नेपाली जनताको वर्षौं (करीब ६ दशक लामो समय) को विभिन्न उतारचदाव संगैको धैर्यता, त्याग र बलीदानी सहितको योगदान पश्चात् नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो (२०६५ जेठ १५ गते) । राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको आज १६ वर्षमा लाग्दैछ । यस अवसरमा देश विदेशमा रहनु हुने सम्पूर्ण नेपाली आमाबुबा, दाजु भाई, दिदीबहिनीहरु साथै छिमेकी तथा अन्तर्राष्ट्रिय शुभचिन्तक ज्यूहरु सबैमा सुस्वास्थ्य, सुखशान्ति, दीर्घायु सहितको सम्वृद्धिको लागि राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट शुभकामना व्यक्त गर्दछौं ।
निश्चय नै मूलुकमा विद्यमान विविधताको उचित व्यवस्थापन, समाज र देशको प्रगतिका बाधक सबै खाले व्यथितिको अन्त्यसंगै सबै नेपालीहरुको अपनत्व महशुस हुने राज्य व्यवस्थाको निर्माण र त्यसको उचित प्रयोग एवं सुदृढीकरण जस्ता विषयहरु पछिल्लो परिवर्तन पछिका जनचाहना, आकाँक्षा र आवश्यक्ताहरु थिए । तर नयाँ सत्ता सञ्चालनका लागि जनताले अनुमोदन गरेका राजनीतिक दलहरु, तिनका नेताहरुका कारण परिवर्तनका लागि योगदान गर्दै गर्दा जनता समक्ष गरेका वाचाहरु लामो धैर्यतापछि पनि एउटा अपेक्षित मार्ग निर्माण गरेर इमान्दार रुपबाट गुज्रिन असम्भव प्रायः सावित गरिदै आएको तीतो पक्ष सबैका सामु प्रष्ट नै छ । राज्य व्यवस्था सञ्चालनमा “जो रक्षक उही भक्षक” भईआएको सन्दर्भले परिवर्तनपछि पनि आम जनतामा निराशा व्याप्त हुनुका अलावा प्राप्त उपलब्धीहरुका प्रतिकूल परम्परावादले टाउको उठाउँदै संस्थागत हुने तर्फ खुल्लम खुल्ला चूनौति दिईरहेको यथार्थ पनि हाम्रा सामु प्रष्ट नै छ । यसले गर्दा परवर्तनपछि डेढ दशक समय व्यतित भईसक्दा पनि देशले झनै सङ्क्रमणबाट गुज्रनु परेको अवस्था छ । र, देशको राजनीतिक, आर्थिक एवं सामाजिक पक्ष निराशाजनक अवस्थामा पुगेको छ भने राज्य सञ्चालनका विधि विधानहरु लज्जासपद रुपमा लत्यार्ईएका छन् । यो अवस्था भनेको परिवर्तनले सही आकार लिन नसकेको अवस्था हो । विगतमा पटक पटक पत्याईएका तर पटकपटक नै देशलाई धोखा दिइरहन नहिच्किचाउने विरुद्ध इमान्दार पात्र र दलको पक्षमा जनताले जबर्जस्त विकल्प खोज्न अब ढिला गर्नु हुँदैन ।
परिवर्तनका पक्षधरहरुका लागि अबको राष्ट्रिय कार्यभार भनेको “प्राप्त उपलब्धीहरुको रक्षा र थप उपलब्धीहरुका लागि संघर्ष” नै हो । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर पटकपटक विश्वास गरिएका पात्रहरुका विकल्प खोज्नु, त्यसका लागि जनता तहबाटै अग्रसरताको वृद्धि हुँदै जान सक्नुले नै अबको भविष्य निर्धारण गर्नेछ । अगाडि बढ्दै गर्दा निराशाको भारी थपियो भनेर पछाडि फर्कने होईन बरु विद्यमान अवस्था भित्रैबाट “विकल्प” खोज्नु नै बुद्धिमानी हुनेछ भन्ने तर्फ आम नेपालीमा इच्छाशक्ति र कार्यशक्ति वृद्धि हुँदै जाओस् । यही शुभेच्छा, आशा र विश्वासका साथ १६औं संघीय लोकतान्त्रिक गणतन्त्र दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछौं । धन्यवाद । जनमुक्ति जिन्दावाद ।
टोप अस्लामी
(महासचिव)