प्रथम शहीदलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

"देशको प्रथम शहीद प्रति राज्यको हदैसम्मको उदासिनता देखिनु खेदजनक "

0
1225

राष्ट्रिय जनमुक्ति पार्टीले नेपालका प्रथम शहीद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न सरकारसंग माग गरेको छ । यसका साथै प्रथम शहीदको १४५औं स्मृति दिवसका उपलक्ष्यमा राष्ट्रिय जनमुक्ति पार्टीले उहाँप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गरेको छ ।
यसै सन्दर्भमा नेपालका प्रथम शहीद श्रद्धेय लखन थापा मगरको १४५औं स्मृति दिवसको अवसरमा पार्टीद्वारा एक विज्ञप्ति पनि जारी गरिएको छ । महासचिव टोप अस्लामीद्वारा जारी विज्ञप्तिमा भनिएको छ – “नेपालमा क्रुर एवं निरंकुश जहाँनिया राणा शासनको अन्त्यका लागि र जनताको शासन व्यवस्था (हाल प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र) स्थापनाका लागि महान सुत्रधार, तत्कालिन राणा शासकद्वारा मारिनु भएका महान सपुत नेपालका प्रथम शहीद श्रद्धेय लखन थापा मगरले नेपाली समाजको विविधता अनुसारको शासन प्रणाली स्थापनाका लागि आफ्नै नेतृत्वमा अभ्यास समेत गर्नु भएको थियो । श्रद्धेय लखन थापा मगरलाई नेपाल सरकारले २०७२ साल असोज ३ गतेका दिन नेपालको प्रथम शहीदको मान्यता समेत दिईसकेको भएता पनि देशको प्रथम शहीदलाई आम जनतामा चिनाउने बारेमा र आम जनताको पक्षमा न्याय र समानता स्थापना गर्नका लागि उहाँले गर्नु भएको संघर्षका प्रयासहरु साथै बलीदानीको जानकारी गराउने सन्दर्भमा राज्यले उदासिनता देखाईरहेको पनि हामी सबैलाई छर्लङ्ग छ ।” महासचिव अस्लामीले देशको प्रथम शहीद प्रति राज्यको हदैसम्मको उदासिनतालाई खेदजनक भन्नु भएको छ ।
आज फागुन २ गते जारी विज्ञप्तिमा भनिएको छ – “जनता र देशको उचित राज्य व्यवस्था, जनताको न्याय–समानता एवं मुक्तिका लागि लड्नु भएका प्रथम शहीदलाई अमर बनाईराख्नु हरेका नेपालीको कर्तव्य हो । नेपालका प्रथम शहीद लखन थापा मगरलाई राज्यले राष्ट्रिय विभूति घोषणा गर्नु पर्छ । यसका साथै जयसिं चुमी मगर लगायतका सात जना समकालिन शहीद एवं महान सपुतहरुलाई पनि राज्यले शहीद घोषणा गरी उचित सम्मान दिन जरुरी छ । उहाँहरुका घर परिवारमा समेत राज्यको ध्यान पुग्नु पर्दछ ।”
विद्यालय, क्याम्पस या विश्वविद्यालयका पाठ्यक्रममा प्रथम शहीदका बारेमा पठनपाठन गराउन, प्रथम शहीदको सम्मानमा कम्तिमा एक दिन राष्ट्रिय विदा दिने व्यवस्थाका सहित न्यायोचित सम्मानका लागि समेत पार्टीले जोडदार माग गरेको छ ।