अद्यावधीका लागि प्रदेश समितिहरुलाई जिम्मेवारी प्रदान गरिएको छ । आगामी २०७६ असोज मसान्तभित्र सदस्यता अद्यावधी सम्पन्न गरिनेछ ।
ङ) जनसंगठनका केन्द्रीय पदाधिकारीहरुको संयुक्त भेला तथा प्रशिक्षण (२०७६ बैशाख मसान्तभित्र) सम्पन्न गरिनेछ । अवधी पुरा भएका जनसंगठनहरुको महाधिवेशन ढिलोमा २०७६ भदौ मसान्तभित्र सम्पन्न गरिनेछ ।

२. राष्ट्रिय राजनीतिक घट्नाक्रम सम्बन्धमा :
क) सेना परिचालन सम्बन्धी प्रधानमन्त्रीलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्तावित विधेयकप्रति हाम्रो पार्टी गम्भीर आपत्ति प्रकट गर्दछ ।
ख) नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीलाई नेपाल सरकारले प्रतिबन्ध लगाएर नभई राजनीतिक वार्ताबाट मूलधारमा ल्याउने प्रयास गर्नु पर्दछ ।
ग) ११ बुँदे सहमति मार्फत हिंसा र पृथकताको बाटो परित्याग गरी शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन सहमत सिके (चन्द्रकान्त) राउतको नेतृत्वमा ‘जनमत पार्टी’ समेत घोषणा हुनुलाई राजमुपाले सकारात्मक रुपमा लिएको छ ।
घ) नागरिकता सम्बन्धमा सातै प्रदेशमा राष्ट्रिय बहस कार्यक्रम आयोजना गरिनेछ ।

३. कारवाही सम्बन्धमा :
पार्टीको पाँचौं राष्ट्रिय महाधिवेशनको ‘म्याण्डेट’ र विधान विपरीत कार्य गर्दै आएका मानध्वज ब्लोन (सहअध्यक्ष), टीकाराम शर्मा (खसआर्य उपाध्यक्ष), सोम ब. थिङ्ग (प्रादेशिक उपाध्यक्ष), बाबुकाजी महर्जन (प्रादेशिक उपाध्यक्ष) का साथै संघीय परिषद सदस्यहरु शिव प्रसाद आचार्य, ईन्द्रमान थिङ्ग, दिल बहादुर तामाङ्ग, माधवराज गिरी र सल्लाहकार दयानन्द (डि.एन.) थापाले राजपा नेपाल प्रवेश गरेको पुष्टी भएको हुँदा निजहरुलाई पार्टी विधानको दफा ८.२, ८.३ र ८.६ अनुसार साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको छ ।

४. ३९ बुँदे कार्यक्रम सम्बन्धमा :
पार्टीले २०७५ असोज २ गते नेपाल सरकारलाई पेश गरेको ३९ बुँदे ज्ञापन पत्रलाई स्थानीय तह सम्म पुरयाउने गरी आन्दोलनात्मक कार्यक्रम अगाडि बढाउने निर्णय भएको छ । यस सम्बन्धमा कार्यक्रम सहित केन्द्रीय अध्यक्षबाट मातहतका समितिहरुलाई निर्देशन हुनेछ ।

५. विशेष आर्थिक अभियान :
पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण वा खरीदका लागि कोषाध्यक्ष डब बहादुर गर्बुजा पुन मगर ज्यूको संयोजकत्वमा ‘विशेष आर्थिक अभियान समिति’ गठन भएको छ ।

६. स्वास्थ्य लाभको कामना :
पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्व साँसद छियामा राई ज्यू अस्वस्थ हुनु भएकोमा पार्टीले उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

७. समवेदना र श्रद्धान्जली प्रकट :
पार्टी अध्यक्ष केपी पालुङ्वा ज्यूलाई परेको पितृशोक प्रति गहिरो दुःख व्यक्त गर्दै उहाँ र परिवारजनमा पार्टीले समवेदना प्रकट गरेको छ । साथै पार्टीका केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिका उपप्रमुख तीर्थ राई ज्यूको गत फागुन १२ गते अकस्मात निधन भएकोमा सिंगो पार्टीलाई अपूरणीय क्षति भएको छ । शोकको यस घडीमा दिवंगत नेता तीर्थ राई प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी हार्दिक समवेदना प्रकट गर्न चाहन्छ ।