राष्ट्रिय जनमुक्ति पार्टीको प्रथम विस्तारित बैठक सम्पन्न

"अध्यक्ष–कार्यकारी अध्यक्षको नेतृत्वमा केन्द्रमा निर्वाचन निर्देशक समिति गठन"

0
1033

राष्ट्रिय जनमुक्ति पार्टीको विस्तारित बैठक (प्रथम) सम्पन्न भएको छ । यही साउन ५ गते प्रारम्भ भएको उक्त बैठक साउन ७ गते सम्पन्न भएको हो । बैठक राष्ट्रिय जनमुक्ति पार्टी भवन रुपन्देही (कविराज भवन, मंगलापुर) मा भएको हो ।
बैठकमा पार्टी उपाध्यक्ष भीम ब. रानाले स्वागत मन्तव्य राख्नु भयो । बहुजातीय साँस्कृतिक मोर्चा (प्रदेश ५ समिति) बाट स्वागत गीत प्रस्तुत गरिएको थियो । बैठकको समुद्घाटनमा जिल्लाहरुको तर्फबाट रुपन्देही अध्यक्ष प्रेम ब. गलामी, प्रदेश समितिहरुको तर्फबाट प्रदेश ५ (लुम्बिनी/लुथम) का अध्यक्ष झम ब. गुरुङ्ग, जनसंगठनहरुको तर्फबाट नेपाल थारु राष्ट्रिय मञ्चका केन्द्रीय संयोजक रेखा प्रसाद थारु, जनमुक्ति युवा महासंघका केन्द्रीय अध्यक्ष शंकर गाहा र मगर महासंघ, नेपालका अध्यक्ष छत्र बहादुर दर्लामी, संघीय महासभा सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष मण्डलका सदस्य नरजङ्ग गुरुङ्गले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।


उद्घाटन सत्रको समापनपछि पार्टी अध्यक्ष खड्ग प्रसाद –केपी) पालुङ्वाले संघीय परिषदको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । अध्यक्ष पालुङ्वाले प्रस्तुत गर्नु भएको राजनीतिक प्रतिवेदनमाथि साउन ६ गते जिल्ला अध्यक्षहरु, प्रदेश अध्यक्षहरु र संघीय परिषद सदस्यहरुले आफ्नो सुझाव र धारणा राख्ने काम भयो ।
तत्पश्चात महासचिव टोप अस्लामीले पार्टीको तत्कालिन कार्यदिशा, कार्यक्रम र कार्य विभाजन सम्बन्धी प्रस्तावहरुलाई बैठक समक्ष प्रस्तुत गर्नु भयो । सो सम्बन्धमा साउन ७ गतेका दिन सहभागीहरुबाट सुझाव र प्रतिकृया दिने कार्य सम्पन्न भयो ।


यसैबीच पार्टी पदाधिकारीहरु सचिव गजेन्द्र आङ्बुहाङ्ग, सचिव मोजीब अली, उपाध्यक्षहरु क्रमशः मनीराम चौलागाई, होमाया गुरुङ्ग, हाजी डा. मोहम्मद हसन, उपाध्यक्ष विदु प्रकाश कायस्थले मन्तव्य राख्नु भयो । महासचिव अस्लामीको प्रतिवेदन सुझाव सहित पारित भयो । अध्यक्ष खड्ग प्रसाद (केपी) पालुङ्वाले पनि समग्र प्रस्तावहरुलाई पारित गर्न बैठकमा निर्णयार्थ आफ्नो भनाई राख्नु भयो ।
यसैबीच पार्टीका केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समिति संयोजक दल बहादुर वीरकट्टा ज्यूको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै, उपाध्यक्ष एवं गण्डकी/तमुवान–मगराँत परिचालन समितिका अध्यक्ष मन्धरी आले ज्यूको सासु आमा एवं व्यास नगर समितिका अध्यक्ष तिलाराम आले ज्यूको ममतामयी आमा शोवर्णमाया आलेको मिति २०७९ असार २५ गतेका निधन भएकोमा दिवंगतप्रति बैठक भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।
पार्टी अध्यक्ष खड्ग प्रसाद –केपी) पालुङ्वा ज्यूले समुद्घाटन गर्नु भएको विस्तारित बैठकलाई पार्टी सचिव द्वय गीता सारु र मोजीब अलीले सञ्चालन गर्नु भएको थियो । बैठकको अन्त्यमा कार्यकारी अध्यक्ष केशव सूर्यवंशीले भनाई सहित बैठकको समापन गर्नु भयो ।

