![1-Karyakari](https://janamukti.org/wp-content/uploads/2021/10/1-Karyakari.jpg)
राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव सूर्यवंशीले देशका ठूला साना सबै राजनीतिक दलहरु आफ्नो पार्टीको मुद्दामा लतारिन बाध्य भएको बताउनु भएको छ । देश र जनताको भलो गर्छु भन्नेहरुले देशलाई डोरयाउने मुद्दा अगाडि सार्नु पर्नेमा उल्टै अरुले प्रतिपादन गरी अगाडि सारेका मुद्दाहरुमा लतारिएकोले प्राप्त उपलब्धीहरु धाराशायी हुने हो कि भन्ने प्रति परिवर्तनकारी जनता सचेत हुनु पर्नेमा उहाँको जोड छ ।
![](http://janamukti.org/wp-content/uploads/2021/10/1-Karyakari.jpg)
राष्ट्रिय जनमुक्ति पार्टी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाले यही कात्तिक ५ गते आयोजना गरेको एकदिने “कार्यकर्ता भेटघाट तथा अन्तरकृया कार्यक्रम”मा कार्यकारी अध्यक्ष सूर्यवंशीले उक्त धारणा व्यक्त गर्नु भएको हो । उहाँले पार्टी जीवनको ३० वर्षे संघर्षको स्मरण गराउँदै यस बीचमा पार्टीले वैचारिक संघर्षलाई निरन्तर र अविचलित रुपमा अगाडि बढाउँदै आएकोले कतिपय मुद्दाहरु स्थापित भई कार्यान्वयनमा आउन सम्भव भएको बताउनु भयो ।
![](http://janamukti.org/wp-content/uploads/2021/10/1Left-1024x500.jpg)
पार्टीको ३० वर्षे जीवनमा हामीले धेरै कार्य गर्न सकेको भन्दै अब त्यसलाई जनताका माझ स्पष्ट राख्न सक्नु पर्छ, भेटघाट तथा अन्तरकृयामा उपस्थित नेता कार्यकर्ताहरुमा उत्प्रेरणा प्रवाह गर्दै कार्यकारी अध्यक्ष सूर्यवंशीले भन्नु भयो – देश र जनताका लागि अगाडि सारिएका राजनीतिक मुद्दाहरु अरुको भरमा छाडेर सही रुपमा कार्यान्वयन हुन सक्दैन, अब सबै नेता कार्यकर्ताहरु पार्टी संगठन निर्माणमा हिम्मतका साथ लाग्न, पार्टीमा धेरै भन्दा धेरै सदस्यहरु जोड्न र पार्टीलाई बहुआयामिक रुपले स्थापित गर्दै अगाडि बढ्न जरुरी छ ।
![](http://janamukti.org/wp-content/uploads/2021/10/1Participants-right-1024x554.jpg)
जनताले अस्वीकार गरेको पद्दति स्थापित गर्न र प्राप्त उपलब्धी मास्न विभिन्न बहानाबाजी गरिदैछ । त्यसलाई टुलुटुलु हेरेर राष्ट्रिय जनमुक्ति पार्टी बस्दैन बरु प्राप्त उपलब्धीको रक्षा र थप उपलब्धीका लागि थप सकृय भई संघर्ष गर्नेछ ।
कार्यक्रममा महासचिव टोप अस्लामीले युवा पुस्ताले सत्ताधारी दलहरुका खोक्रो आश्वासनमा नपरी यथार्थ प्राप्तिका लागि राष्ट्रिय जनमुक्ति पार्टीमा युवाहरु जोडिनै पर्ने बताउनु भयो । परम्परावादीहरुले सञ्चालन गरेको सरकारबाट जनताले केही पनि आश गर्न नसक्ने बताउँदै महासचिव अस्लामीले भन्नु भयो – “जिम्मेवार दल, जिम्मेवार नेता, जिम्मेवार कार्यकर्ता, जिम्मेवार जनता र जिम्मेवार सरकारको निर्माण अबको आवश्यक्ता हो ।”
संघीय परिषद सचिव गीता सारु, संघीय परिषद सदस्य सम्साद अन्सारी, जनमुक्ति युवा महासंघका राष्ट्रिय अध्यक्ष शंकर गाहा समेतले मन्तव्य राख्नु भएको सो द्देटघाट तथा अन्तरकृया कार्यक्रममा लुम्बिनी (लुथम) प्रदेश परिचालन समितिका सदस्य एवं नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का ईन्चार्ज जस बहादुर पुन, बर्दघाट नगरपालिका वडा नं. २ का अध्यक्ष चन्द्र ब.थापा लगायत सहभागीहरुबाट सुझाव मन्तव्य पनि व्यक्त गर्ने काम भयो ।
बर्दघाट नगरपालिका समितिका अध्यक्ष शेर ब. थापाको स्वागत मन्तव्य र जिल्ला सहसचिव खड्ग ब.घर्तीले सन्चालन गरेको कार्यक्रममा जिल्ला अध्यक्ष धन ब. गुरुङ्गले अध्यक्षता गर्नु भएको थियो । राष्ट्रिय जनमुक्ति पार्टी, बर्दघाट नगर समितिले कार्यक्रमको व्यवस्थापकीय जिम्मेवारी निर्वाह गरेको थियो । सोही अवसरमा छैंठौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्यकारी अध्यक्ष लगायत उपस्थित पदाधिकारी र सदस्यहरुलाई सम्मान पनि गरिएको थियो ।
![](http://janamukti.org/wp-content/uploads/2021/10/1-sanghiya-Mahasabha-sadasyaharusanga-1024x461.jpg)
कार्यक्रम पश्चातका तस्वीरहरु :
![](http://janamukti.org/wp-content/uploads/2021/10/1-Samuhik-Pic-1024x506.jpg)