राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रीय कार्यालय, काठमाडौंमा यही मिति २०८० फागुन २८ र २९ गते सम्पन्न केन्द्रीय कार्य सम्पादन समिति साथै संघीय परिषद (केन्द्रीय समिति) को बैठकले गरेका महत्वपूर्ण निर्णयहरुलाई प्रेष विज्ञप्ति मार्फत सार्वजनिक गरिएको छ । पार्टी महासचिव टोप अस्लामीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेखित विवरणहरु बुँदागत रुपमा निम्नानुसार रहेको छ ।
१) मिति २०८१ बैशाखमा गर्ने निर्णय भएको पार्टीको सातौं राष्ट्रिय महाधिवेशन विविध कारणले आगामी ०८१ मंसिर ६, ७ र ८ गते भब्यताका साथ सम्पन्न गर्ने निर्णय गरिएको छ । महाधिवेशन स्थानको रूपमा कास्की (पोखरा) लाई पहिलो प्राथमिकतामा राखिएको छ । बैठकले पार्टी कार्यकारी अध्यक्ष केशव सूर्यवंशीको संयोजकत्वमा अधिकार सम्पन्न “सातौं राष्ट्रिय महाधिवेशन, मूल आयोजक समिति” गठन गरिएको छ ।
२) हाल स्थगित रहेको पार्टीको विधान गोष्ठी ०८१ बैशाखको २९ र ३० गते, चितवन, भरतपुरमा सम्पन्न गरिनेछ ।
३) देशमा हालै भएको सरकार परिवर्तनको घटनाक्रम, देश र जनताको हितमा नभई नितान्त दलगत स्वार्थ र सत्तालिप्साको परिणाम भएको पार्टीले ठहर गरेको छ । मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउने यस प्रकारका काम कारवाहीको पार्टीले निन्दा गर्दछ ।
४) अन्तर्राष्ट्रिय जगतमा क्रमशः बढीरहेको असहिष्णुता, युद्ध उन्माद उन्मुख घटनाक्रम र त्यसले निम्त्याएको अस्थिरता, अशान्ति र गम्भीर मानवीय समस्याबारे पार्टीले चासो र चिन्ता प्रकट गरेको छ । साथै, समस्याको शान्तिपूर्ण समाधान खोज्नका लागि सम्बन्धित सबैलाई पार्टी आव्हान गर्दछ ।
५) देश र जनताको हितका लागि जनसरोकारका विभिन्न विषयमा केन्द्रित रहेर पालिका, जिल्ला, प्रदेश र केन्द्रीय तहबाट समेत जनपरिचालन तथा शान्तिपूर्ण संघर्षको कार्ययोजना तयार गर्नका लागि केन्द्रको तर्फदेखि तत्काल प्रशिक्षण सञ्चालन गरिनेछ ।
६) पार्टी उपमहासचिव गङ्गा थापा (खासु) ले अन्य पार्टीमा प्रवेश गरेको पुष्टी हुन आएकोले निजलाई पार्टीका सबै जिम्मेवारी सहित साधारण सद्स्यता समेतबाट निष्काशन गर्ने निर्णय गरिएको छ ।
७) देशको विभिन्न साँस्कृतिक क्षेत्रहरुमा सरकारद्वारा विभिन्न बहानामा गरिएको अतिक्रमण साथै व्यापारीकरणको पार्टीले विरोध गर्दछ । यसै सन्दर्भमा ताप्लेजुङको मुक्कुमलुङ क्षेत्र संरक्षणका लागि स्थानीय जनताले गर्दै आएको आन्दोलनप्रति पार्टीले ऐक्यबद्धता जाहेर गर्दछ ।
टोप अस्लामी
महासचिव
विज्ञप्तिको पूर्ण पाठ :