पत्रकार भेटभाट सम्पन्न
यसैबीच साउन ८ गतेका दिन पार्टीको विस्तारित बैठकले पारित गरेका राजनीतिक र साँगठानिक निर्णयहरुको सारसंक्षेप पत्रकार भेटभाट गरी जनसमक्ष सार्वजनिक गर्ने काम सम्पन्न भयो । पार्टी महासचिव टोप अस्लामीले पत्रकार भेटघाट कार्यक्रममा सम्बोधन गर्नु भयो ।

पार्टी सचिव गीता सारुले पत्रकार भेटभाट कार्यक्रम सञ्चालन गर्नु भयो । संघीय परिषद सदस्य बालकिशोर राना, मगर महासंघ नेपालका केन्द्रीय अध्यक्ष छत्र दर्लामी, प्रदेश ५ (लुम्बिनी/लुथम) का कोषाध्यक्ष धनीसरा दर्लामी, सञ्चार विभाग प्रमुख राम अस्लामी, जिल्ला अध्यक्ष प्रेम बहादुर थापा, राष्ट्रिय महिला मोर्चाका रुपन्देही अध्यक्ष ज्योति थापा लगायतका नेताहरुको सहभागिता रहेको उक्त पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुबीच पार्टीको प्रेष विज्ञप्ति बाँडिएको थियो । पत्रकार भेटभाटमा वितरित प्रेष विज्ञप्ति निम्नानुसार रहेको सबैमा जानकारी गराउँदछौं ।

विस्तारित बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न वितरित प्रेष विज्ञप्तिको विस्तृत विवरण :-

प्रेष विज्ञप्ति ।

यही मिति २०७९ साउन ५ गतेदेखि ७ गते सम्म रुपन्देही (कविराज भवन, मंगलापुर, रुपन्देही पार्टी कार्यालय) मा सम्पन्न राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रीय विस्तारित बैठकले गरेका समसामयिक निर्णयहरु जन समक्ष सार्वजनिक गर्न यो प्रेष विज्ञप्ति जारी गरिएको छ ।

१. राष्ट्रिय समस्या र त्यसको निदानका लागि :–
क) संघीयताको मर्ममाथि प्रहार, नियन्त्रण बाहिरको भ्रष्टाचार, परनिर्भर राष्ट्रिय अर्थतन्त्र, चरम व्यापार घाटाको अवस्था, स्वदेशमा रोजगारको अवस्था नगण्य, असंलग्न परराष्ट्र नीति माथि प्रहार, कमजोर अनि निरीह बनाईएको राष्ट्रिय अडान र श्रीलङ्काको बाटोमा अर्थतन्त्र ओरालो लाग्नु देशको जल्दोबल्दो समस्या बनेको छ ।
यसको समाधानका लागि वैकल्पिक राष्ट्रिय शक्ति निर्माण गर्नु आवश्यक छ । प्राप्त उपलब्धीको रक्षा र थप उपलब्धीका लागि मित्र शक्तिहरुसंग सहकार्य आवश्यक छ । जल्दोबल्दो राष्ट्रिय समस्या समाधानका लागि पार्टीले आफ्नै जोडबलमा पनि अभियान/आन्दोलन सञ्चालन गर्नेछ ।
ख) भ्रष्टाचार र खर्चिलो निर्वाचन रोक्न पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गरियोस् ।
ग) विदेशमा रहेका नेपालीहरुका हकमा आगामी निर्वाचनका लागि E-Voting को व्यवस्था गरियोस्।
घ) थ्रेसहोल्ड राजनीतिक निषेधको हतियार हो, लोकतन्त्र विरोधी व्यवस्था हो । त्यो प्रावधान हटाईहोस् ।
ङ) अमेरिकी सरकारलाई एसपीपी सम्झौता अस्वीकार गरेको विषयमा तत्काल पत्राचार गरियोस् ।

