किराँत प्रदेशमै एकताबद्ध भएर आन्दोलन उठाउन अध्यक्ष पालुङ्वाको प्रस्ताव

0
660

कोशी प्रदेश नाम खारेज गरेर के नाम राख्ने भन्ने विषयमा पहिचान पक्षधरहरुकै बीचमा साझा धारणा बन्न नसकीरहेको बेला राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले साझा नामको रुपमा किराँत प्रदेश लिएर जान प्रस्ताव गर्नु भएको छ ।

उहाँले लिम्बुवान, खम्बुवान, कोचिलादेखि धिमाल र याक्खा स्वायत्त क्षेत्रसम्म रहने गरी हालका लागि किराँत प्रदेशको परिकल्पना गरेर अघि बढ्न पहिचानवादीहरुको बीचमा प्रस्ताव राख्नु भएको हो ।

‘म राष्ट्रिय जनमुक्ति पार्टी लगायत सात घटकबाट एउटा प्रस्ताव गर्न चाहन्छु’, केही दिनअघि प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले झापामा आयोजना गरेको कार्यक्रममा उहाँले भन्नु भयो – ‘कोशी नाम खारेजीपछिको विकल्प के हो त ? यहाँ हामी अल्मलिईरहेका छौं । कोशी नाम खारेजीको आन्दोलन त छँदै छ, तर आन्दोलनपछिको विकल्प के हो भन्दाखेरी प्रदेश नं १ को नाम किराँत प्रदेश भनेर एकचोटी हामी एक भएर सोचौं ।’

उहाँले किराँत प्रदेश भनेर एकताबद्ध हुन सके त्यसले पहिचानको आन्दोलनमा ठूलो एकता र बल पुग्ने बताउनु भयो ।

कोशी प्रदेश नाम खारेज भएपछि नाम के राख्ने भन्ने विषयमा पहिचानवादीहरुको बीचमा मतभिन्नताहरु रहेका छन् । कसैले लिम्बुवान किराँत, कसैले किराँत लिम्बुवान, कसैले किराँत, कसैले किराँत लिम्बुवान शेर्पालुङ जस्ता नाम राख्नुपर्ने तर्क गरीरहेका छन् ।

प्रदेशको नाम किराँत लिम्बुवान राख्नुपर्ने प्रचार तीव्र भएपछि केही दिनअघि मात्रै कोचिलाहरुको पनि पहिचान सम्बोधन हुनुपर्ने भन्दै ती समुदायका अगुवाहरुले अलग्गै आन्दोलन थाल्ने तयारी गरेका थिए ।

समाचार श्रोत : www.salpaonline.com/politics/14151/