२) आगामी निर्वाचनमा पार्टीलाई वैकल्पिक शक्तिको रुपमा उभ्याउनका लागि :–
पार्टी अध्यक्ष–कार्यकारी अध्यक्षको नेतृत्वमा केन्द्रीय पदाधिकारी पदेन सदस्य र प्रदेश अध्यक्ष तथा जनसंगठनका केन्द्रीय अध्यक्षहरु आमन्त्रित सदस्य रहने गरी निर्वाचन निर्देशक समिति गठन गरिएको छ ।

३) पार्टी संगठनको कार्य चुस्त दुरुस्त बनाउनका लागि :–
राष्ट्रिय जनमुक्ति पार्टीको सांगठनिक गतिविधिलाई चुस्तदुरुस्त बनाउन/राख्नका लागि निम्नानुसारका विभागीय जिम्मेवारी तोकिएको छ –
क) संगठन विभाग : महासचिव टोप अस्लामी (प्रमुख), सदस्यहरुमा क्रमशः सचिव मोजीव अली, सचिव गजेन्द्र आङ्बुहाङ्ग, संघीय परिषद सदस्यहरु क्रमशः धनी आले, राम इक्बाल मण्डल, लक्ष्मण पुन, टीपु सुल्तान, र जीवनपति श्रेष्ठ ।
ख) प्रशिक्षण विभाग : उपाध्यक्ष विदु प्रकाश कायस्थ (प्रमुख), सदस्यहरुमा क्रमशः उपमहासचिव विष्णु थाम्देन, सचिव गीता सारु, सचिव पूर्ण ब. राना र संघीय परिषद सदस्यहरु क्रमशः अधिवक्ता बालशिोर राना ।
ग) प्रचार विभाग : उपाध्यक्ष बलदीप राई (प्रमुख), सदस्यहरुमा क्रमशः उपमहासचिव विष्णु थाम्देन, सचिव गीता सारु, सचिव गजेन्द्र आङ्बुहाङ्ग, सचिव मोजीव अली, संघीय परिषद सदस्यहरु क्रमशः राम इक्बाल मण्डल, मधु राना, टीपु सुल्तान ।
घ) अर्थ विभाग : कोषाध्यक्ष मान ब. राई (प्रमुख), डिके सूर्यवंशी (उपप्रमुख), सदस्यहरुमा संघीय परिषद सदस्यहरु क्रमशः अशोक पुन, मोहन तिमिल्सेना, धन बहादुर गुरुङ्ग, अरमान अन्सारी, कलावती पुन ।
ङ) अनुशासन विभाग : उपाध्यक्ष हाजी डा. मोहम्मद हसन (प्रमुख), उपाध्यक्ष भीम ब. राना (उपप्रमुख), सदस्यहरुमा संघीय परिषद सदस्यहरु क्रमशः हरिदेव थापा, अशोक पुन, ज्ञान ब. गुरुङ्ग ।
च) जनसंगठन विभाग : उपाध्यक्ष रविन्द्र उच्च नेपाली (प्रमुख), उपाध्यक्ष मनीराम चौलागाई (उपप्रमुख) ।
छ) संघीय परिषदका वरिष्ठ सदस्य हस्त ब. थापालाई संघीय महासभाका लागि ईञ्चार्ज तोकिएको छ ।
४) संघीय महासभा सदस्य केहर सिंह राना (नवलपरासी सुस्ता पूर्व) र बल बहादुर राना (बाँके) लाई संघीय परिषद सदस्यमा मनोनयन गरिएको छ ।
५) विस्तारित बैठक व्यवस्थापनको जिम्मेवारी वहन गर्ने राष्ट्रिय जनमुक्ति पार्टी, रुपन्देही र विशेष सहयोगी राष्ट्रिय जनमुक्ति पार्टी, लुम्बिनी–लुथम परिचालन समितिलाई धन्यवाद ज्ञापन गरिएको छ ।

टोप अस्लामी
(महासचिव)